यार्सागुम्बा: कर्णाली अञ्चलमा पढ्न छाडेर विद्यार्थी 'च्याउ' टिप्न लेकमा, गाउँ सुनसान

तस्बिर स्रोत, RSS
वर्षभरिको पढाइ र घर खर्च जुटाउन कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सागुम्बा खोज्न लेकतिर उक्लिएका छन्।
यार्सा टिप्ने समय सुरु भएपछि डोल्पा, जाजरकोट, रुकुम, जुम्ला, मुगु आदि जिल्लाबाट विद्यार्थी उनीहरू अभिभावकसँगै उच्च पहाडी क्षेत्रका पाटन गएपछि ती जिल्लाका अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको छ ।
गरिबीका कारण बालबालिकाहरू अभिभावकसँगै यार्सा खोज्न पाटन जानुपर्ने बाध्यताले गर्दा उनीहरूको पढाइ बर्सेनि प्रभावित हुँदै आएको जाजरकोटको नलगाड नगरपालिका-१२ औलगुर्तास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका प्रेमा केसी बताउँछिन्।
डोल्पा, जुम्ला, मुगु, जाजरकोट र रुकुमका अधिकांश स्थानीय बासिन्दाले यार्सा बेचेर जोहो गरेको पैसाबाट वर्षभरिको खर्चको जुटाउने गरेका छन्।
सबैभन्दा बढी डोल्पा र मुगुका पाटनमा तथा त्यसपछि जुम्ला र हुम्लाका पाटनमा यार्सा पाइन्छ ।
आम्दानीको गतिलो स्रोत नै यार्सा भएकोले अभिभावकले यार्सा टिप्न आफ्ना छोराछोरीलाई लिएर जाने गरेका छन् ।

तस्बिर स्रोत, RSS
कम्तीमा पनि एक महिना बालबालिका विद्यालय छाडेर यार्सा टिप्न जाने गरेको डोल्पाको सर्मीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापिका नारायणी ठकुल्लाले बताइन्।
यार्सा टिपेर एक विद्यार्थीले कम्तीमा पनि एक-डेढ लाख रुपैयाँ कमाउँछन्। त्यसैले अभिभावकले छोराछोरीको पढाइभन्दा यार्सालाई बढी महत्त्व दिने गरेको पाइन्छ ।
बाध्यता
"यार्साको कमाइले घर खर्च चलाउने र छोराछोरीलाई पढाउने गर्छौँ," मुड्कीचुला गाउँपालिका डोल्पाकी जुनकली लामाले भनिन्। "खान लाउन पुग्दैन, त्यसैले छोराछोरीलाई च्याउ टिप्न नपठाई हुँदैन।"
विद्यार्थी नआउँदा कतिपय विद्यालयका शिक्षक हाजिर गरेर फर्किने गरेका छन् भने टाढा घर भएका कतिपय शिक्षक घर गएका छन् ।
यार्साको सिजनमा बर्सेनि डेढ महिना पढाइ प्रभावित हुँदा पाठ्यक्रम सक्न समस्या हुने गरेको शिक्षकहरूले बताए।

तस्बिर स्रोत, Courtesy: Badri Pant
पढाइ अघि बढाउँदा अधिकांश विद्यार्थीको पढाइ छुट्ने र नपढाउँदा पाठ्यक्रम पुरा गर्न सकस पर्ने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सा जाजरकोटका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।
"यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोज्नुपर्छ," सिंहले भने।
"यार्साको सिजनमा विद्यालय बिदा गर्ने अनि बर्खे बिदामा पढाउने व्यवस्था मिलाए पढाइ प्रभावित हुँदैन।"
यार्साको आम्दानीले वर्षभरिको खर्च जुटाउनु पर्ने भएकोले आफ्ना छोराछोरीलाई जोखिम मोलेर कर्णालीका पाटन लान बाध्य भएको अभिभावक बताउँछन्।
आफूहरूको यस्तो बाध्यतालाई अन्त्य गरी छोराछोरीलाई नियमित विद्यालय जाने अवस्था सिर्जना गर्नुपर्ने उनीहरू बताउँछन्।
गाउँ सुनसान
गाउँलेहरू यार्सा टिप्न डोल्पाका पाटनतिर गएपछि गाउँहरू सुनसान छन्। गाउँमा अहिले अधिकांश वृद्धवृद्धा र बालबालिका मात्रै छन्।
कसैको मृत्यु भए अहिले गाउँमा मलामी जाने मान्छे समेत नभएको अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाकी प्रधानाध्यापक नारायणी ठकुल्ला बताउँछिन्।

गरिबी र बेरोजगारीको चर्को समस्या भोग्दै आएका कर्णालीवासी यार्साको सिजनलाई कमाइ गर्ने महत्त्वपूर्ण अवसर भएको बताउँछन्।
जोखिम
यार्सा टिप्न डोल्पाको ताक्सी पाटन गएका एक विद्यार्थीले ज्यान गुमाएका छन्।
लेक लागेर जाजरकोटको वीरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लुमा नौ कक्षामा अध्ययनरत विद्यार्थी भीमबहादुर बस्नेतको मृत्यु भएको आफन्तले जनाएका छन्।
उनी यही जेठ १४ गते यार्सा टिप्न त्यहाँ पुगेका थिए।
यार्सा टिप्ने क्रममा बिरामी परेका उनलाई उपचारको लागि स्वास्थ्यचौकी ल्याउँदै गर्दा बाटोमै ज्यान गएको उनका दाइ अमर बस्नेतले बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यसपालि यार्सा सङ्कलन गर्न पाटन गएका नौ जनाले ज्यान गुमाएका छन् भने एक जना हराइरहेका छन्।
डोल्पाका पाटनमा जेठ १३ गतेबाट खुला गरिएको यार्सा सङ्कलन आउँदो असार २५ गतेसम्म खुला रहन्छ।






















