तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'ब्लूटूथिङ': के सुईबाट रगत साटफेर गर्ने विधिले एचआईभी/एड्स सङ्कट बढाउँछ?
- Author, रेबेका थोर्न
- Role, वर्ल्ड सर्भिस ग्लोबल हेल्थ
- Published
- पढ्ने समय: ६ मिनेट
तीव्र गतिमा एचआइभी महामारीको केन्द्र बन्न पुगेको फिजीमा अघिल्लो हप्ता राष्ट्रिय सङ्कटकाल घोषणा गरियो।
यसले विश्वव्यापी रूपमा प्रगति भए पनि एचआईभी र एड्स कतिपय क्षेत्रमा ठूलो जोखिम बनेको र महामारी तुरुन्तै नियन्त्रणबाहिर जानसक्ने देखाएको छ।
उक्त प्रशान्त टापुहरूको समूहमा प्रत्येक ६० वयस्कमध्ये एकजना अहिले एचआईभीसहित बाँचिरहेका छन्।
पाँच वर्षअघि प्रत्येक १६७ जनामध्ये एक जनामा एचआइभी थियो। करिब ४ करोड १० लाख मानिसहरूमा एचआईभी रहेको हुनसक्ने यूएनएड्सको एउटा विश्वव्यापी आँकडा छ।
'ब्लूटूथिङ' पनि भन्ने गरिएको कतिपय लागु औषध प्रयोगकर्ताहरूले सुई आदानप्रदान गर्ने गरेका चिन्ताजनक अभ्यासले पछिल्लो सङ्कटलाई थप गहिरो बनाएको छ।
यसमा लागु औषध लिएका व्यक्तिबाट रगत निकालिन्छ र सुईमार्फत् अर्को व्यक्तिलाई दिइन्छ। त्यसो गर्दा अर्को व्यक्तिले लागु औषध असर महसुस गर्न सक्छन्। प्रयोगकर्ताहरूले यसलाई पैसा बचाउने र नसाबाट औषधि दिएर अझ असरदार बनाउने उपायका रूपमा लिन्छन्।
यो अभ्यास अफ्रिकाका लेसोथो, जिम्बावे र दक्षिण अफ्रिकामा देखिएको छ। यो कति व्यापक छ र यसलाई फिजीको सङ्कटसँग जोडेर हेर्नु कति उपयुक्त छ भन्ने विषयलाई लिएर विवाद चल्दै आएको छ। तर सामुदायिक कार्यकर्ताहरूले यो वास्तविक समस्या बनेको भन्दै विश्वभरका सरकार र स्वास्थ्य निकायहरूलाई यसलाई गम्भीर रूपमा लिन अनुरोध गरिरहेका छन्।
"साँच्चिकै केही गर्नुअघि हामीले वास्तवमै कति वटा जीवन गुमाउनुपर्ने हो," ड्रग फ्री फिजी नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशक कलेसी भोलाटाबु भन्छन्।
ब्लूटूथिङ किन जोखिमपूर्ण छ?
एचआईभी रगतबाट सर्ने रोग हो त्यही भएर नशालु औषधिबाट सङ्क्रमित रगत सुईमार्फत् आदानप्रदान गर्दा उनीहरूले आफूहरूलाई समेत उक्त भाइरस सर्ने जोखिममा पारिरहेका हुन्छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले उक्त अभ्यासले हेपाटाइटिस बी र सी सहित कतिपय गम्भीर ब्याक्टेरियाको सङ्क्रमणको जोखिम उच्च बनाउने जनाएको छ।
फिजीमा दुर्व्यसनीहरूका लागि सङ्क्रमणरहित सुई तथा अन्य सामग्रीसम्मको पहुँच कठिन हुन सक्ने भएकाले सुई साटासाट आम अभ्यास बनिसकेको छ। तर 'ब्लूटूथिङको'को प्रचलन देखिएसँगै यो खतरनाक अभ्यास पछाडि गरिबी एउटा प्रमुख कारण रहेको सङ्केत देखिएको छ।
भोलाटाबु पहिलो पटक त्यस्तो भइरहेको देख्दा आफू स्तब्ध भएको बताउँछिन्।
"त्यहाँ त्यो सुई लिनका लागि पाँच वा छ जना व्यक्तिहरू उभिइरहेका थिए," उनले बीबीसीसँग भनिन्।
"उनीहरूले थप पाँच अन्य मानिसहरूलाई सङ्क्रमित बनाउन सक्छन्। जम्मा पाँच जनाबाट २५ देखि ३० जनासम्म सङ्क्रमित हुन सक्छन्। यो यति सजिलै फैलन सक्छ।"
सन् २०२४ मा फिजीको स्वास्थ्य मन्त्रालयले देशमा एचआईभी बढ्नुको एउटा मूल कारणका रूपमा उक्त अभ्यासलाई लिएको थियो।
ज्यानुअरीमा उसले एचआईभीको प्रकोपलाई राष्ट्रिय महामारी घोषणा गर्यो र प्रतिकार्यका लागि सिरिन्ज र सुई कार्यक्रम सञ्चालन गर्ने बतायो।
डब्ल्यूएचओले गएको वर्षको डिसेम्बरमा गरेको द्रुत मूल्याङ्कनपछि फिजीमा 'ब्लूटूथिङ' आम प्रचलनमा रहेको सङ्केत गर्ने थोरै प्रमाण रहेका उल्लेख गरेको थियो।
उसले सुईमार्फत् लागु औषध सेवन गर्ने ५६ जनाको अन्तरवार्ता गरेको थियो जसमा जम्मा दुई जनाले मात्रै आफूहरूले 'ब्लूटूथिङ' गर्ने गरेको बताएका थिए। चार जनाले चाहिँ आफूले प्रत्यक्ष रूपमा त्यस्तो देखेको उल्लेख गरेका थिए।
तर भोलाटाबु आफैँले नदेखेसम्म आफूले पनि कसैले यस्तो गरिरहेको भनेर पत्यार नलागेको बताउँछिन्।
उनी सुईमार्फत् लिइने लागुऔषधसँग जोडिएको सामाजिक कलङ्क र लज्जाका कारण फिजीको सरकार यो समस्या सम्बोधन गर्न हिचकिचाइरहेको ठान्छिन्।
"मलाई यो विपत्ति आइरहेको थाहा थियो," उनले भनिन्। "हामी अहिले जुन अवस्थामा छौँ, यो टार्नुपर्थ्यो।"
विश्वमा एचआईभीको अवस्था
एचआईभी एउटा भाइरस हो जसले शरीरको रोग प्रतिरोधी प्रणालीमा रहेका कोशिकाहरू नष्ट गर्छ र सङ्क्रमण र रोगसँग लड्ने शरीरको क्षमतालाई कमजोर तुल्याउँछ।
सङ्क्रमित व्यक्तिको शरीरको तरल पदार्थबाटबाट एचआईभी सर्छ। अधिकांश अवस्थामा असुरक्षित यौन सम्बन्ध यसको मुख्य कारण हो। तर दुर्व्यसनीहरूले सुई साझा गर्दा वा घाउचोटको सम्पर्कबाट पनि यो सर्ने गर्छ। गर्भावस्था, सन्तान जन्मिएको समयमा र स्तनपान गराउँदा आमाबाट बच्चामा पनि एचआईभी सर्न सक्छ।
एचआईभी भाइरसले रोग प्रतिरोधी प्रणालीमा क्षति पुर्याएपछि गम्भीर रूपमा शरीरमा जोखिम पुर्याउन सक्ने सङ्क्रमणहरू देखिएको वा बिरामी बनाएको अवस्थालाई एड्स भनिन्छ।
पछिल्लो दशकमा उपचारसम्बन्धी विकल्पहरूसँगै पछिल्ला दशकहरूमा एचआईभी लागेको पहिचान गरिएका व्यक्तिहरूको आयुमा उल्लेख्य सुधार भएको छ।
सन् २०२५ मा एचआईभीसँग सम्बन्धित कारणहरूले गर्दा झन्डै ५७०,००० जनाको ज्यान गएको थियो जुन एचआईभीको प्रकोप उच्च रहेको सन् २००४ भन्दा ७३ प्रतिशतले कम रहेको डब्ल्यूएचओले जनाएको छ।
सुझाव दिइएको उपचार विधि एआरटी भनिने एन्टीरेट्रोभाइरल थेरापी हो। यसले भाइरल लोडलाई पहिचान हुन नसक्ने विन्दुसम्म पुर्याउँछ। त्यसले प्रतिरोधी प्रणालीलाई सुरक्षित बनाउँछ र यौन संसर्गका माध्यमबाट हुने भाइरस सर्ने जोखिमलाई पनि कम गर्न मद्दत पुर्याउँछ।
तर गत वर्ष यूएनएड्सकी प्रमुख वीनी ब्यानयीमाले वैदेशिक सहायता स्थगन गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयका कारण प्रतिदिन २ हजार नयाँ एचआईभी सङ्क्रमण देखा पर्ने र चार वर्षको अवधिमा ६० लाख भन्दा बढी मृत्यु निम्त्याउने बताएकी थिइन्।
सन् २०२५ मा नयाँ सङ्क्रमण तीन क्षेत्र र २१ वटा देशमा बढेको छ। यूएनएड्सका अनुसार अफगानिस्तान, श्रीलङ्का, नेपाल, केन्या, सुडान, ब्रजिल, पाकिस्तान, यमन, इजिप्ट, सेनेगल र फिलिपिन्ससहितका देशमा सङ्क्रमण वृद्धि भएको छ।
अन्य कहाँ 'ब्लूटूथिङ' भइरहेको छ
विश्वमा दोस्रो बढी एचआईभी सङ्क्रमण लेसोथोमा देखिएको छ र त्यहाँ महिला मृत्युको प्रमुख कारक एचआईभी भएको डब्ल्यूएचओले जनाएको छ।
त्यहाँ 'ब्लूटूथिङ' रोक्न महिलाहरूको एउटा संस्थाले प्रयास गरिरहेको छ। 'अ मदर्स क्राइ' नामक उक्त अभियानमा आबद्ध महिलाहरू दुर्व्यसनमा परेका आफ्ना सन्तानबारे अनुभव साट्ने गर्छन्।
उनीहरूले यस्तो गतिविधि दक्षिण अफ्रिकामा भइरहेको थाहा पाएका थिए तर सन् २०२४ मा आफ्नै घर नजिक खाली वा त्यसै छाडिएका भवनमा विभिन्न समूहहरूले लागु औषध खरिद विक्री गरिरहेको र सेवन गरिरहेको उनीहरूले थाहा पाए।
पोन्टो टुमिसी क्रिस्टल मेथमफेटामिन सेवन गर्नुअघिसम्म आफ्नी छोरी पढाइमा अब्बल रहेको बताउँछिन्। उनले सानो परिमाणमा लागु औषध विक्री गर्दा 'ब्लूटूथिङ' हुने गरेको सुनाइन्।
"आफ्नो रगतको समूह मिलोस् या नमिलोस् वा रगतबाट आफूमा कुनै रोग सर्छ या सर्दैन कुनै ज्ञान भए पनि नभए पनि, उनीहरू त्यसको वास्ता गर्दैनन्," उनले भनिन्।
टुमिसीले स्वास्थ्यकर्मीहरूले रगत सट्टापट्टा गरेर बाँच्न सम्भव नहुने भन्दै त्यस्तो अभ्यास नरहेको आफूलाई सुनाएको बताइन्।
सोझै रगतबाट लागु औषध लिने अभ्यास विभिन्न नामहरू दिएर अन्य देशहरूमा पनि प्रचलनमा रहेको कतिपय अधिकारीहरू बताउँछन्। तान्जिनियामा त्यसलाई 'फ्ल्यासब्लड' भन्ने गरिन्छ। यूएनएड्सका एक जना क्षेत्रीय निर्देशक एमन मर्फीले यो 'विश्वव्यापी किसिमको आम प्रवृत्ति' नभएको बताए।
तर टुमिसी नयाँ र कम जानकारी भएका लागु औषध लिने विधिहरू अन्य देशहरूमा पहिचानको दायरा भन्दा टाढा नै रहन सक्ने भन्दै चिन्तित छन्।
उनले दुर्व्यसनविरुद्ध अग्रमोर्चामा खटिएका व्यक्तिहरू चनाखो हुनुपर्ने भन्दै उनीहरूले जोखिमका प्रारम्भिक लक्षणबारे आफूहरूलाई साक्षर बनाउनुपर्ने बताइन्।
"यदि तपाई आमा बुवा हो भने, विश्वको जुन कुनामा भए पनि तपाईँ मानव हो। त्यसको अर्थ तपाईँमाथि जोखिम छ। लागु औषध दुर्व्यसनको कुरा गर्दा, जे पनि हुन सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।