तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकप फुटबलमा सहभागी हुने खेलाडीहरू फिफाका कारण जोखिममा - वैज्ञानिकहरू
- Author, केटी गोर्नल
- Role, बीबीसी स्पोर्ट संवाददाता
- Published
- पढ्ने समय: ५ मिनेट
विश्वका अग्रणी वैज्ञानिकहरूको एउटा समूहले सन् २०२६ को विश्वकपमा खेलाडीहरूलाई गर्मीबाट जोगाउन फिफाले अहिले अपनाएका उपायहरू पर्याप्त नरहेको बताएको छ। त्यसबाट खेलाडीहरू गम्भीर जोखिममा पर्ने चेतावनी सो समूहले दिएको छ।
स्वास्थ्यका अन्तर्राष्ट्रिय विज्ञहरूले एउटा खुला पत्र लेख्दै फुटबलको नियामक निकायले तयार गरेको निर्देशिका वैज्ञानिक नरहेको र त्यसको "औचित्य पुष्टि नहुने" उल्लेख गरेका छन्। उनीहरूले गर्मीको जोखिमबाट खेलाडीहरूलाई राम्रो सुरक्षा, लामो अवधिको 'कुलिङ ब्रेक' अनि चरम अवस्थामा खेल पछि सार्नेबारे स्पष्ट मापदण्ड बनाउन माग गरेका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोमा यो बर्खायाममा हुने विश्वकप प्रतियोगितामा गर्मी एउटा प्रमुख समस्या बन्ने ठानिएको छ। अनुसन्धाताहरूले १६ मध्ये १४ वटा रङ्गशालाको तापक्रमले खतरनाक तह पार गर्ने चेतावनी दिएका छन्।
दक्षिण अमेरिका र उत्तरी मेक्सिकोका केही भूभागमा दिउँसो तापक्रम ३५ डिग्री सेल्सिअसजति हुन्छ। तर गर्मी याममा तापक्रम बढेर ४० डिग्रीजति पुग्छ।
तापक्रम, आर्द्रता, हावाको गति र चर्को घामजस्ता कुरा प्रतिकूल भए विश्वकप आयोजना हुने सहरमा खेलाडीहरूलाई चर्को गर्मी र 'फिजिकल हीट स्ट्रेस' महसुस हुने उच्च जोखिम छ।
[गर्मी स्थानमा रहेर विशेष गरी शारीरिक कार्य गर्दा महसुस हुने असहजता र शारीरिक दबावलाई 'फिजिकल हीट स्ट्रेस' भनिन्छ।]
फिफाले आफू खेलाडी, रेफ्री, समर्थक, स्वयंसेवक र कर्मचारीहरूको स्वास्थ्य र सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ।
प्रतियोगिताको योजनामै जलवायुसँग सम्बन्धित जोखिम पनि मूल्याङ्कन गरिएको फिफाको दाबी छ।
गर्मीबाट जोगाउने फिफाको उपाय कस्तो
फिफाले "खेलाडीहरूको हितमा जनाएको प्रतिबद्धतामा" जस्तोसुकै मौसम भए पनि मध्यान्तर अगाडि र पछाडि दुवै हाफमा तीन-मिनेट 'कूलिङ ब्रेक' लिनैपर्ने जनाएको छ।
खुला आकाशमुनि हुने सबै खेलमा प्राविधिक कर्मचारी र वैकल्पिक खेलाडीहरूलाई 'जलवायु-नियन्त्रित' कक्षहरू उपलब्ध गराइने छ।
गर्मीको सन्दर्भमा फिफाले खेलकुदका लागि विशिष्ट मापदण्ड प्रयोग गर्छ। 'वेट बल्ब ग्लोब टेम्परेचर' (डल्ब्यूबीजीटी) भनिने विधिमा शरीरमा पर्ने 'फिजिकल हीट स्ट्रेस' जाँचिन्छ अनि गर्मी र आर्द्रतालाई एकैठाउँ राखेर हेरिन्छ।
डब्ल्यूबीजीटी २८ डिग्री सेल्सिअस नाघेको अवस्थामा 'हीट स्ट्रेस' खेलाडीहरूका लागि चिन्ताको विषय हो।
फिफाको 'आपत्कालीन हेरचाह पुस्तिका'अनुसार डब्लूबीजीटी ३२ सेल्सिअस वा त्यसको छेउछाउ पुगेको अवस्थामा खेलका आयोजकले "गर्मीका कारण हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्या रोक्न अपनाउनुपर्ने पूर्वसावधानीमा" सहमति गर्ने उल्लेख छ।
फिफाले दर्शक तथा समर्थकहरूका लागि पनि मापदण्ड बनाएको छ।
उनीहरूलाई तापक्रम उच्च हुनसक्ने पूर्वानुमानबारे सूचित गर्नुपर्छ। दर्शकहरूले बोतलबन्द पानी रङ्गशालामा लैजान अनुमति पाउने छन्।
साथै दर्शकदीर्घालाई अझ शीतल बनाउने उपाय अवलम्बन गरिन्छ। त्यसका लागि घाम छेकिने ठाउँ, 'मिस्टिङ सिस्टम' अर्थात् पानीका मसिना कण निकाल्ने फोहरा, 'कूलिङ बस' र पानी वितरण लगायतका योजना अघि सारिएको छ।
वैज्ञानिकहरू के होओस् भन्ने चहान्छन्
यूके, अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका वरिष्ठ प्राज्ञसहित २० विज्ञहरूले फिफालाई पठाएको खुला पत्रमा हस्ताक्षर गरेका छन्।
उनीहरूले फिफाको अहिलेको शैलीमा व्यापक परिवर्तनका लागि गरेका केही माग यस्ता छन् -
- २८ सेल्सिअस डब्ल्यूबीजीटीभन्दा धेरै गर्मी भए खेल स्थगन गर्न वा पछि सार्न
- कम्तीमा ६ मिनेट लामो 'कूलिङ' विश्राम
- खेलाडीहरूका लागि परिस्कृत शीतल संरचनाहरू
- ताजा वैज्ञानिक प्रमाणका आधारमा मापदण्डको नियमित रूपमा अद्यावधिक हुनुपर्ने
उनीहरूले विश्वभरिका खेलाडीहरूको संस्था 'फिफ्प्रो' ले प्रस्ताव गरेका मापदण्डहरू लागु गर्न पनि फिफासँग माग गरेका छन्।
'खेलाडीको स्वास्थ्यमा खेलबाड'
वैज्ञानिकहरूका तर्फबाट फिफालाई पत्र पठाउन संयोजन गरेका 'न्यू वेदर इन्स्टिट्यूट'का निर्देशक एन्ड्रू सिम्सले बीबीसी स्पोर्टसँग भने, "खेलाडीहरूको सुरक्षा महत्त्वपूर्ण चासोको विषय हो। किनभने मानिसहरूलाई धेरै गर्मी भयो भने अवस्था निकै छिटो बिग्रिन सक्छ।"
"फिफाले खेलाडीहरूको स्वास्थ्य र सुरक्षामा खेलबाड गरेको चिन्ता हामीलाई छ।"
कनेटिकट विश्वविद्यालयका प्राध्यापक डग्लस कासाले पनि उक पत्रमा हस्ताक्षर गरेका छन्। उनी फिफाको अहिलेको निर्देशिकाका अधिकांश भाग उपयुक्त नभएको दाबी गर्छन्।
"खेलको प्रत्येक हाफमा पानी पिउने विश्राम तीन मिनेटभन्दा लामो हुनुपर्छ। एक पटकको विश्राम कम्तीमा पाँच मिनेट हुनुपर्छ र छ मिनेट राख्दा अझै राम्रो हुन्छ।"
"हामीलाई आशा छ यो खुला पत्रपछि फिफा गर्मीसम्बन्धी आफ्नो निर्देशिका अद्यावधिक गर्न तयार हुन्छ।"
विश्वकप २०२६ मा किन चिन्ता
सन् २०२६ को विश्वकपमा चरम मौसम उत्पन्न हुन सक्ने ठानिएको छ। गर्मी याममा अमेरिका, क्यानडा र मेक्सिकोमा उच्च तापक्रम, चट्याङ र वनडढेलोका कारण फैलिने दूषित वायु देखा पर्छन्।
वर्ल्ड वेदर एट्रिब्यूशन 'डब्ल्यूडब्ल्यूए'ले यही महादेशमा सन् १९९४ मा सम्पन्न विश्वकपका बेलाभन्दा यो पटक खेलाडी र समर्थकहरूले गर्मी र उच्च आर्द्रता खेप्नुपर्ने विश्लेषण गरेको छ।
वैज्ञानिकहरूले एकचौथाइ खेलहरू २६ सेल्सिअस डब्ल्यूबीजीटीभन्दा उच्च तापक्रमका समयमा हुन सक्ने उल्लेख गरेका छन्। करिब पाँच वटा खेलहरू २८ सेल्सिअस डब्ल्यूबीजीटीमा हुने आकलन छ।
त्यो भनेको सुक्खा गर्मीको ३८ सेल्सिअस र उच्च आर्द्रताको समयमा ३० सेल्सिअस बराबर हो। खेलाडीहरूको संस्था 'फिफ्प्रो' ले यो तहको गर्मीलाई खेल्नका लागि असुरक्षित मान्ने गरेको छ।
डब्ल्यूडब्ल्यूएले जलवायु परिवर्तनका कारण सन् १९९४ को तुलनामा चरम मौसमी अवस्थाको जोखिम दोबर भएको जनाएको छ।
फिफा के भन्छ
वैज्ञानिकहरूले पठाएको पत्रमा गरिएका दाबीहरूबारे फिफाले सोझै प्रतिक्रिया दिन अस्वीकर गरेको छ। तर उसले आसन्न प्रतियोगितामा "गर्मी रोकथाम गर्ने तहगत मोडल' प्रयोग गर्ने र तात्कालिक अवस्था हेरेर उपायहरू अवलम्बन गरिने जनाएको छ।
फिफाका एक प्रवक्ताका अनुसार पूरै प्रतियोगिताभरि केन्द्र र खेल आयोजना हुने सहरहरूमा मौसमसम्बन्धी विशेष सहयोग उपलब्ध हुने छ। अनि डब्ल्यूबीजीटी र 'हीट इन्डेक्स' निगरानी गरी त्यसका आधारमा निर्णय लिइने छ।
उनका अनुसार जलवायुलाई ध्यानमा राखेर खेलतालिका बनाइएको छ, खेल आरम्भ हुने खेल पनि त्यसअनुसार निर्धारण गरिएको छ। अत्यधिक गर्मी हुने समयमा सकेसम्म थोरै खेल राख्ने र गर्मी बढी हुने स्थानमा छानो भएका रङ्गशालामा खेला राखिएको छ।
फिफाका अनुसार यो तालिकाले यात्राका लागि लाग्ने समय घटाउने र स्थानविशेषमा हुने गर्मीको जोखिमको मूल्याङ्कनका आधारमा खेलाडीहरूलाई विश्रामका लागि यथाशक्य बढी समय उपलब्ध गराउने लक्ष्य राखेको छ।
फिफाले वास्तविक समयमा निरन्तर परिस्थितिको अनुगमन गर्ने र आवश्यक परेमा वैकल्पिक उपाय अवलम्बन गरिने बताएको छ। प्रतियोगितालाई "सुरक्षित" बनाउन आफूले आयोजक देशका अधिकारीहरू र चिकित्सा क्षेत्रका विशेषज्ञहरूसँग मिलेर काम गरिरहेको दाबी पनि फिफाले गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।