किन यो देशमा प्रत्येक दिन हजारौँ मानिस ११:५२ बजे विरोधप्रदर्शन गर्छन्

सर्बियाको बेल्ग्रेडको नोभी साद रेल्वे स्टेशनमा गएको नोभेम्बरमा भएको घटनाका लागि सरकारको नीति, भ्रष्टाचार र लापरबाही जिम्मेवार रहेको भन्दै डिसेम्बर २२ मा प्रदर्शनमा सहभागी एक महिला 
तस्बिरको क्याप्शन, 'रगतले लतपतिएको हात' विरोधप्रदर्शनको प्रतीक चिह्न बनेको छ
    • Author, बीबीसी सर्बिअन
  • Published
  • पढ्ने समय: ४ मिनेट

प्रत्येक दिन स्थानीय समयानुसार ठ्याक्कै ११ बजेर ५२ मिनेट जाँदा सर्बियाका चोकहरू १५ मिनेट अवरुद्ध हुन्छन्। सवारीसाधनहरू रोकिन्छन् र मानिसहरू मौन बस्छन्।

सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा गत नोभेम्बरमा एउटा रेल्वे स्टेशनको छत खस्दा मानिसहरू हताहत भएका थिए। उक्त घटनापछि प्रदर्शनकारीहरूले न्याय माग्दै आएका छन्।

उक्त १५ मिनेटको सवारी अवरोध ठ्याक्कै रेलवे स्टेशनको छत भत्किएको समयमा नै गरिन्छ र त्यसको उद्देश्य उक्त दुर्घटनामा ज्यान गुमाएका १५ जनाप्रति सम्मान व्यक्त गर्नु पनि हो।

उक्त घटनायता झन्डै एक दर्जन मानिसहरू पक्राउ परेका छन्। तीमध्ये सर्बियाका भूतपूर्व निर्माणमन्त्री पनि छन्। उनले घटना भएको केही दिनमा राजीनामा दिएका थिए। तर उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

उक्त घटनापछि सर्बियामा शोकसँगै आक्रोश उत्पन्न भयो। देशभरि बेलाबेलामा विरोधप्रदर्शन हुँदै आएको छ।

तर यूनिभर्सिटी अफ बेल्ग्रेडका विद्यार्थीहरूको समूहले प्रदर्शनको जिम्मा लिएपछि अवरोध विश्वविद्यालयका ५० वटाभन्दा बढी विभाग र देशका कैयौँ माध्यमिक विद्यालयमा पनि विस्तार भयो। आइतवार दशौँ हजार मानिसहरू विद्यार्थीहरूसँगै राजधानी बेल्ग्रेडमा प्रदर्शनमा सहभागी भए। उनीहरूले उक्त घटनामा जबाफदेहिता माग गरे।

"हामी सबै उही छतमुनि छौँ"

बेल्ग्रेड सहरको रेल स्टेशनको छत खसेको विषयमा जबाफदेहिता र न्याय माग गर्दै आयोजित प्रदर्शनमा सहभागी मानिसहरूको तस्बिर लिइरहेका एक व्यक्ति
तस्बिरको क्याप्शन, आइतवार राति दशौँ हजार मानिसहरू सर्बियाको राजधानी बेल्ग्रेडमा प्रदर्शनमा सहभागी थिए

आइतवारको प्रदर्शन सर्बियामा हालैका वर्षहरूमा भएको सर्वाधिक ठूलो विरोधप्रदर्शन हो।

मोबाइल फोनको बत्तीले मध्यबेल्ग्रेडको चोकमा प्रकाश छरेको थियो भने दशौँ हजार मानिसहरूले पीडितहरूको सम्मानमा १५ मिनेट मौनधारण गरेका थिए।

"विद्यार्थीहरू लामो समय शान्त बसिसके र यस्ता सबै गतिविधिहरू गैरजिम्मेवारीपन उदाहरण हुन्," एक मेडिकल विद्यार्थी मक्सिम इलिचले भने।

आइतवारको प्रदर्शनमा विद्यार्थीहरूसँगै कृषक, स्वास्थ्यकर्मी, अभिनेता, कलाकार र बेल्ग्रेड र सर्बियाका अन्य सहरका मानिसहरू सहभागी थिए।

"हामी सबै उही छतमुनि छौँ," मौन अवधिमा प्रदर्शनकारीहरूले बोकेको ब्यानरमा लेखिएको थियो।

बेल्ग्रेडमा डिसेम्बर २२, २०२४ मा प्रदर्शन गरिरहेका विद्यार्थीहरू
तस्बिरको क्याप्शन, विद्यार्थीहरूले आयोजना गरेका प्रदर्शनमा दशौँ हजार मानिस सहभागी भए

उनीहरूले रेल स्टेशनको छत भत्किनुको कारणमा व्यापक भ्रष्टाचार र भवनको कमजोर निर्माण भएको औँल्याएका छन्। हालैका वर्षमा चिनियाँ सरकारी स्वामित्वका कम्पनीअन्तर्गत एउटा परियोजनाले उक्त भवनको दुई पटक पुनर्निर्माण गरेको थियो।

"म यहाँ उम्लिरहेको र हुँदै गरेको परिवर्तनलाई समर्थन गर्न आएकी हुँ। मलाई यो उत्कर्षमा पुगिसकेको जस्तो लाग्छ। तलदेखि माथिसम्मै परिवर्तन गर्नु आवश्यक छ र त्यसो गर्दा मात्र हामी नयाँ र स्वस्थ जीवनतर्फ अघि बढ्न सक्छौँ," बेल्ग्रेडनजिकै रहेको पान्चो सहरमा बस्ने लिडियाले बीबीसीसँग भनिन्।

विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रमप्रति विश्वास व्यक्त गर्दै उनले ठूलो सङ्ख्यामा युवाहरूको उपस्थिति सबैका लागि चेतावनी भएको बताइन्।

"म विद्यार्थीहरूको पक्षमा उभिएकी छु किनभने उनीहरू आफ्नो वचनप्रति अडिग छन् र उनीहरूले आफ्नो धारणा फेरेका छैनन्।"

'रगतले लतपतिएको' हात विरोधप्रदर्शनको प्रतीक चिह्न बनेको छ। "भ्रष्टाचारले ज्यान लिन्छ"सहितका नाराहरू लागेका छन्। "तिम्रो हात रगतले लतपतिएको छ", "देश बालबालिकाको हो" र "बन्दको पक्षमा सबै" जस्ता नाराहरू ब्यानरमा देखा परेका छन्।

पन्ध्र मिनेटको मौन अवधिपछि उक्त भिडले चर्को आवाज निकालेको थियो र अधिकारीहरूविरुद्ध नारा लगाएको थियो।

अधिकारीहरूले अनुसन्धान थालेर तथा रेल स्टेशनको छत निर्माणसँग सम्बन्धित दस्तावेजको अंश सार्वजनिक गरेर आफूले माग पूरा गरेको तर्का गरेका छन्। तर विद्यार्थीहरूले उक्त दस्तावेज अधुरो रहेको बताइरहेका छन्।

उनीहरूले देशका प्रधानमन्त्री र नोभी सादका नगरप्रमुखको राजीनामा माग गरेका छन्। उनीहरूले विरोधप्रदर्शन र पठनपाठन ठप्प पार्ने काम नरोक्ने बताएका छन्।

बेल्ग्रेडस्थित रिपब्लिक स्क्वेअरमा भइरहेका प्रदर्शन हेर्दै एक जना बस चालक
तस्बिरको क्याप्शन, मृतकहरूप्रति सम्मान व्यक्त गर्न बेल्ग्रेडस्थित एउटा चोकमा अवरोध गरिरहेका मानिसलाई हेर्दै एक बसचालक

पूरा नभएका माग

बेल्ग्रेड र देशका दुई दोस्रा ठूला सहरहरू नोभी साद र निसस्थित सबै विश्वविद्यालयहरू ठप्प छन्।

कतिपय शिक्षक यूनियनहरूले आफ्ना विद्यालयका पाठ घटाउने र प्रदर्शनमा सहभागी हुने निर्णय गरेका छन्। माध्यमिक विद्यालयका विद्यार्थीहरूले पीडितको सम्मानमा सामूहिक रूपमा बाहिर निस्किएका छन्।

सर्बियाका प्राथमिक र माध्यमिक विद्यालयमा बढिरहेको यस्तो परिस्थितिमाझ त्यहाँको शिक्षा मन्त्रालयले जाडो बिदालाई अघि सार्ने निर्णय लिएको छ।

सर्बियाका अधिकारीहरूले विद्यार्थीका सबै माग पूरा गरेको बताए पनि विद्यार्थीहरू त्यसमा सहमत छैनन्। उनीहरूले आफ्ना कुनै पनि माग पूर्ण रूपमा सम्बोधन नभएको बताएका छन्।

बेल्ग्रेडमा भएको प्रदर्शन

विद्यार्थीहरूले आफ्ना अन्य मागबाहेक नोभी साद रेल स्टेशनको छत भत्किएकाबारे सबै दस्ताबेजहरू सार्वजनिक गर्न माग गरेका छन्।

सरकारी वेबसाइटमा १९५ वटा दस्ताबेज सार्वजनिक गरिएको छ। तर विद्यार्थीहरूले ८०० भन्दा बढी त्यस्ता कागजपत्र रहेको बताइरहेका छन्।

यूनिभर्सिटी अफ बेल्ग्रेडको सिभिल इन्जिनिअरिङ विभागले उपलब्ध दस्ताबेजहरूको अध्ययन गरेको थियो।

उक्त विभागले तिनमा महत्त्वपूर्ण जानकारी अझै फेला नपरेको जनाएको छ।

नोभी साद रेल्वे स्टेशनको छानो खसेको स्थाननजिकै राखिएको फूलको गुच्छा र खेलौना
तस्बिरको क्याप्शन, नोभी साद रेल्वे स्टेशनको छानो खसेको स्थाननजिकै मृतकहरूप्रति सम्मान व्यक्त गर्न राखिएको फूलको गुच्छा र त्यसमाथि दुइटा खेलौना

आइतवार रातिको प्रदर्शनपछि सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचले विरोध गर्ने मनोवृत्ति भएका मानिसहरूको "एकदमै ठूलो भेला" बेल्ग्रेडमा आयोजना भएको इन्स्टाग्राममा लेखेका छन्।

भुचिचका अनुसार उनीहरूले सर्बियाका लागि महत्त्वपूर्ण ठानेका कुराहरू सुन्न उनी "सदैव तयार" छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।