रुसी राष्ट्रपति बेइजिङमा, चीनसँग के कुरा गर्दै छन् पुटिन

Published
पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पपछि चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको शीर्ष वार्ताको निम्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय वार्ता हुँदै छ।

पुटिन राजकीय भ्रमणमा मङ्गलवार अबेर बेइजिङ पुगेका हुन्।

पुटिनले रुस र चीनबीचका "महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरू" बारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ।

पुटिन सन् २०२६ को आफ्नो पहिलो विदेश भ्रमणको निम्ति निकै महत्त्वपूर्ण मानिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै बेइजिङ पुगेका हुन्।

चीन भ्रमणका क्रममा ट्रम्प र सीबीच इरान युद्धदेखि व्यापारका विभिन्न विषयमा छलफल भएको थियो।

निरन्तर एक्लिँदो रुसका लागि चीन कति महत्त्वपूर्ण छ भन्ने यसले सङ्केत गर्छ।

मस्कोविरुद्ध पश्चिमा देशहरूको नाकाबन्दीबीच बेइजिङ रुसको एक प्रमुख सहयोगी र तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो।

पुटिनले त्यो सम्बन्धलाई बलियो बनाउन खोज्ने छन्।

चीनलाई ५० अर्ब घन मिटर प्राकृतिक ग्यास पुर्‍याउन सक्ने एउटा नयाँ पाइपलाइन भ्रमणको उच्च प्राथमिकतामा हुने छ।

पुटिन विश्व नेताहरूको त्यो लामो सूचिमा समावेश भएका छन् जो पछिल्ला महिनाहरूमा चीनसँग व्यापार बढाउन बेइजिङ पुग्ने गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयले पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको निम्ति भएको बताएको छ।

राति बेइजिङ पुग्दा पुटिनलाई चिनियाँ विदेश मन्त्री वाङ यी र एउटा सैन्य टुकडीले स्वागत गरेका थिए।

रुसी राष्ट्रपतिको यो २५औँ औपचारिक चीन भ्रमण हो।

एजेन्डा के छन्?

दुवै पक्षका अधिकारीहरूले सी-पुटिन बैठकको क्रममा हुने छलफलको खास विषयहरू घोषणा गरेका छैनन्।

तर केही मुख्य मुद्दाहरू छन्, त्यसबारे वार्ताका क्रममा छलफल हुन सक्छन्:

रुसमाथि पश्चिमा देशले केही वर्षदेखि लगाएको प्रतिबन्धबीच पनि दुई देशबीचको व्यापारिक सम्बन्ध थप प्रगाढ बनेको छ। द्विपक्षीय व्यापारको एक प्रमुख क्षेत्र रुसको तेल र ग्याससहित व्यापक ऊर्जा आपूर्ति हो।

द पावर अफ साइबेरिया २ पाइपलाइन, जुन अन्ततः वर्षौँदेखिको ठप्प वार्तापछि निर्माण हुन सक्छ, र त्यसबाट वार्षिक ५० अर्ब घन मिटर रुसी चीनमा आपूर्ति हुने छ। त्यसले विशेष गरी स्ट्रेट अफ होर्मुजको सङ्कटबीच चीनको ऊर्जा सुरक्षामा टेवा पुर्‍याउने छ।

अहिले पनि चलिरहेको युक्रेन युद्धको बारेमा पनि छलफल हुने सम्भावना छ। रुसले युक्रेनमा आफ्नो सैन्य अभियान जारी राख्न दोहोरो प्रयोग हुने र ड्रोनसम्बन्धी वस्तुको निम्ति चिनियाँ निर्यातमा निर्भर रहेको बताइएको छ।

चीनले वार्ताको माध्यमबाट द्वन्द्वको शान्तिपूर्ण समाधानको आह्वान गर्दै आधिकारिक रूपमा युद्धमा तटस्थताको नीति लिएको छ। तर उसले रुसविरुद्ध पश्चिमा देशले लगाएको प्रतिबन्धको आलोचना गर्नुका साथै ती प्रतिबन्धहरू "गैरकानुनी र अनुचित" भएको दाबी गरेको छ।

यस्तो छ व्यस्त तालिका

पुटिनको दुई दिने छोटो भ्रमणको तालिका निकै व्यस्त छ।

बेइजिङको सेन्ट्रल स्क्वायरमा एक भव्य समारोहबीचको स्वागत गरिसकेपछि तालिका यस्तो छ:

चिनियाँ नेता सी जिन पिङसँग र प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय वार्ता हुने छ, जहाँ विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

"रणनीतिक सहकार्यलाई थप सुदृढ" बनाउने संयुक्त वक्तव्य जारी गरिने छ।

पुटिनले बाल्यकालमा भेटेका एक जना चिनियाँ इन्जिनियरसँग भेट्ने छन्।

चिनियाँ प्रधानमन्त्री ली चिआङसँग भेटवार्ता हुने छ।

रुस–चीन सम्बन्धबारेको फोटो प्रदर्शनीमा राष्ट्रपति सीका साथ सहभागी हुने छन्।

सन्ध्याकालीन भोजमा सरिक हुने छन्।

र अन्तमा, राष्ट्रपति सीसँग चियापानसँगै वार्ता हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।