सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रवि लामिछानेलाई हुन सक्ने 'राहत'

Published
पढ्ने समय: ३ मिनेट

कास्की जिल्ला अदालतले शुक्रवार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लगाइएका अभियोगमध्ये सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधका अभियोग हटाउने आदेश दिएको छ।

उनी तथा अन्य प्रतिवादीविरुद्ध अब सहकारी ठगीसम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्।

"जो प्रतिवादीको हकमा सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग थियो, सबैको संशोधन भएको हो," उनले बीबीसीसँग भने।

यसअनुसार लामिछानेसँगै प्रतिवादी बनाइएका जीबी राई र छविलाल जोशीविरुद्धका ती अभियोजनहरू पनि संशोधन भएका छन्।

सम्भाव्य असर

रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा कास्की जिल्ला अदालतमा मात्रै थियो। तर सङ्गठित अपराधको मुद्दा काठमाण्डू, रूपन्देही र पर्सामा पनि छ।

त्यसकारण सङ्गठित अपराधको मुद्दा फिर्ताबाट भन्दा सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता भएको विषयले लामिछानेले राहत पाउने कानुन व्यवसायीहरू बताउँछन्।

यसअघि लामिछानेको मुद्दा हेरेका एक कानुन व्यवसायीका अनुसार लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा अब अदालतमा नरहँदा उनलाई राजनीतिक प्रश्नबाट राहत मिलेको छ।

उक्त मुद्दाका कारण सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद निलम्बन नभएको विषयमा यसअघि प्रश्न उठेको थियो।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धीकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसअघिको प्रतिनिधिसभामा सांसद पदबाट निलम्बन गरिएको थियो।

सुशीला कार्की सरकारले थालेको पहल

सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ता कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो।

हाल लामिछानेविरुद्ध चार वटा जिल्लामा भिन्नाभिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डू, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरुद्ध मुद्दा विचाराधीन अवस्थामा छन्।

तीमध्ये कास्की जिल्ला अदालतमा उनीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानुनमा उल्लेख भएको जानकारहरूले बताएका थिए।

त्यसै गरी अब लामिछानेको पैतृक सम्पत्ति रोक्का पनि फुकुवा हुन सक्ने र उनकी श्रीमती निकिता पौडेलको नाममा रहेको सम्पत्ति पनि फुकुवा हुने ती कानुन व्यवसायीले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।