एमालेका देवराज घिमिरे नयाँ सभामुख , उनीसँग कति हुन्छ अधिकार

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ३ मिनेट

नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सत्तारूढ गठबन्धनका उम्मेदवार घिमिरे बिहीवार प्रतिनिधिसभाको बहुमतबाट सभामुख छानिएका हुन्।

बैठक सञ्चालन गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे सभामुख निर्वाचित भएको घोषणा गरे।

बैठकमा २६८ सदस्य उपस्थित थिए।

घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको

  • पक्षमाः १६७ मत
  • विपक्षमाः १०० मत
  • तटस्थः १ मत

यसअघि गठबन्धन दलहरूबीच प्रधानमन्त्री माओवादीबाट अनि सभामुख र राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको नेताहरूले बताएका थिए।

घिमिरेलाई सभामुख बनाउने पूर्वसभामुख सुवास नेम्वाङको प्रस्तावमा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले समर्थन गरेका थिए।

यसअघि गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार अघि सारेको हो।

कांग्रेस उम्मेदवार न्यौपानेको पक्षमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले समर्थन जनाएका थिए।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमताट पारित भएकाले अर्की उम्मेदवार ईश्वरीदेवी न्यौपानेका लागि परेको प्रस्तावमा मतदान गर्नुनपर्ने जबराले बताए।

“यस सभाकी माननीय सदस्य ईश्वरीदेवी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव, प्रतिनिधिसभा नियमावली २०७५ नियम ७ को उपनियम ५ बमोजिम निर्णयात्मक प्रस्तुत गर्नुनपर्ने जानकारी गराउँछु,” राणाले भने।

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माको उक्त प्रस्तावमा सांसद प्रकाश ज्वालाको समर्थन रहेको थियो।

प्रतिनिधिसभाको बैठक आगामी शनिवार माघ ७ गते दिउँसो १ सम्मका लागि स्थगित गरिएको छ।

सो दिन उपसभामुख पदका लागि निर्वाचन हुनेछ।

सभामुख निर्वाचित देवराज घिमिरे को हुन्

राष्ट्रिय राजनीतिमा धेरै चर्चित नाम नभए पनि घिमिरे पुराना कम्युनिस्ट नेता हुन्।

उनी नेकपा एमालेको स्थायी समिति सदस्य छन्।

पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको बैठकमा सभामुखमा प्रस्ताव गर्दै घिमिरेलाई “लामो समय भूमिगतकालदेखि लिएर निरङ्कुशता विरुद्धका आन्दोलनमा खटिएका” नेताको रूपमा परिचय गराए।

घिमिरे एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

सभामुखको अधिकार कति हुन्छ

प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुखको भूमिका सदनमा मात्रै सीमित छैन।

संविधानअनुसार विभिन्न संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूमा सिफारिस गर्ने संवैधानिक परिषद्को पनि सदस्यमा पनि सभामुख रहने व्यवस्था छ।

सभामुखले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरू नियुक्तिको सिफारिस गर्ने समितिको पनि नेतृत्व गर्छन्।

हरेक प्रतिनिधिसभा बैठकको कार्यसूची बनाउने, संसद्‌मा दर्ता भएका प्रस्तावहरू अघि बढाउने वा नबढाउने लगायतका काम कारबाहीमा पनि सभामुखलाई भूमिका दिइएको छ।

पूर्वसभामुख तारानाथ रानाभाट सभामुखसँग असीमित अधिकार रहने बताउँछन्।

“सभामुखसँग साँच्चिकै असीमित अधिकार हुन्छ। संसद्‌बाट सरकारलाई निर्देशन दिने अधिकारसँगै जनताका पक्षमा काम गर्ने पनि ठाउँ हुन्छ,” उनले भने।

सभामुखको भूमिका कस्तो

यसअघि सभामुख रहेका माओवादीका अग्नि सापकोटामाथि एमालेले निष्कासन गरेका १४ जना सांसदलाई “पदमुक्त हुनबाट जोगाएको” आरोप एमालेले लगाएको थियो।

एमालेले सांसदहरू निष्कासन गरेको पत्रबारे सापकोटाले सापकोटाले तत्काल कुनै निर्णय लिएका थिएनन् र निर्वाचन आयोगले माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि त्यसमा “कारबाही गरिरहनुपर्ने अवस्था नरहेको” उल्लेख गरेका थिए।

सापकोटाको उक्त निर्णय विवादित बनेको थियो र नेकपा एमालेले सर्वोच्चमा चुनौती दिएको थियो।

पूर्वसभामुख रानाभाट सभामुखले आफ्नो भूमिका विवादित बनाउन नहुने बताउँछन्।

“सभामुखले संविधान र कानुन मात्रै नभएर नैतिकता र इमानदारीको पनि पालना गर्नुपर्छ,” उनले भने।

सभामुख सङ्घीय संसद् सचिवालयको व्यवस्थापन समितिको पनि प्रमुख हुन्छन्।

सभामुखले कस्तो सुविधा पाउँछन्

सभामुखको मासिक पारिश्रमिक ६७,३२० रुपैयाँ तोकिएको छ।

त्यसबाहेक प्रतिमहिना थप ३७,००० रुपैयाँ खर्च विभिन्न शीर्षकमा सभामुखले पाउँछन्।

सरकारले सभामुखका लागि लैनचौरमा आवासको व्यवस्था गरेको छ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवारी दर्ता शुक्रवार र निर्वाचन शनिवारका लागि तय गरिएको छ। सभामुख र उपसभामुख फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण अब उपसभामुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउँछन्।

सभामुखको निर्वाचन नहुँदासम्म प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका पशुपति शम्शेर जबराले बैठकको अध्यक्षता गर्दै आएका थिए।

प्रतिनिधिसभा निर्वाचनको परिणाम