विदेशी प्रतिभालाई किन आकर्षित गर्दैछ चीन?

चीन

तस्बिर स्रोत, AFP

Published

चीन सरकारले पछिल्लो समय उच्च प्रतिभाशाली विदेशीहरूलाई आफ्नो देशमा आकर्षित गर्ने नीति लिएको देखिएको छ।

त्यसका लागि उसले प्रतिभावान् विदेशीहरूलाई लामो समयका लागि प्रवेशाज्ञा दिन थालेको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार 'मल्टी-एण्ट्री भीसा' अर्थात् पटक-पटक प्रवेश पाउने भीसा पाँचदेखि १० वर्षसम्मका लागि हुनेछ।

प्रविधि क्षेत्रका विज्ञ, उद्यमी तथा वैज्ञानिकहरू त्यस्तो प्रवेशाज्ञा पाउन योग्य हुनेछन्।

लक्ष्य

चीनले आफ्ना आर्थिक तथा सामाजिक विकासका लागि लक्ष्य तय गरिसकेको छ।

र, त्यसको प्राप्तिमा सघाउनका लागि ऊ विदेशी विज्ञहरूलाई नियुक्त गर्न चाहन्छ।

चीन

तस्बिर स्रोत, AFP

प्रवेशाज्ञा लिन अनलाइनबाट आवेदन दिन सकिन्छ जसका लागि शुल्क तिर्नुपर्दैन र प्रक्रिया पनि छिट्टै अघि बढ्छ।

प्रवेशाज्ञा पाउने व्यक्ति एक पटकमा १८० दिनसम्म बस्न पाउनेछन् र श्रीमती तथा छोराछोरीलाई पनि आफूसँगै राख्न पाउनेछन्।

पहिचान

सन् २०१६ मा चीनले प्रवासीहरूमा 'र्‍याङकिङ्' प्रणाली शुरु गरेको थियो।

त्यसको उद्देश्य चिनियाँ आवश्यकता बमोजिम प्रतिभाहरूको पहिचान गरी त्यस अनुसार उनीहरूबाट काम लिनु थियो।

एउटा दस्तावेज अनुसार उच्च विदेशी प्रतिभामा नोबेल पुरस्कार विजर्ता, सफल ओलिम्पिक खेलाडी र सङ्गीत तथा कलासम्बन्धी विश्व प्रसिद्ध शैक्षिक संस्थाका निर्देशकहरूलाई समावेश गरिएको छ।

वरिष्ठ वैज्ञानिक, ठूला वित्तीय संस्थाका प्रमुख तथा विदेशी उच्चस्तरीय विश्वविद्यालयका प्राध्यापकहरूलाई पनि सूचीमा समेटिएको छ।