दक्षिण कोरिया जान चाहने नेपाली कामदारले विचार गर्नुपर्ने कुरा

दक्षिण कोरिया कारखाना

तस्बिर स्रोत, Reuters

सन् २०१९ मा नेपालसहित १५ मुलुकबाट करिब ५६ हजार कामदार माग हुन सक्ने सरकारी अधिकारीहरूले आकलन गरिरहँदा दक्षिण कोरियाबारे पर्याप्त बुझेर मात्र त्यहाँ जाँदा सहज हुने जानकारहरू बताउँछन्।

सन् २०१९ का लागि दक्षिण कोरियाबाट करिब १० हजार नेपाली कामदारको माग हुन सक्ने आकलन सरकारी अधिकारीहरूले गरेका छन्।

पछिल्ला केही वर्षमा रोजगार अनुमति प्रणाली (ईपीएस) को तथ्याङ्कका आधारमा उक्त अनुमान गरिएको उनीहरूको भनाइ छ।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको वैदेशिक रोजगार विभागका अनुसार नेपालीहरूसँग रोजगारदाता कम्पनीले चाहेजस्तो काम गर्न सक्ने क्षमता र वैदेशिक रोजगारका अन्य गन्तव्य मुलुकभन्दा दक्षिण कोरियामा आम्दानी समेत राम्रो हुने हुँदा कोरियाप्रति धेरैको आकर्षण रहने गरेको छ।

उसो त मङ्गलवार मात्रै जापान सरकारले समेत नेपालबाट पनि कामदार लैजानेबारे गरेको निर्णयले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूलाई हर्षित तुल्याएको जानकारहरूको भनाइ छ।

विभागस्थित ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार नेपाली कामदारहरूको 'कार्यक्षमता' र 'इमानदारी'का कारण दक्षिण कोरियामा नेपाली जनशक्तिको माग बढ्दो छ।

भाषिक ज्ञान सबैभन्दा महत्त्वपूर्ण

भण्डारीका अनुसार दक्षिण कोरिया जान चाहने कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भाषा हो।

उनका अनुसार हरेक वर्ष तोकिने कोटा पूरा गर्ने मुख्य आधार भनेको भाषासम्बन्धी परीक्षा नै हो।

"उक्त परीक्षामा कसले कति अङ्क ल्यायो भन्दा पनि माग भएको कुल सङ्ख्यामा आफूले प्राप्त गरेको अङ्क पुग्यो वा पुगेन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ," भण्डारीले भने।

कोरियाली भाषा सिक्नका लागि राजधानी काठमाण्डू र अन्य प्रमुख सहरहरूमा पर्याप्त रूपमा 'ल्याङ्वेज सेन्टर' खुलेका छन्।

काठमाण्डूमा मात्र करिब पाँच सयको हाराहारीमा त्यस्ता सेन्टरहरू रहेको भण्डारीको अनुमान छ।

कोरियामा काम गर्न जानेको सङ्ख्या बढ्ने क्रम जारी रहेपछि उक्त देशमा काम गरेर फर्केका नेपालीहरूले पनि त्यस्ता 'ल्याङ्वेज सेन्टर' सञ्चालन गरेको बताइन्छ।

त्यसो त कोरियाली भाषा सिक्नका लागि अन्लाइन कोर्स र स्वाध्ययनकै मात्र सहारा लिनेहरू पनि थुप्रै रहेको जानकारहरू बताउँछन्।

स्वास्थ्य परीक्षण

कोरिया

दक्षिण कोरियामा रोजगारीका लागि जान चाहनेहरूका लागि अर्को महत्त्वपूर्ण काम भनेको शारीरिक अवस्था र स्वास्थ्य परीक्षण रहेको सम्बन्धित विषयका जानकारहरू बताउँछन्।

यस्तो परीक्षण कम्तीमा दुई पटक गर्नुपर्ने हुन्छ। भाषिक परीक्षामा उत्तीर्ण भइसकेपछि शरीरको पूर्ण जाँच गर्नुपर्ने हुन्छ भने कोरिया जानुअघि क्षयरोग भए वा नभएको निर्क्योल गर्नुपर्ने हुन्छ।

कोरियामा अध्यागमन पार गरेर लगिने कामदार प्रशिक्षण केन्द्र पुगेपछि पुन: एक पटक सरुवा रोग लगायतको जाँच गरिन्छ।

"उक्त परीक्षण पास गर्न नसकेको अवस्थामा कामदारहरूलाई सम्बन्धित देशमै फिर्ता पठाइन्छ जस कारण आफ्नो स्वास्थ्यबारे पूर्ण रूपमा ढुक्क भएर मात्र यात्रा गर्न उचित हुन्छ," भण्डारीले भने।

कति हुन्छ आम्दानी?

कोरियाबाट फर्केका कामदारहरूको भनाइ मान्ने हो भने मासिक करिब डेढ लाख रुपैयाँदेखि तीन लाखसम्म कमाइ गर्न सकिन्छ।

तर त्यो भने कामको क्षेत्र, प्रकृति अनि कार्यक्षमतामा भर पर्छ। वैदेशिक रोजगार विभागका अनुसार उक्त पारिश्रमिक नेपाली कामदारहरू जाने गन्तव्यहरूको तुलनामा धेरै राम्रो हो।

राम्रो प्रतिफल आउने आशाकै कारण तुलनात्मक रूपमा कम समयमै कोरिया, मलेशिया र विभिन्न खाडी मुलुकपछिको सबैभन्दा बढी कामदार जाने मुलुकका रूपमा स्थापित हुन सफल भएको अधिकारीहरूको भनाइ छ।

उनीहरूका अनुसार अन्य मुलुक र कोरियाबीच मुख्य भिन्नता के हो भने अन्य देशमा प्राविधिक जनशक्तिको समेत माग हुने गरेको छ जुन कोरियाको हकमा लागु हुँदैन। कोरियामा मूलतः श्रमिकहरूको मात्र माग भएको अधिकारीहरू बताउँछन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

उक्त देशमा खासगरी उद्योग र कृषिको क्षेत्रमा कामदारको माग उच्च रहेको वैदेशिक रोजगारीमा चासो राख्ने समाजशास्त्री गणेश गुरुङ बताउँछन्।

उनका अनुसार आम्दानी मात्रै नभएर रोजगारीमा पारदर्शिता समेत कोरियाली रोजगारीको सबल पक्ष हो।

"त्यसै कारण पनि कोरियामा रोजगारदाताले घण्टाको हिसाब गर्ने र त्यसलाई उत्पादकत्वसँग जोडेर हेर्ने गरेको पाइन्छ," गुरुङले बीबीसीलाई भने।

कस्तो जनशक्ति खोज्दैछ दक्षिण कोरिया?

राम्रो शैक्षिक योग्यता भएकाहरू समेत दक्षिण कोरियातर्फ आकर्षित रहे पनि रोजगारी प्रदान गर्ने कोरियाली कम्पनीले भने शारीरिक रूपमा कष्टकर काम गर्न सक्ने र आफ्नो कम्पनीका लागि उपयुक्त जनशक्ति छानेर लाने गरेको बताउँछन् विभागस्थित ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी।

मानवस्रोत क्रमिक रूपमा घट्दै गएको र पारिश्रमिक बढ्दो क्रममा रहेको अवस्थामा साना तथा मझौला उद्योग बन्द हुने अवस्थामा पुगेपछि दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत् १६ वटा मुलुकबाट कामदारका लागि ढोका खुल्ला गरेको हो।

भण्डारीका अनुसार कोरियाले 'हार्ड मसल' अर्थात् शारीरिक श्रम गर्न सक्ने जनशक्तिको माग गरेको हो।

अतः वैदेशिक रोजगारका लागि व्यवस्थित गन्तव्य र विप्रेषणका हिसाबले भरपर्दो मुलुकका रूपमा उदय भइरहेको दक्षिण कोरिया जान चाहने युवाहरूले कडा परिश्रम र अनुशासनमा बसेर काम गर्नुपर्ने कुरा मनन गरेर सोही अनुसार तयारी गर्न सके उनीहरूलाई सहज हुने जानकारहरू बताउँछन्।

कामदारको माग

सन् २०१९ का लागि दक्षिण कोरियाले करिब ५६ हजार माग गर्ने आकलन सार्वजनिक भएको छ।

उक्त सङ्ख्या १६ वटा मुलुकबाट पूर्ति गरिनेछ जसमध्ये नेपाल र कम्बोडियालाई सबैभन्दा धेरै कोटा उपलब्ध हुन सक्ने अधिकारीहरूको विश्वास छ।

सन् २०१७ मा नेपाललाई करिब १० हजारको हाराहारीमा कोटा निर्धारण गरिएको थियो भने २०१८ मा करिब आठ हजारको हाराहारीमा कोटा निर्धारण भएको थियो।

वैदेशिक रोजगार विभागका अनुसार नेपाली कामदारलाई ढोका खुल्ला गरेदेखि नै कोरियाले प्रत्येक वर्ष कामदारका लागि तोक्ने कोटामा घटबढ गर्ने गरेको छ।

"अघिल्लो वर्ष सङ्ख्या कम त्यसपछिको वर्षमा सङ्ख्या बढाउने गरिन्छ र सोही प्रक्रिया विगत एक दशकदेखि चलिआएको छ," भण्डारीले बताए।

कामदार छनोटका लागि दशौँ भाषापरीक्षा आगामी फागुनमा आवेदन माग गर्ने गरी सरकारले तयारी अगाडि बढाएको छ। परीक्षा भने जेठको अन्तिम र असारको पहिलो हप्ता गर्ने सरकारी योजना छ। ‌

"फागुनमा कोरियाली पक्षबाट कोटा निर्धारण भएपछि भाषापरीक्षाका लागि आवेदन माग गरिने छ," भण्डारीले बताए।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line