तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यो विश्वकपको पहिलो ह्याट्रिकसहित मेस्सीले बनाए कैयौँ कीर्तिमान
- Author, एलिजाबेथ कोन्वे
- Role, विश्वकप संवाददाता, क्यान्सस सिटी स्टेडिअम
- Published
- पढ्ने समय: ५ मिनेट
फुटबलका दिग्गजहरूका लागि १७ जुन एउटा विशेष दिन थियो। धेरै खेलाडीहरू उत्कृष्ट भए पनि केन्द्रबिन्दुमा चाहिँ आर्जेन्टिनाका लिओनेल मेस्सी नै रहन पुगे।
फ्रान्सका किलियान एम्बाप्पे र नर्वेका एर्लिङ होलान दुवै जनाले दुई-दुई गोल गरेर जारी फिफा विश्वकपमा चर्चा र प्रशंसा कमाएको केही घण्टापछि मेस्सी चम्किए।
एल्जिरियाविरुद्ध ह्याट्रिक गरेर मेस्सीले विश्वकपमा सर्वाधिक १६ गोलको संयुक्त कीर्तिमान बनाएका छन्। अनि उमेर बढेको भए पनि आफू सक्षम रहेको उनले प्रमाणित गरेका छन्।
क्यान्ससमा सूर्यास्त हुँदा ३८ वर्षीय मेस्सी छवटा विश्वकपमा सहभागी बन्ने पहिलो खेलाडी बनेर उदाए। यो कीर्ति राख्न उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई एक दिनले उछिनेका छन्।
मेस्सीले सन् २००६ मा जर्मनीमा १८ वर्षको उमेरमा विश्वकपमा डेब्यू गरेका थिए। त्यसको २० वर्षपछि फुटबलका महान् खेलाडीमध्ये एक मानिने उनी आर्जेन्टिनाका लागि २००औँ पटक खेल्न मैदानमा ओर्लिए। उनको खेल उत्कृष्ट रह्यो र उनी पहिलाको जस्तै फुर्तिला र कुशल देखिए।
मेस्सीले के भने
"मेरो परिवार, मेरा टोलीका साथीहरू जो सधैँ साथमा हुन्छन्...उनीहरूसँगै बसेर रमाउन पाउनु निकै सुन्दर क्षण हो," पछि उनले भने।
"हाम्रो टोली निकै एकजुट छ, निकै बलियो छ। मलाई राम्रो लाग्छ, एउटा कठिन खेल जित्न पाउनु हाम्रो सौभाग्य हो। पहिलो खेल जित्नु महत्त्वपूर्ण हुन्छ।"
"म समर्थकहरूप्रति कृतज्ञ छु किनभने उनीहरूले फेरि आर्जेन्टिना फुटबलप्रति कति क्रेजी छ भन्ने देखाइदिएका छन्। आज हामीले पुनः रङ्गशाला खचाखच भरिदियौँ।"
'मेस्सीले विश्वकपमा पहिलो गोल गरे जसरी हर्ष मनाए'
खेलमा के हुन सक्छ भन्ने छनक सुरुमै देखिएको थियो।
खेल सुरु भएको चार मिनेटमै मेस्सी तीव्र गतिमा अगाडि बढे। उनले एल्जिरियाका गोलरक्षक लुका जिदानलाई छक्काउँदै बल पोस्टभित्र प्रहार गरे। तर अफसाइडको झण्डा उठेकाले त्यो गोलले मान्यता पाएन।
आर्जेन्टिनाका समर्थकहरू विश्वकप नै जिते जसरी हर्षोल्लास गर्दै थिए। पत्रकारहरूले गोल अवश्यम्भावी छ भन्ने भावमा एकअर्कालाई हेरे। त्यसो हुनु नै थियो। केही बेर विलम्ब मात्र भयो।
मेस्सीको बूटको तल्लो भाग आइसा मान्डीको कुर्कुच्चामा माथिल्लो भागमा बजारिँदा केही बेर चिन्ताजनक स्थिति सिर्जना भयो। तर उनीमाथि कुनै कारबाही भएन। उनले त्यसको पूरा फाइदा उठाए।
अठार मिनेट भइसकेपछि मेस्सीले फेरि अवसर पाए। उनले २५ यार्डबाट देब्रे खुट्टाले बल गोलपोस्टको दाहिने कुनाको माथिल्लो भागतिर प्रहार गरे।
गोलरक्षक जिदानले दुवै हातले बल छेक्न खोजे। एल्जिरियाका गोलरक्षक फ्रान्सेली फुटबल स्टार जिनेदिन जिदानका छोरा हुन्।
मेस्सीको प्रहार निकै शक्तिशाली थियो र बल पोस्टभित्र छिर्यो। आर्जेन्टिनाका समर्थकहरूले गरेको हर्षोल्लासले क्यान्सस सिटी स्टेडिअम गुञ्जायमान भयो। विश्वकपमा त्यो मेस्सीको १४औँ गोल थियो। उक्त गोल नयाँ इतिहास लेखिने क्रमको थालनी थियो।
"मेस्सी विश्वकपमा आफूले पहिलो गोल गरे जसरी उत्सव मनाउँदै छन्। आफूसँग भएको क्षमताका कारण उनी कहिल्यै बूढा हुँदैनन् जस्तो लाग्छ। उनको खुट्टामा आएको त्यो बल निकै उत्कृष्ट थियो र अपेक्षानुरूप नै उनले त्यसलाई सुन्दर ढङ्गले गोलमा परिणत गरे," एभर्टनका भूतपूर्व मिडफील्डर लिओन ओस्मानले टिप्पणी गरे।
विश्वकपमा पहिलो पटक खेलेको २० वर्षपछि मेस्सी विश्वकपको २७औँ खेलमा सहभागी भए। त्यो आफैँमा नयाँ कीर्तिमान हो। तर मेस्सीलाई आफ्नो उमेरले कुनै बाधा पुर्याएन। पूरै खेलभरि उनले अवसर खोजिरहे। उनी फुर्तिला, गतिवान् र घातक देखिन्थे।
साठी मिनेटपछि मेस्सीले फेरि मौका पाए।
जिदानले गरेको गल्तीका कारण बल मेस्सीको खुट्टामा पुग्यो। संयमित हुँदै मेस्सीले बल पोस्टतिर प्रहार गरे। फेरि गोल भयो।
विश्वकपको इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्ति जर्मनीका मिरोस्लाभ क्लोजले बनाएका थिए। मेस्सी केवल एक गोलले पछाडि थिए। तर उनी विश्वकपमा दुई गोल गर्ने सबैभन्दा पाको बनिसकेका थिए।
अहिलेसम्म उमेरका कारण मेस्सीको क्षमता घटेको छैन। पैँतीस वर्ष पुगेयता मात्रै उनले विश्वकपमा १० गोल गरिसकेका छन्। उक्त सङ्ख्या ह्यारी केन, डिएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डो वा थिएरी अन्रीले विश्वकपमा गरेको कुल गोलभन्दा बढी हो।
ऐतिहासिक क्षण
खेलको ७६औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गरे। वैकल्पिक खेलाडी निको गोन्जालेजले उनलाई मिलाएर बल पास गरेका थिए। गोल गर्नु सम्भवतः उनको भाग्यमै लेखिएको थियो।
अन्ततः मेस्सीले विश्वकपको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीको शीर्ष स्थानमा जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन्।
उनले दुइटै हात माथि उठाए अनि आकाशतिर हेरे। आर्जेन्टिनाका समर्थकहरू हर्षोल्लास गर्दै थिए। मेस्सीका लागि पनि त्यो विशेष क्षण थियो। धन्यवाद ज्ञापन गर्न उनी प्रशंसकहरूतिर फर्किए।
मेस्सीको स्थानमा वैकल्पिक खेलाडी पठाइएपछि मैदानबाहिर निस्कँदै गर्दा दर्शकहरूले उभिएर उनीप्रति सम्मान व्यक्त गरे। क्यान्सस सिटी स्टेडिअममा फेरि उनको नाम गुन्जियो।
खेल सकिएको लामो समयपछिसम्म पनि हजारौँ आर्जेन्टिनी समर्थकहरूले रङ्गशालमै बसेर हर्षोल्लास गरे।
रङ्गशाला नीलो र सेतो रङ्गका जर्सी लगाएका दर्शकहरूले भरिभराउ थियो, ड्रम निरन्तर बज्दै थियो र आर्जेन्टिनी समर्थकहरू ठूलोठूलो आवाज निकालेर हर्षोल्लास गर्दै थिए।
धेरै जनाले मेस्सीको नाम अङ्कित जर्सी लगाएका थिए भने केहीले आफ्नो शरीरमा मेस्सीको मुखाकृति अङ्कित ट्याटू बनाएका थिए। सबै जना मेस्सीकै चर्चा गर्दै थिए।
उनीहरूका लागि मेस्सी केवल एक खेलाडी हैनन्। यहाँ भेला भएका फ्यानहरू उनलाई 'हिरो', 'आर्दश' वा 'हाम्रा छोरा' भन्न रुचाउँछन्।
चार वर्षअघि मेस्सीले आर्जेन्टिनालाई विश्वकप जिताए। मेस्सीले फेरि आफ्नो देशलाई शीर्ष स्थानमा पुर्याउन सक्छन् भन्ने कुरामा कसले शङ्का गर्ला र?
सामान्यतया यस रङ्गशालाका मुख्य आकर्षण बन्ने गरेका क्यान्सस सिटी चीफ्सका क्वाटरब्याक प्याट्रिक महोम्सले पनि मेस्सीको चामत्कारिक खेल मन्त्रमुग्ध हुँदै हेरे।
फुटबलका हस्तीहरू चम्किएको त्यो दिन मेस्सी सर्वोत्कृष्ट देखिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।