नेपाल: नरभक्षी चितुवा समात्न पाँचवटा टोली

तस्बिर स्रोत, AFP/Getty Images
एक दर्जनभन्दा बढी बालबालिकालाई मारेको अनुमान गरिएको एउटा नरभक्षी चितुवालाई घेरा हालेर समात्ने प्रयास भइरहेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ।
यसअघि पनि उक्त चितुवालाई समात्ने प्रयास भइरहेकोमा शनिवार घरको आँगनमा खेलिरहेको एक चार वर्षीय बालकलाई मारेपछि सुरक्षा निकायमाथि चितुवा समात्न थप दबाब परेको हो।
डिभिजन वन कार्यालय अर्घाखाँचीका जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरका अनुसार उक्त चितुवाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना तथा वन कर्मचारीसहितका पाँचवटा टोली त्यहाँको वनमा परिचालन गरिएका छन्।
यसअघि पनि मान्छेमाथि पटक-पटक आक्रमण गरेकोले सो चितुवा मान्छे खान पल्केको अधिकारीहरूको निष्कर्ष छ।
त्रास
"त्यसलाई समाउनका लागि स्थानीय जनतासँग पनि मिलेर पाँचवटा टोली बनाउने भन्ने निर्णय भएको छ। गत वर्ष पनि घटना भएका हुनाले त्यो नरभक्षी नै हो भन्ने देखिएको छ। पोहोर चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञ आएर खोजे पनि नभेटिएको रहेछ," मानन्धरले भने।
करिब तीन वर्षको अवधिमा सदरमुकाम सन्धिखर्क क्षेत्रमा मात्र चितुवाको आक्रमणमा परी १३ जना बालबालिकाले ज्यान गुमाएका छन्।
स्थानीय सहयोगी बीसीका अनुसार अहिले चितुवाका कारण स-साना बालबालिका बाहिर निस्कन समेत डराइरहेको अवस्था छ।
चितुवाले बालबालिकालाई लगातार शिकार बनाउन थालेपछि न्युजिल्याण्डका एक बाघ विशेषज्ञ ज्याक किम रोनको टोलीले पनि सो क्षेत्रको निरीक्षण गरेको थियो।
अध्ययनपछि ती विशेषज्ञले सन्धिखर्कको सो चितुवा 'वयस्क, अनुभवी र चलाख' भएको बताएको टोलीका एक सदस्य सुरेन्द्र आचार्यले बताए।
पछिल्लो समय देशका विभिन्न जिल्लामा चितुवा र मान्छेबीच द्वन्द्व बढ्दै गएको पाइएको वन्यजन्तु संरक्षणकर्ताहरू बताउँछन्।
साधारण जातका यस्ता चितुवा नेपालमा संरक्षित वन्यजन्तुमा भने पर्दैनन्।






















