ज्वालामुखीबाट ध्वस्त प्राचीन सहरमा फेला परे नागका प्रतिमा र अरू रोचक वस्तु

पोम्पेईमा फेला परेको नागको प्रतिमा
तस्बिरको क्याप्शन, पोम्पेईमा फेला परेको नागको प्रतिमा
    • Author, जोनाथन एमस, विज्ञान संवाददाता
    • Role, पोम्पेई, दक्षिण इटली
  • Published

नागका आकृतिहरू भएको पूजाकोठा, एउटा बेकरी, केही नरकङ्काल, आकर्षक भित्तेचित्रहरू अनि पिज्जाजस्तै देखिने एउटा चित्र। यी वस्तुहरू पोम्पेईस्थित पुरातात्त्विक उद्यानमा हालै उत्खनन गर्दा फेला परेका सामग्रीको सूचीमा छन्।

सन् ७९ मा भेसूभिअस पर्वतस्थित ज्वालामुखी विस्फोटन हुँदा ध्वस्त भएको यो प्राचीन नगरमा जहाँ खने पनि यस्तै खजाना भेटिन्छ। यी प्राचीन रोमन सभ्यताका अवशेषहरू हुन्।

ज्वालामुखीको खरानी र लाभाबाट बनेको पमिस पत्थरमुनि पुरिएको यो नगरको एकतिहाइ भाग अझै उत्खनन हुन बाँकी भएको थाहा पाउँदा अचम्म लाग्न सक्छ।

"त्यो धेरै काम अब भावी पुस्ताका लागि हो," ताजा उत्खनन कार्यका एक सहप्रमुख आलेसान्द्रो रुसोले बताए।

"हामीले जेजति भेट्यौँ त्यसको संरक्षण गर्न हामीलाई समस्या छ। भावी पुस्तासँग नयाँ उपाय वा नयाँ प्रविधि उपलब्ध हुनसक्छ।"

पोम्पेई

अहिले उत्खनन गर्न थालिएको नयाँ क्षेत्र उक्त उद्यानमा यसअघि १९औँ शताब्दीको अन्त्यतिर खोज गरिएको भेगमा पर्छ।

त्यतिबेला पुरातत्त्वविद्हरूले पोम्पेई नगरस्थित मुख्य गल्लीमध्येको 'भिया डी नोला'का घरका अग्रभागहरू उत्खनन गरेका थिए। तर त्योभन्दा धेरै हुन सकेन।

उनीहरूले त्यतिखेर त्यहाँ रहेको एउटा लुगा धुने ठाउँ पहिचान गरेका थिए।

पोम्पेई उत्खनन
तस्बिरको क्याप्शन, चर्को गर्मी याममा पनि भेसूभिअस पर्वत देखिने ठाउँमा उत्खनन कार्य जारी छ

अहिले उत्खननकर्ताहरूले बिस्तारै ज्वालामुखीबाट निस्किएको खरानी अनि केराउको गेडाजत्रा लापिली भन्ने ढुङ्गाहरू पन्छाउन थालेका छन्।

भेसूभिअस विस्फोटनका ती दुई विनाशकारी दिनमा पोम्पेई यिनै खरानी तथा लापिलीले पुरिएको थियो।

उत्खनन भइरहेको क्षेत्र नगरको एउटा ब्लकजत्रो छ। त्यसलाई इन्सुला भनिन्छ र ती झन्डै ३,००० वर्गमिटर आकारका छन्।

रेड लाइन
रेड लाइन
पोम्पेईमा उत्खनन गर्न थालिएको स्थान देखाउने नक्सा

लायन टेलिभिजनसँगै बीबीसी न्यूजले उत्खनन कार्य अवलोकन गर्ने विशेष अवसर पाएको छ।

आगामी वर्षको सुरुतिर बीबीसीमा पोम्पेई उत्खननबारे तीन भागको शृङ्खला प्रसारण हुने छ।

विशाल चुल्हो

चुल्हो
तस्बिरको क्याप्शन, यो विशाल चुल्होमा प्रत्येक पटक झन्डै १०० वटा पाउरोटी बन्ने अनुमान गरिएको छ

"पोम्पेईको विशाल कथाभित्र यहाँका प्रत्येक घरका प्रत्येक कोठाका आआफ्नै कहानी छन्। म ती साना कहानी उधिन्न चाहन्छु," जेनारो आयोभिनोले भने।

उत्खनन कार्यमा सहभागी अर्का पुरातत्त्वविद् तपाईँलाई कुनै 'एट्रिअम'मा प्रवेश गरेको कल्पना गर्न सुझाउँछन् जसको छतमा एउटा प्वाल छ र जहाँबाट सिंहको शिरको प्रतिमाबाट बर्खाको पानीलाई तल एउटा मूर्तिनजिकै रहेको फोहरातिर पठाइन्छ।

ज्वालामुखी विस्फोटन हुनुअघि कारिन्दाहरूले त्यहाँ कुनै मर्मतको काम गरिरहेको जस्तो देखिन्छ किनभने छाना छाउने झिँगटीका दुईवटा थुप्रा मिलाएर राखिएको भेटिन्छ। तर पोम्पेईमा अन्यत्र भेटिएका अरू भवनको तुलनामा यो त्यति भव्य छैन।

यो घर पक्कै आंशिक व्यावसायिक भवन थियो किनभने दायाँतर्फ मोडिनेबित्तिकै एउटा विशाल चुल्हो देखिन्छ। त्यसमा दैनिक १०० वटा पाउरोटी उत्पादन हुन सक्ने अनुमान छ।

पोम्पेईमा त्यस्ता ५० बेकरीका भग्नावशेष फेला परिसकेका छन्। तर यो पसल पनि होइन किनभने यहाँ पसलको अग्रभागजस्तो कुनै संरचना देखिँदैन।

सम्भवतः यो कुनै थोक विक्रेताको केन्द्र हुनसक्छ जसले भोजनालयका निम्ति प्रख्यात पोम्पेई नगरमा भोजनालयमा पाउरोटी वितरण गर्थ्यो।

पोम्पेईमा फेला परेका वस्तु

'पिज्जा'

एउटा चाँदीको किस्तीमा गोलाकार पाउरोटी र सँगै अनार, छोगडा, नट तथा आर्ब्यूटस फल देखिने भित्तेचित्र फेला परेको सार्वजनिक हुनासाथ त्यसले सनसनी मच्चायो।

तर त्यो पिज्जा भने होइन। नियापोलिटन व्यञ्जनका दुई मुख्य सामग्री गोलभेँडा र मोज्जरेला चीज इस्वीको पहिलो शताब्दीताका इटलीमा उपलब्ध थिएनन्।

सायद त्यो 'फोक्याच्या'को टुक्रा पो थियो कि? जेनारोका अनुसार पिज्जाको प्रसङ्ग ठट्टाको रूपमा सुरु भएको हो।

उनले भने, "मैले मेरो हाकिमलाई तस्बिर इमेल गर्दै 'पहिले चुल्हो भेटियो अनि अब पिज्जा' भनेर लेखेको थिएँ।"

फोक्याच्या पनि एक किसिमको रोटी नै हो।

पिज्जाको उद्गमस्थल नेपल्सनजिकै भेटिएको चित्रले स्वाभाविक रूपमा धेरै चर्चा बटुल्यो
तस्बिरको क्याप्शन, पिज्जाको उद्गमस्थल नेपल्सनजिकै भेटिएको चित्रले स्वाभाविक रूपमा धेरै चर्चा बटुल्यो

तर विश्वभरि चर्चा चल्यो।

उक्त भित्तेचित्रलाई सुरक्षित राख्न अब त्यसलाई विशेष प्रकारले छोपेर राखिने छ।

प्रत्येक दिन पोम्पेई भ्रमण गर्ने २०,००० मानिसले 'पिज्जाको पुर्खा' उपनाम पाएको उक्त भित्तेचित्र हेर्न खोज्ने छन्।

नरकङ्काल

पोम्पेईमा फेला परेको नरकङ्काल
तस्बिरको क्याप्शन, फेला परेका सामग्रीहरूलाई अहिले विशेष कोठाहरूमा सुरक्षित राखिएको छ

आजको दिनमा पोम्पेईमा भयानक घटना भएको थियो भन्ने हामी बिर्सिन्छौँ।

त्यतिबेला कति जनाले ज्यान गुमाए होलान् भन्ने कुनै जानकारी छैन।

भेसूभिअस पर्वतमा विस्फोटन हुन थालेपछि धेरै मानिस त्यहाँबाट अन्यत्र गए होलान् भन्ने अनुमान गर्न सकिन्छ।

त्यहाँ झन्डै १,३०० देखि १,५०० वटा नरकङ्काल फेला परेका छन्।

ताजा उत्खननमा पनि दुई महिला र लिङ्ग पहिचान गर्न नसकिएको एउटा बच्चाको अस्थिपञ्जर भेटिएको छ।

पोम्पेईमा फेला परेको अस्थिपञ्जरको एउटा तिघ्राको माथिल्लो भागको हड्डी
तस्बिरको क्याप्शन, उत्खनन गर्दा अहिले तीन जनाको अस्थिपञ्जर भेटिएको छ

नरकङ्काल फेला परेको ठाउँ हेर्दा ती मानिसहरू भर्‍याङमुनि जोगिएर बस्न खोजे जस्तो लाग्छ।

तर उनीहरूले ज्वालामुखीको प्रकोप बर्सिँदा घरको छाना भत्किन सक्ने कुरा विचार गरेका थिएनन्।

माथिबाट खसेको प्रस्तरमूर्ति उनीहरूको शरीरमाथि बज्रिएको थियो।

रेड लाइन
रेड लाइन

जलेको बिछ्यौना

सन् ७९ को अक्टोबरमा भएको उक्त भयानक दिनको प्रकोपको प्रमाण उक्त भवनको अर्कोपट्टि अवस्थित एउटा शयनकक्षमा पनि देखिन्छ।

त्यहाँ आगोले डढेको बिछ्यौना फेला परेको छ। डढेपछि भित्ता र भुइँमा बाँकी रहेको किनाराको अवशेषबाहेक त्यो चिन्न सक्ने स्थितिमा छैन।

मानिसहरू भाग्न लाग्दा बत्ती लडेर शयनकक्षमा आगो लागेको हुनसक्छ
तस्बिरको क्याप्शन, मानिसहरू भाग्न लाग्दा दियो ढलेर शयनकक्षमा आगो लागेको हुनसक्छ

बिछ्यौनाको अवशेषमा राम्ररी हेर्ने हो भने कपडाका काला टुक्रा र डसना भर्न हालिएको पदार्थ पनि देखिन्छ।

पोम्पेईमा भेटिएको डढेको बिछ्यौनाको अवशेष
तस्बिरको क्याप्शन, पोम्पेईमा भेटिएको डढेको बिछ्यौनाको अवशेषको एउटा टुक्रा

अँगार बनेका यी अवशेष रहेको ठाउँ विचार गरेर पुरातत्त्वविद्हरूले त्यहाँ ज्वालामुखी विस्फोटन हुँदा सुरुसुरुतिरै भागेको बताउन सक्छन्।

मानिसहरू भाग्न खोज्दा भएको कोलाहलमा दियो ढलेर आगलागी भएको उनीहरूको अनुमान छ।

"भाग्न विफल मानिसहरु को हुन् भन्ने थाहा पाए त्यो रोचक कुरा हुन्छ," उक्त उद्यानका निर्देशक गाब्रिएल जुच्ट्रिएगेलले भने।

आधुनिक 'वालपेपर' जस्ता भित्तेचित्र
तस्बिरको क्याप्शन, त्यहाँ आधुनिक 'वालपेपर' जस्ता भित्तेचित्रहरू पनि फेला परेका छन्

"के उनीहरु विपन्न थिए? पुरुषभन्दा महिलाको सङ्ख्या बढी थियो? अथवा आफ्नो धनको रक्षा गर्न चाहने सम्पन्न मानिसहरू पो थिए कि जबकि भाग्न सफल भएकाहरू केही नभएका मानिस थिए होला," उनले भने।

रेड लाइन
रेड लाइन

पूजाकोठा

अहिले उत्खनन गरिएको क्षेत्रको पछिल्लो भागमा तीनवटा कोठा घेर्ने भित्ता छ।

यहाँ लापिली र खरानी पन्छाउँदा औधी गजबका कलाकृति देखा परे।

भित्तेचित्र

मध्यभागको कोठामा अर्को आकर्षक भित्तेचित्र छ जसलाई पालले ढाकिएको छ।

यसमा अकिलीजको किम्बदन्तीको एउटा प्रसङ्ग प्रस्तुत गरिएको छ।

ती वीर सैनिकको कमजोर कुर्कुच्चाको कहानी निकै चर्चित छ।

त्यहाँ ट्रोजन युद्ध लड्न नपरोस् भनेर उनले महिलाको भेष बनाएर लुक्ने प्रयास गरेको प्रसङ्ग चित्रण गरिएको छ।

तेस्रो कोठामा पाल पन्छाउँदा एउटा चित्ताकर्षक पूजाकोठा देखियो।

त्यहाँ गाढा रातो-बैजनी रङ्गको पृष्ठभूमिमा दुईवटा पहेँला नागका आकृति छन्।

"यी असल राक्षस हुन्," आलेसान्द्रोले भने।

उनले भित्ताको अर्को कुनामा रहेको भित्तेचित्रतर्फ औँल्याए।

"यो कोठा वास्तवमा भान्छा हो। यहाँ उनीहरूले आफ्ना ईश्वरलाई प्रसाद चढाउँथे। माछा वा फलफूल। नाग भनेको चाहिँ ईश्वर र मानिसबीचको सम्पर्कसूत्र हो," उनले भने।

पुरात्त्वविद
तस्बिरको क्याप्शन, पोम्पेई उद्यानका निर्देशक गाब्रिएल जुच्ट्रिएगेल

इन्सुलामा थप सामग्री देखा पर्दै गर्दा भवनको उक्त भग्नावशेषलाई एउटा सुरक्षित छानो बनाएर जोगाउनका लागि वरपर मचान बनाइएको छ।

पर्यटकहरूले यी पुरातात्त्विक निधिहरू सजिलै अवलोकन गर्न सकून् भनेर उद्यानले भविष्यमा त्यहाँ केही अग्लो स्थानमा पदमार्ग बनाउने विचार गरेको छ।

"मानिसहरूले कहिलेकाहीँ हामीलाई सोध्छन् - तपाईँ के फेला पार्न चाहनुहुन्छ? के खोज्दै हुनुहुन्छ?" गाब्रिएल भन्छन्।

तर त्यस्ता प्रश्नहरू नै गलत भएको उनको धारणा छ।

"हामीले वास्तवमा के खोजिरहेका छौँ भन्ने हामीलाई थाहा छैन। हामी त सधैँ केही आश्चर्यजनक कुरा भेटियोस् भन्ने चाहन्छौँ। यी त उघ्रिँदै गएका प्रमाण हुन् जसले हामीलाई कतै डोर्‍याउँदै छ। तर हामीलाई थाहा छैन यो यात्राले कता लैजान्छ।"

रेड लाइन

थप रिपोर्टिङ रेबेका मोरल, एलिसन फ्रान्सिस र टोनी जोलिफबाट। बीबीसी र लाइन टीभीको शृङ्खला 'पोम्पेईः द न्यू डिग' आगामी वर्ष प्रसारित हुने छ।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।