तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एनपीएल सीजन ३: चर्चित विदेशी खेलाडीहरू कोको आउँदै छन्
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
नेपाल प्रिमिअर लीग एनपीएल सुरु भएदेखि नै थुप्रै समर्थकहरूलाई यसपालि नयाँ के भन्ने सँगै कोको विदेशी खेलाडी आउने हुन् भन्नेमा चासो हुने गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले एनपीएलका लागि अन्तर्राष्ट्रिय खेलाडीमध्ये हाल टेस्ट खेलिरहेका ४ खेलाडीभन्दा बढीलाई अनुबन्ध गर्न नपाउने नियम लगाएकोले सहभागी ८ टोलीले चाहे जस्तो धेरै जना चर्चित खेलाडी ल्याउन पाएका छैनन्।
यसपालि आइसीसीले उक्त नियम फुकुवा गर्ने सम्भावना रहेको नेपाल क्रिकेट सङ्घले बताइरहेको हुनाले थप विदेशी खेलाडी एनपीएल खेल्न आउने सम्भावना बाँकी नै रहेको बताइन्छ।
यद्यपि अहिले नै केही नाम चलेका खेलाडी अनुबन्ध भइसकेकोले प्रतियोगिताको चर्चा चुलिइरहेको देखिन्छ।
कोको आए ?
'फेस्टिभल अफ हिमालयज' को नारा दिएर सुरु भएको एनपीएलको पहिलो सीजनमा भारतीय राष्ट्रिय टोलीका पूर्वक्रिकेटर शिखर धवन आएपछि प्रतियोगिताले निकै चर्चा बटुल्यो।
त्यसमा न्यूजील्यान्डका जिम्मी निशम र मार्टिन गप्टिल, इङल्यान्डका रवि बोपारा र पाकिस्तानका सोहेल तनवीर पनि थपिएपछि दर्शकले वरिष्ठ खेलाडीहरूको खेल प्रत्यक्ष हेर्न पाएका थिए। निसमले त जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन निर्णायक भूमिका नै खेलेका थिए।
कीर्तिपुर रङ्गशालामा व्यवस्थित सीट र फ्लड लाइट थपिएको र विदेशी खेलाडीको रौनकले एनपीएल सीजन २ को चर्चा झनै चुलियो।
दोस्रो सीजनमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र बेन पार्नेल तथा अस्ट्रेलियाका क्रिस लिन जस्ता चर्चित खेलाडीले कीर्तिपुर क्रिकेट मैदानमा आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
सीजन ३ मा को को ?
अब एनपीएल सीजन ३ मा आउने चर्चित खेलाडीहरू को को? अस्ट्रेलियाका डेभिड वार्नर, इङल्यान्डका मोइन अलि, बाङ्ग्लादेशका शकिव अल हसन, जिम्बाब्वेका सिकन्दर राजा र श्रीलङ्काका चरिथ अशलंकाको आगमन निश्चित भइसकेको छ। उनीहरूको आगमनले प्रतियोगिताप्रतिको उत्साह थपिने जानकारहरू बताउँछन्।
डेभिड वार्नर, अस्ट्रेलिया
काठमाण्डू गोर्खाजले भित्र्याएका डेभिड वार्नर सीजन ३ को ठूलो नाममध्ये एक हो।
अस्ट्रेलियाले आईसीसी टी–२० र आईसीसी टेस्ट विश्वकप जित्दा वार्नरको भूमिका महत्त्वपूर्ण थियो। उनले दुई पटक आईसीसी क्रिकेट विश्वकपको ट्रफी पनि चुमिसकेका छन्।
वार्नरले विश्वमा चलेका १० फ्रेन्चाईज क्रिकेट खेलिसकेका छन्। 'बुल' उपनाम पाएका वार्नरको छवि आक्रामक र विस्फोटक छ। आइपीएलका सर्वाधिक रनकर्तालाई दिइने 'अरेन्ज क्याप' उनले तीन पटक जितिसकेका छन्।
मोइन अलि, इङ्ल्यान्ड
इङ्ल्याण्डका मोइन अलि विश्व क्रिकेटमा चिनिएका अर्को ठूलो नाम हो। सन् २०१९ मा एक दिवसीय र २०२२ मा टी २० विश्वकप इङ्ल्यान्डले जित्दा उनी टोलीका मुख्य खेलाडी थिए। पूर्व राष्ट्रिय कप्तान एवम् अलराउन्डर उनले आइसीसीका तीन वटै संरचनामा इङ्ल्यान्डको कप्तानी गरिसकेका छन्। अलिले सन् २०२१ र २०२३ मा आइपीएल उपाधि जितेका थिए ।
मोइनलाई इङ्ल्यान्डको टी–२० क्रिकेटको गोल्डेन जेनेरेशनका एक उत्पादन मानिन्छ। अफ स्पिनमा उनी विश्वकै उत्कृष्ट खेलाडीमा गनिन्छन्।
शाकिब अल हसन, बाङलादेश
कुनै समय विश्व फ्रेन्चाईज क्रिकेटमा एक छत्र प्रभाव जमाएका भनेर चिनिने बाङ्ग्लादेशका पूर्वअलराउन्डर शाकिब अल हसन यसपालि पोखरा एभेन्जर्समा देखिनेछन्।
विश्व फ्रेन्चाईज क्रिकेटको स्वाद चाखेका सकिव बाङ्ग्लादेशका चर्चित खेलाडीमा पर्छन्। सकिबले पनि विश्वका विभिन्न १० फ्रेन्चाईज लीग खेलिसकेका छन् । राष्ट्रिय टीमको करिअरमा उनलाई टीमका हिरो र मुख्य आशाको रूपमा लिइन्थ्यो ।
सिकन्दर राजा, जिम्बाब्वे
टेस्ट राष्ट्र जिम्बाब्वेका कप्तान सिकन्दर टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा अहिले दोस्रो स्थानमा छन्। उमेरले ४० पुगे पनि उनी अनुभवी र फ्रेन्चाईज क्रिकेटमा स्थापित भइसकेका क्रिकेटर हुन् ।
अफ स्पिनमा बलियो पकड बनाएका उनले टी २० मा ११४ विकेट लिइसकेका छन् । १४४ टी २० खेलिसकेका सिकन्दरलाई चितवन राइनोजले भित्र्याएको हो।
चरिथ अशलंका, श्रीलङ्का
एनपीएल सीजन ३ मा श्रीलङ्काका चरिथ अशलंका पनि चर्चित नयाँ अनुहार हुने छन्। विराटनगर किंग्सले भित्र्याएका अशलंका क्यारिबियन प्रिमिअर लीग, लङ्का प्रिमिअर लीग, पाकिस्तान सुपर लीग जस्ता प्रतिष्ठित प्रतियोगिता खेलिसकेका खेलाडी हुन् ।
यी खेलाडीहरू बाहेक प्रतियोगितामा पुराना चलेका कैयौँ खेलाडीहरूलाई पनि सीजन ३ मा देख्न पाइने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।