पोम्पेओ र साउदी अरेबियाका राजाबीच छलफल

साउदी अरेबिया

तस्बिर स्रोत, EPA

Published

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले साउदी राजा सलमानसँग रियादमा भेट गरेसँगै साउदी अरेबियामाथि पत्रकार जमाल खशोग्गी बेपत्ता भएको घटनाको सम्बन्धमा स्पष्ट पार्न दबाब बढिरहेको छ।

दुई हप्ताअघि इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा खशोग्गी अन्तिम पटक देखिएका थिए।

टर्कीका अधिकारीहरूले सो महावाणिज्य दूतावासभित्र साउदी एजेन्टहरूले खशोग्गीको हत्या गरेको विश्वास गर्छन्।

तर साउदी पक्षले भने यो अस्वीकार गरेको छ।

खानतलासी

तर अमेरिकी संचारमाध्यमले जनाएअनुसार साउदी पक्षले सोधपुछका क्रममा केही गल्ती हुन गएर खशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरिरहेको हुनसक्ने छन्।

साउदी अधिकारीहरूले अनुमति दिएपछि सोमवार रातभर टर्कीको प्रहरीले सो महावाणिज्य दूतावासको खानतलासी गरेका थिए।

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले साउदी राजा सलमानसँग रियादमा भेट गरेका छन्।

पोम्पेओ र राजा सलमानबीचको बैठकबारे कुनै आधिकारिक भनाइ आएको छैन।

राष्ट्रपति ट्रम्पले राजा सलमानसँग टेलिफोन वार्ता गरेपछि तुरुन्तै साउदी अरेबियातर्फ जान विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका थिए।

सो टेलिफोन वार्ताबारे सामाजिक सञ्जाल ट्वीटरमा सन्देश राख्दै ट्रम्पले लेखेका छन्- "भर्खरैमात्र साउदी अरेबियाका राजा सलमानसँग कुरा गरे र उनले 'हाम्रो साउदी नागरिक' सँग के भएको हुन सक्ने भनेर आफूलाई केही थाहा नभएको बताए।"

'भेटको उपलब्धि'

संवाददाताहरूसँग कुरा गर्दै पछि ट्रम्पले ती पत्रकार बेपत्ता हुनुको पछाडि "छाडा हत्याराहरू" जिम्मेवार रहेको हुनसक्ने आफूलाई लागेको बताए।

साउदी अरेबिया-अमेरिकाबीचको बलियो सम्बन्ध हेर्दा कैयौँ विषय जोखिममा पर्न सक्ने देखिन्छ।

साउदीसँग भएको एउटा ठूलो हातहतियारसम्बन्धी सम्झौता रद्द हुने सम्भावना नरहेको ट्रम्पले बताइसकेका छन्।

तर पत्रकार खशोग्गीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको पाइए 'कडा सजाय' दिइने धम्की भने ट्रम्पले दिएका छन्।

सोमवार नै साउदी राजा सलमानले खशोग्गी बेपत्ता प्रकरण सम्बन्धी छानबिन गर्न आदेश दिएका छन्।

आधारहीन आरोप

साउदी पक्षले अहिलेसम्म खशोग्गीको हत्या भएका आरोपहरूलाई "आधारहीन" तथा "झुटो" भनेका छन्।

खशोग्गी बेपत्ता भएको घटनाका सम्बन्धमा साउदी अरेबियामाथि लगाइन सकिने भनिएका प्रतिबन्धहरूलाई, उसकै शब्दमा, राजनीतिक तथा आर्थिक "धम्कीहरू" भन्दै प्रतिबन्धहरूजस्ता कुनै पनि खाले दण्डात्मक कदमको 'अझ सशक्त रूपमा' जवाफ दिइने जनाएको छ।

साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि पोम्पेओले भेट गर्ने ठानिएको छ।

त्यसपछि अमेरिकी विदेशमन्त्री टर्कीतर्फ लाग्न सक्ने ठानिएको छ।