बाक्लो तुवाँलो लागेपछि दिल्लीवासीमा त्रास

दिल्ली
Published

भारतमा दीपावलीअघि नै राजधानी दिल्ली बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा प्रदूषणको स्तर २० गुणाले बढेपछि त्यहाँ भिजिबिलिटी कम भएको छ।

दीपावली मनाउँदा पटाका पड्काइने भएकाले आगामी दिनमा वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन्।

भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ।

चिन्ता

तर त्यस प्रतिबन्ध लागु गर्न निकै कठिन हुने विज्ञहरूको विश्वास छ।

उत्तर भारतमा दीपावलीलाई 'असत्यमाथि सत्यको विजय' हुने सङ्केतका रूपमा मनाइन्छ।

तर पछिल्ला केही वर्षयता त्यस्ता किसिमका उत्सवका कारण वायुप्रदूषणको स्तर खतराको विन्दुमा पुगेको देखिएको छ।

भारतीय सहरहरू वायुको गुणस्तर नराम्रो भएकाले विश्वव्यापी प्रदूषणको सूचकाङ्कमा प्राय: माथि पर्ने गर्दछन्।

रोक

दिल्लीस्थित अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म घरभित्रै रहन भनेका छन् र सहरभित्र भइरहेका निमार्णकार्य रोक्न थालेका छन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार भारतीय राजधानी दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गंगा नदीमा प्रदूषण

धेरैजसो मानिसहरूले सामाजिक सञ्जालमार्फत् वायुप्रदूषणप्रति चिन्ता व्यक्त गरेका छन्।

छिमेकी राज्यहरू पन्जाब तथा हरियाणाका किसानहरूले खेत सफा गर्ने क्रममा अन्नबालीका ठुटा जलाउने भएकाले पनि दिल्लीमा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको बताइन्छ।