सारेगमप: भारतीय साङ्गीतिक रियालिटी शोमा चम्किँदै दुई नेपाली बालक

शो
तस्बिरको क्याप्शन, प्रितम आचार्य
  • पढ्ने समय: ३ मिनेट

'बचना ए हसीनों, लो मैं आ गया…' सुनसरीको इटहरी उपमहानगरपालिका का ११ वर्षीय बालक प्रितम आचार्यले भारतको जी टिभीको साङ्गीतिक रियालिटी शो 'सारेगमप लिल च्याम्प्स'को आइतवारको प्रसारणमा गीत गाउँदा त्यहाँको माहोल एकाएक तात्न पुग्यो।

भारतीय गायिका ऋचा शर्मा तथा गायकद्वय शान तथा अमाल मल्लिक उनको गीत सुनेर निकै हौसिएका थिए।

निर्णायकहरूको ठूलो समूह 'ग्रान्ड ज्युरी'ले प्रितमलाई शतप्रतिशत अङ्क दियो।

त्यसको अघिल्लो दिन शनिवार सिन्धुपाल्चोक स्थायी घर भई हाल भक्तपुरको नयाँ ठिमीमा बसोबास गर्ने अर्का प्रतियोगी १२ वर्षीय आयुष केसीले 'कुछ ना कहो…' बोलको गीत गाएका थिए।

निर्णायक शानले आयुषको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरे।

बच्चाहरूको सङ्गीतिक प्रतिभा प्रस्तुत गरिने जी टीभीको सो प्रतियोगितात्मक कार्यक्रमको २०१९ को संस्करणमा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी प्रतिस्पर्धामा छन्।

उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले उत्कृष्ट १६ मा पुगेका छन्।

नेपाली गायकगायिका के भन्छन्?

प्रितम र आयुषका लागि अबको प्रतिस्पर्धा त्यति सहज नहुने नेपाली गायकगायिकाहरू बताउँछन्।

नेपालकै एउटा सङ्गीतिक रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गरिसकेका र अहिले प्रितम र आयुषको प्रस्तुतिलाई नजिकबाट हेरिरहेका गायक प्रमोद खरेल अबका दिनमा उनीहरूले अझै मेहनत गर्नुपर्ने बताउँछन्।

उनले भने, "अब सबै उत्कृष्ट रहेकाले प्रस्तुतिमा सानो त्रुटिले पनि उनीहरू प्रतियोगिताबाट बाहिरिन सक्छन्। त्यसैले दह्रो मेहनत गर्नुपर्छ।"

गायिका आस्था राउतले उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सक्दो प्रयास गर्न सुझाव दिएकी छिन्। गीतको शब्दमा डुबेर गाउनुपर्ने सल्लाह उनले दिइन्।

"निकै ठूलो प्रतिस्पर्धामा डुबेर गाउन सकेनन् भाइहरूले भने गाह्रो हुन्छ अबको प्रतिस्पर्धा।"

शो
तस्बिरको क्याप्शन, आमाबुवासँग आयुष केसी

आमाबुवाका नजरमा

प्रितमकी आमा राधिकाले आफ्नो छोराको प्रस्तुतिले आफूलाई गौरवान्वित बनाएको बताइन्।

"बाबुले राम्रो गरिरहेको छ। एउटा प्रस्तुतिमा बाहेक सबै प्रस्तुतिमा शतप्रतिशत अङ्क ल्याइरहेको छ। हामी हर्षित छौँ।"

आयुषका बुबा रामकृष्णले आफ्नो छोराले राम्रो प्रस्तुतिका लागि सक्दो प्रयास गरिरहेको बताए।

"छोराले सुरुदेखि नै राम्रो गर्ने प्रयास गरिरहेको छ। अहिले ऊ नेपालकै छोरा भएको छ।"

प्रितम र आयुष साथी हुन्। उनीहरू करिब तीन वर्षअघि नेपालमै आयोजना गरिएको 'सुरशाला जुनियर आइडल'का प्रतियोगी थिए।

शो
तस्बिरको क्याप्शन, प्रितम

त्यसबेला आयुष पहिलो र प्रितम दोस्रो भएका थिए।

हाल जी टिभीको सारेगमप लिल च्याम्प्सका यी दुई प्रतियोगी बालकमा अस्वाभाविक प्रतिभा भएको परिवारका सदस्यले बताएका छन्।

आयुषका बुबा रामकृष्णले भने, "आयुषको साथी नै सङ्गीत हो। गीत नसुन्नू भन्यो भने रुन्थ्यो।"

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

प्रितमकी आमा राधिकाका अनुसार अहिले उनका छोराले सङ्गीत सिक्ने र प्रस्तुति दिने राम्रो स्थान पाएका छन्।

"उसकै कारण अहिले हामीले गर्व गर्ने अवस्था आएको छ," राधिकाले भनिन्, "उसको अस्वाभाविक प्रतिभा देखाउने अवसर भएको छ।"

कडा प्रतिस्पर्धा

गत फेब्रुअरी ९ बाट आरम्भ भएको उक्त रियालिटी शोका उत्कृष्ट १६ प्रतियोगीबीचको प्रतिस्पर्धा झन् कडा हुने ठानिएको छ।

पाँच वर्षदेखि १४ वर्षसम्मका बालबालिकाबीच प्रतिस्पर्धा गराइने उक्त प्रतियोगिताको अबको बाटो त्यति सहज नभएको आयुष र प्रितमलाई राम्ररी थाहा भएको उनीहरूका अभिभावकले बताएका छन्।

शो

तस्बिर स्रोत, TV

तस्बिरको क्याप्शन, आयुष र प्रितम

प्रस्तुतिमा अब्बल उत्कृष्ट १६ जनामा अझ अब्बल साबित हुनका लागि कडा मेहनतमा लागेको उनीहरू बताउँछन्।

आयुषका बुवा रामकृष्णले भने, "त्यत्रो ठूलो प्रतियोगितामा अझ उत्कृष्ट बन्नका लागि झन् धेरै मेहनत गर्नु परेकाले आयुष कडा अभ्यासमा छ।"

प्रितमकी आमा राधिकाले अहिले आफ्नो छोराको परीक्षा भएकाले कडा मेहनत गर्नु परिरहेको बताइन्।

शुभकामनाको ओइरो

दुवै बालकले सामाजिक सञ्जालमार्फत् जितको शुभकामना पाइरहेका छन्।

देश तथा विदेशमा रहेका धेरै नेपालीहरूले शुभकामना दिइरहेका छन्। भारतीय कलाकारले पनि उनीहरूको प्रस्तुति हेरेपछि खुलेर प्रशंसा गरेका छन्।

शोमा प्रितमले गाएको बोर्डर चलचित्रको गीत 'सन्देश आते हैं, हमे तड्पाते हैं…' हेरेर उक्त चलचित्रका अभिनेता सुनील शेट्टी ले 'सास रोक्ने प्रस्तुति' भनेर ट्वीट गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational grey line

अनिल कपुर र मनीषा कोइरालाद्वारा अभिनित चलचित्रको गीत 'कुछ ना कहो…' आयुषले गाउँदा प्रतियोगितामै उपस्थित भएका अनिल कपुरले 'यो गीत मेरो लागि कि मनीषा कोइरालाका लागि?' भन्दै आयुषलाई जिस्क्याएका थिए।

प्रितम कक्षा छ र आयुष कक्षा सातमा अध्ययनरत छन्।