'करिअर'भर एउटै क्लबमा रहेका स्पेनका ओझेलमा परेका नायक

    • Author, गेरी रोज
    • Role, बीबीसी स्पोर्टस् जर्नलिस्ट
    • Reporting from, लस एन्जलस स्टेडियम
  • Published
  • पढ्ने समय: ५ मिनेट

यो विश्वकपमा स्पेनका हरेक खेलअघि समर्थकहरूले लगाएका जर्सीहरूका पछाडि सबैभन्दा धेरै जुन नाम देखिने गरेको छ, त्यो हो लमिन यमाल।

लस एन्जलिस रङ्गशालामा बिहीबार अस्ट्रियाविरुद्धको अन्तिम ३२ को खेलअघि मैदानमा पुग्दा क्यामेराको मुख्य केन्द्रमा उनै थिए। खेलाडीहरू मैदानमा प्रवेश गर्दा पनि सबैको ध्यान उनीतिर नै थियो।

तर यो स्पेनी टोलीको सबैभन्दा ठूलो नाम नभए पनि अहिलेसम्म उम्दा प्रदर्शन गरिरहेका खेलाडी हुन् मिकेल ओयार्थबाल।

रेआल सोथ्येडाडका यी २९ वर्षीय स्ट्राइकरले दुई गोल गरेपछि साविक युरोपिअन च्याम्पियन स्पेनले अस्ट्रियालाई ३-० ले सहज रूपमा पराजित गर्दै १६ वर्षयताकै पहिलो नकआउट जित हासिल गर्‍यो र अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।

"सबैलाई थाहा छ, यमाल टोलीका नेता हुन् र सबैको ध्यान उनीमाथि नै केन्द्रित हुन्छ," स्पेनी फुटबल विश्लेषक गिल्येम बलगेले बीबीसी रेडिओ फाइभ लाइभसँग भने, "मिकेल ओयार्थबाल अदृश्य मानिसजस्तै छन्। आफूले खेलेका हरेक फाइनलमा उनले गोल गरेका छन्।"

"उनी हामीसँग भएका सबैभन्दा बुद्धिमान खेलाडीमध्ये एक हुन् र कुनै पनि खेल जिताउन सक्ने क्षमता राख्छन्।"

'पछिल्ला दुई सिजन उनको करिअरकै उत्कृष्ट'

अन्तर्राष्ट्रिय करिअर सुरु गरेको एक दशक बित्दा पनि ओयार्थबालले धेरैजसो समय चर्चाको केन्द्र बन्ने अवसर पाएनन्।

१९ वर्षको उमेरमा स्पेनका लागि 'डेब्यु' गरेका उनी बायाँ घुँडाको लिगामेन्ट चोटग्रस्त भएपछि सन् २०२२ को कतार विश्वकप गुमाउन बाध्य भएका थिए।

तर चार वर्षपछि विश्वकपमा पहिलो पटक खेल्नुअगावै उनी जीवनकै उत्कृष्ट तन्दुरुस्तीमा थिए। उनले अन्तर्राष्ट्रिय फुटबलका आफ्ना पछिल्ला १२ खेलमा १२ गोल गरेका थिए।

अस्ट्रियाविरुद्धको दुई गोलपछि उनले पछिल्ला १६ सुरुआती खेलमा १७ गोल पुर्‍याएका छन्, जसमा यो प्रतियोगिताका चार गोल पनि समावेश छन्।

"निको भएर फर्किएयता बितेका दुई सिजन उनको करिअरकै उत्कृष्ट भएका छन्। विश्वकपमा चार गोल– नि:सन्देह, उनी हाम्रा सर्वाधिक निर्णायक खेलाडी हुन्।"

युरो २०१२ मा स्पेनले चल्तीका स्ट्राइकरबिनै प्रतियोगिता जितेको थियो। तर अहिले ओयार्थबाल टोलीको आक्रमक प्रस्तुतिको मुख्य केन्द्र बनेका छन्, जुन अस्ट्रियाविरुद्धका दुई उत्कृष्ट गोलले पनि देखाउँछ।

"कहिलेकाँही धेरैले स्पेनको सेन्टर-फरवार्डबारे शङ्का गर्थे, तर ओयार्थबालले त्यो जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरिरहेका छन्," स्पेनका पूर्व डिफेन्डर थेसार अथपिलीक्वेटले बीबीसी वनसँग भने।

"केही वर्षअघि उनी दायाँतर्फ बढी खेल्थे, तर अहिले उनी माझको भूमिकामा सरेका छन्।"

गत वर्षको सुरुआतदेखि अन्तर्राष्ट्रिय फुटबलमा ओयार्थबालभन्दा धेरै गोल गर्ने युरोपेली खेलाडी केवल नर्वेका स्ट्राइकर एर्लिङ होलान मात्र हुन्। उनले २२ गोल गरेका छन्।

ओयार्थबाल सन् १९८६ विश्वकपको अन्तिम १६ मा डेनमार्कविरुद्ध एमिलियो बुट्रागेन्योले गोल गरेको घटनापछि विश्वकपको नकआउट खेलमा दुई गोल गर्ने पहिलो स्पेनी खेलाडी पनि बनेका छन्।

आँकडाहरू आकर्षक छन् तर यसको मतलब उनी यमालको चमकमा फिका भएका छन् भन्ने होइन। बरु १८ वर्षीय यमालले ओयार्थबाललाई चम्किन सघाएका छन्।

बार्सिलोनाका फरवार्ड यमालको बल नियन्त्रण र ड्रिब्लिङले विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्छ। त्यसले गर्दा अस्ट्रियाका डिफेन्डरहरू उनीतर्फ तानिए, जसले ओयार्थबाललाई अधिक रिक्त स्थान उपलब्ध गरायो।

जर्मनीका पूर्व मिडफिल्डर टोमास हिट्सल्जबरगरले भने, "जब तपाईँको टोलीमा लामिन यमालजस्तो सबैको ध्यान आफूतर्फ खिच्ने खेलाडी हुन्छ, स्वाभाविक रूपमा तपाईँलाई बढी ठाउँ मिल्छ।"

"ओयार्थबालले त्यही ठाउँको सदुपयोग गर्छन्, बल प्राप्त गर्छन् र गोल गर्छन्।"

हकीले सिकायो 'गोलको पहिचान गर्न'

आधुनिक फुटबलमा दुर्लभ मानिने एउटा विशेषता पनि ओयार्थबालसँग छ, उनले आफ्नो सम्पूर्ण व्यावसायिक करिअर एउटै क्लब रेआल सोथ्येडाडबाट खेलेका छन्।

गएको सिजनमा उनले क्लबका लागि लिगमा सर्वाधिक १५ गोल गरे र राष्ट्रिय फुटबल टिमका लागि पनि सर्वाधिक 'फर्म' मा रहिरहे। त्यो उनको करिअरकै उत्कृष्ट प्रदर्शन थियो।

गोल गर्ने आफ्नो भोक बाल्यकालमा हकी खेल्दादेखि नै सुरु भएको उनले हालै बताएका छन्।

"म पहिले हकी खेल्थेँ र धेरै गोल गर्थेँ। मेरो दिमागमा सधैँ एउटा कुरा आउँथ्यो– 'एउटा मौका चुक्यो भने पनि केही छैन, अर्को मौका आउँछ।"

"म गोलको छनक पाउन सक्थेँ र त्यो आवाज सधैँ मेरो दिमागमा रहन्थ्यो।"

मैदानको मध्यभागमा अधिक खेल्नु अहिले उनलाई अझ बढी अनुकूल भएको छ।

"अन्य स्थानका खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेको महसुस गर्न बलसँग धेरै समय बिताउनुपर्छ वा खेलमा अधिक संलग्न हुनुपर्छ। तर यदि तपाईँ अगाडिको भागमा र त्यसमा पनि विशेषगरी मजस्तो स्ट्राइकर हुनुहुन्छ भने सबै कुरा केही निर्णायक क्षणमा निर्भर हुन्छ," उनले थपे।

"हामीले बल कहाँ खस्न सक्छ भन्ने अनुमान गर्नुपर्छ, कहाँ उभिँदा गोल गर्ने अवसर मिल्छ भन्ने बुझ्नुपर्छ।"

'स्पेनले अझ गति बढाउन सक्छ'

ओयार्थबाल मात्रै स्पेन विश्वकप जित्ने बलियो दाबेदार ठानिनुका कारण होइनन्।

युरो-२०२४ को उपाधिपछि अब विश्वकप पनि जित्ने लक्ष्य राखेको स्पेनले अस्ट्रियालाई हराउँदै आफ्नो पछिल्लो अपराजित श्रृङ्खला ३४ खेलसम्म पुर्‍याएको छ।

क्वार्टरफाइनलसम्म पुगेमा ३५ अपराजित खेलको आफ्नै किर्तिमानको बराबरी हुनेछ।

स्पेनले प्रतियोगिताको सुरुआत नवप्रवेशी केप भर्डसँग गोलरहित बराबरीबाट गरेको थियो। तर त्यसयता टोली लगातार बलियो बन्दै गएको छ।

चार खेलमा आठ गोल गरेको स्पेनले अहिलेसम्म एक गोल पनि खाएको छैन। अब उनीहरूको सामना पोर्चुगलसँग हुनेछ।

"मलाई लाग्छ स्पेनले अझ स्तर उठाउन सक्छ," इङ्ल्यान्डका पूर्व स्ट्राइकर डिओन डब्लिनले बीबीसी रेडिओ फाइभ लाइभसँग भने।

"अस्ट्रियाविरुद्ध उनीहरू तेस्रो वा चौथो गिअरमै सहज थिए किनभने विपक्षीले खास चुनौती दिन सक्दैनन् भन्ने उनीहरू जान्दथे।"

"मुख्य कुरा यही हो। जब उनीहरूले फ्रान्स, पोर्चुगल वा अन्य बलिया टोलीसँग खेल्नेछन्, फेरि आफ्नो स्तर माथि उठाउनेछन्।"

"उनीहरूले अझ धेरै देखाउनै बाँकी छ र यही कुरा प्रतियोगिताका बाँकी टोलीहरूका लागि सबैभन्दा डर लाग्दो पक्ष हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।