नेपाल: प्याराग्लाइडिङमा प्राप्त रजत पदकले जगाएको आशा

प्याराग्लाइडिङ

तस्बिर स्रोत, NSJF

तस्बिरको क्याप्शन, रजत पदक विजेता टोलीका सदस्यहरु

बीस वर्षअगाडि सविता राजभण्डारीले ब्याङ्कक एशियाली खेलकुदमा तेक्वान्दोबाट नेपाललाई पहिलो पटक ऐतिहासिक रजत पदक दिलाएका बेला नेपालमा प्याराग्लाइडिङ खेल भरखर भित्रिएको थियो।

पोखरामै सीमित भएको भए पनि सुरुमा प्याराग्लाइडिङले खेल नभई उडान व्यवसायको रूपमा परिचय बनाएको थियो।

ठिक २० वर्षपछि प्याराग्लाइडिङले जकार्ता एशियाली खेलकुदमा रजत पदकको इतिहास दोहोर्‍याउन सफल भयो।

पोखराको आकाशमा झन्डै दुई दशकको अनुभवबाट खारिएका खेलाडीहरूले इन्डोनेशियाको पहाडी पर्यटन क्षेत्र गुनुङ मास कुन्काकको आकाशमा त्यो इतिहास बनाएका हुन्।

थपिएको खेल

नेपालका लागि यो ऐतिहासिक पदक कप्तान विमल अधिकारी, विशाल थापा, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले जितेका हुन्।

उनीहरूले पुरुष टिम क्रस्-कन्ट्री इभेन्ट्समा उक्त पदक जितेका हुन्।

जारी १८ औँ एसियाडमा २९ खेलमा सहभागी झन्डै २०० नेपाली खेलाडीहरू सहभागी भएका छन्।

बुधवारको उपलब्धिका कारण नेपाली टोलीले पदकविहीन भएर घर फर्किनु परेन।

"यो एउटा इतिहासको प्रारम्भ हो, "टोलीका कप्तान विमल अधिकारीले बीबीसीसँग भने, "अब नेपालमा प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय पदक दिलाउने साहसिक खेलको रूपमा स्थापित हुने विश्वास छ।"

एशियाली खेलकुदमै प्याराग्लाइडिङ समावेश गरिएको यो पहिलो पटक हो।

खासगरी आयोजकसँग आफ्नो छनोटमा खेल थप्न पाउने अधिकार हुन्छ। प्याराग्लाइडिङमा राम्रो मानिने इन्डोनेशियाले यो खेल थपेको हो।

इन्डोनेशियाले प्याराग्लाइडिङमा दुई स्वर्ण, एक रजत र एक काश्य जितेर आफ्नो निर्णयलाई सही पुष्टि गरेको छ।

आत्मविश्वास

यसअघि नेपाली खेलाडीहरूले कोलम्बियामा भएको विश्व च्याम्पियनशिप र केही ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेर आत्मविश्वास बटुलेका थिए।

त्योभन्दा महत्त्वपूर्ण झन्डै १८ वर्ष पोखरामा नियमित भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवले खेलाडीहरूको आत्मबल थप सुदृढ बनेको टोलीका प्रबन्धक शैलेन राउतको विश्लेषण छ।

उनी भन्छन्, "पदकको विश्वास एसियाडमा नाम लेखाउँदा नै थियो, परिणामको पर्खाए पुरा गर्‍यौँ।"

रजत पदक जित्दा खुसी भए पनि स्वर्ण हात पार्ने सुनौलो अवसर गुमेकोमा उनीहरू केही चुकचुकाएका छन्।

पाँच दिनसम्म चलेको प्रतिस्पर्धामा बुधवार खेल अन्त्य गर्दा नेपाल विजेता जापानभन्दा २७ अङ्कले मात्र पछि परेको थियो।

नेपाली टोलीका प्रबन्धक राउत भन्छन्, "पहिलो दिन यहाँको हावा र मौसमसँग घुलमिल हुन समय लाग्दा केही अङ्क पाउन सकेनौँ। नत्र यो खुसीलाई अझ उल्लासमय बनाउन सकिन्थ्यो।"

पाँच खेलाडीले हरेक दिन एक हजार अङ्कका लागि खेल्ने प्रतिस्पर्धामा नेपालले चौथो र पाँचौँ दिन उत्कृष्ट पुनरागमन गरेको थियो।

फाइनलमा जापानका दुई खेलाडीले प्रतिस्पर्धा पूरा गर्न नसक्नु तर नेपालका पाँच सदस्यहरूले उत्कृष्ट लय जारी राख्दै प्रतिकूल मौसममा आफ्नो लक्ष्य सफलतापूर्वक पूरा गरेपछि प्रतिस्पर्धा निकै साँघुरो विन्दुमा पुगेको थियो।

पाँच दिनको समग्र अङ्क जोडिँदा नेपालको ११,३६४ र जापानको ११,३९१ बनेको थियो।

लक्ष्य

महँगो आकाशे प्रतियोगिता, सबै देशमा नखेलिने र सर्वसाधारणको पहुँचमा नहुने हुँदा प्याराग्लाइडिङको प्रतिस्पर्धा र आयोजना दुबै चुनौतीपूर्ण मानिन्छन्।

तर नेपालमा व्यवसायको रूपमा रहेको साहसिक यो खेल विश्वभरि थुप्रै सौखिन खेलाडीहरूको सूचीमा परेकोले नेपालमा यसले स्वाभाविक मलजल पाइरहेको देखिन्छ।

प्याराग्लाइडिङ

तस्बिर स्रोत, NSJF

अब नेपालमै हुने दक्षिण एशियाली खेलकुदमा पनि आयोजक राष्ट्रको हैसियतले यसलाई समावेश गरिसकिएको छ। अर्थात् प्याराग्लाइडिङ अर्को वर्ष काठमान्डूमा हुने प्रतिस्पर्धामा पनि पदक पाउने एउटा खेल मानिएको छ।

नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव पनि रहेका शैलेन राउत भन्छन्, "आगामी साग गेम्समा समावेश सबै आठ स्वर्ण पदक जित्ने हाम्रो लक्ष्य हुनेछ।"

इतिहास

नेपालको एशियाली खेलकुदको इतिहासमा यो दोस्रो रजत हो भने तेक्वान्दो, कराँते र बक्सिङ पछि एसियाड पदक जित्ने चौथो खेल।

बयालीस वर्षको एसियाड सहभागितामा नेपालले कुल २३ पदक जित्दा तेक्वान्दोको सबैभन्दा बढी १४ पदकको वर्चस्व छ।

प्याराग्लाइडिङका कान्छा विजेता १६ वर्षीय युकेश गुरुङ भन्छन्, "यो अनौठो सफलतालाई भोलिका दिनमा पनि निरन्तरता दिने प्रयास गर्नेछु।"

नेपालले जितेको ऐतिहासिक अन्तर्राष्ट्रिय पदक

१. विधान लामा - काश्य, तेक्वान्दो, सोल ओलिम्पिक (प्रदर्शन खेल)

२. सविता राजभण्डारी - रजत, तेक्वान्दो १३ औँ एशियाली खेलकुद

अडिओ क्याप्शन सुरु हुँदैछ, एसियन गेम्समा नेपालबाट पदक जित्ने एक्ली खेलाडी