कवाड व्यवसायीहरू आन्दोलित, निसानामा महानगर प्रमुख बालेन

कवाड व्यवसायीको प्रदर्शन
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाल
  • Published

काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन'ले ज्यादती गरेको र आफूहरूलाई पेसाबाट विस्थापित गर्न खोजिएको भन्दै कवाड व्यवसायीहरूले विरोध चर्काएका छन्।

महानगरभित्रका कवाडी गोदामहरू हटाउन नगरप्रहरी परिचालन गरिएपछि उनीहरूले सडक आन्दोलनसँगसँगै अदालतको ढोका पनि घचघच्याएका छन्।

महानगरको कदमका कारण यो पेसामा आश्रित झन्डै एक लाख मानिस प्रभावित हुने कवाड व्यवसायी समाजका अध्यक्षको दाबी छ। उनले आफूहरूलाई निर्बाध व्यवसाय सञ्चालन गर्न दिइनुपर्ने माग गरेका छन्।

महानगरका प्रवक्ताले स्थानीय बासिन्दाको गुनासो लगायतका कारणले कवाड व्यवसायीहरूलाई व्यवस्थित ठाउँमा सार्न खोजिएको तर त्यसै विरोध भइरहेको दाबी गरेका छन्।

फलाम, सिसा, प्लास्टिक, कागज र विद्युतीय फोहोरजस्ता फेरि प्रशोधन र प्रयोग गर्न मिल्ने सामग्री सङ्कलन गर्ने कवाडी व्यवसायमा अर्बौँ रुपैयाँको कारोबार हुने अनुमान छ।

कवाड व्यवसायीहरू के भन्छन्

टेकुस्थित कवाडी सामान सङ्कलन गरेर राखिएको ठाउँ

कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ता महानगरको "डोजर आतङ्कविरुद्ध" आफ्नो आन्दोलन केन्द्रित रहेको बताउँछन्।

“तीन चार महिनादेखि महानगरले कवाडीहरूमा गएर डोजर चलाउने, सामानहरू उठाएर लैजाने गर्न थाल्यो। कवाडी भत्काउने र यहाँ नराख्नू भन्ने गर्न थाल्यो। सबैथरी कर तिर्दासमेत नानाथरी भनेर यातना दिने काम भयो,” उनी भन्छन्।

उनले सरकारबाट स्वीकृति लिएर आफूहरूले काम गरे पनि महानगरले कवाडी हटाउन सूचना जारी गरेपछि आफूहरू त्यसलाई चुनौती दिएर उच्च अदालत पाटनमा गएको बताए।

“अदालतको 'स्टेअर्डर' र कानुनको राज नमानेपछि बाध्य भएर हामीले सङ्घर्ष रोजेका हौँ। हामीले वार्ता टोली बनाऊ भन्दा पनि मानिरहेको छैन, ज्ञापनपत्र बुझ्न मानिरहेको छैन। भोली कवाडी बन्द भयो भने एक लाख मानिस बेरोजगार हुन्छन्, बालबच्चाहरूको बिजोग हुन्छ।”

काठमाण्डू उपत्यकामा कवाडी व्यवसाय गर्नेहरूको यकिन तथ्याङ्क सरकारसँग छैन। तर कवाड व्यवसायी समाजले काठमाण्डू उपत्यकामा झन्डै १,००० वटा गोदाम रहेका र चक्रपथभित्र सो सङ्ख्या ४०० जति हुन सक्ने जनाएको छ।

साइकलबाट कवाड सङ्कलन गर्ने व्यक्तिको सङ्ख्या चक्रपथभित्रै झन्डै २५,००० रहेको उक्त संस्थाका अध्यक्ष बताउँछन्।

कवाड सङ्कलन गरेर ट्रकमा राखिँदै

उनले भने, “उहाँहरूको भनाइ 'कवाडी हामी उठाउँछौँ, ठेक्का लगाएर हामी आफैँ बेच्छौँ' भन्ने हो। उहाँहरू हामीहरूलाई बेरोजगार बनाउन चाहिरहनुभएको छ।”

उनले महानगरका प्रमुख बालेन्द्र शाह बाहिर रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले तत्कालका लागि आन्दोलन रोक्न अनुरोध गरेकाले अहिलेलाई आफूहरूले त्यसलाई स्वीकार गरेको बताए।

यसअघि विभिन्न दुइटा निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले पेसा व्यवसाय सञ्चालन गर्न सक्ने नागरिक हकमा असर पर्ने गरी कदम नचाल्न काठमाण्डू महानगरपालिकासहितका नाममा आदेश दिएको थियो।

आतङ्क मच्चाएको आरोप

कवाड व्यवासायीहरूले आफ्नो जारी आन्दोलनमा महानगर प्रमुख बालेन्द्र शाहलाई निसाना बनाएका छन्।

यसअघि साना फुटपाथ व्यवसायीहरूबारे अँगालेको नीतिका कारण देशभित्र र बाहिरका अधिकारवादी संस्थाहरूले काठमाण्डूका नगरप्रमुखको आलोचना गरेका थिए।

कवाड व्यवसायी महासङ्घका भूतपूर्व अध्यक्ष महेश कलवारले आफूहरू कवाड सङ्कलन केन्द्रहरूलाई व्यवस्थित गर्ने पक्षमा रहे पनि बल प्रयोग अस्वीकार्य हुने बताए।

उनले भने, “काठमाण्डू महानगरपालिकाभित्र कवाड व्यवसायी बस्न नपाउने निर्णयको विरुद्धमा हामी उभिएका हौँ। देशलाई सफा राख्न हाम्रो योगदानलाई भुलेर उहाँहरूले आतङ्क मच्चाउनुभयो। २०६५ सालमा भएको सम्झौताबमोजिम चक्रपथबाहिर गए भइहाल्छ।”

समाजका अध्यक्ष गुप्ता आफूहरूले रकम तिरेर कवाड सङ्कलन गर्ने बताउँदै महानगरले बरु घरघरबाट निःशुल्क कवाड सङ्कलन गर्ने मनसाय राखेको आरोप लगाउँछन्।

महानगर के भन्छ

बालेन्द्र शाह बालेन र सुनीता डङ्गोल
तस्बिरको क्याप्शन, महानगर प्रमुख बालेन्द्र शाहको नीतिको कवाड व्यवसायीहरूले आलोचना गरेका छन्

तर काठमाण्डू महानगरका अधिकारीहरू चाहिँ त्यस्तो कुनै निर्णय नगरिएको भन्दै स्थानीय बासिन्दाका गुनासो आएकाले वडावडामा रहेका कवाड गोदामहरूलाई व्यवस्थित गर्न खोजिएको बताउँछन्।

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले भने, “कवाडीलाई हाम्रो केन्द्रमा होइन अलिकति बाहिर जानुहोला भनेर हामीले चक्रपथबाहिर जानुहोस् भनेका हौँ।”

काठमाण्डू महानगरका अधिकारीहरूले स्थानीय बासिन्दाको गुनासो, फोहोर मैला व्यवस्थापन ऐन, वातावरण ऐन र वडाहरूमा कवाडका कारण उत्पन्न अवरोध लगायतका कारण सहरका भित्री इलाकाबाट हटाउने निर्णय लिइएको बताउने गरेका छन्।

कतिपय ठाउँका मानिसहरूले ध्वनिप्रदूषण भएका समेत गुनासा गरेको बताउँदै महानगरका अधिकारीहरूले कुनै कम्पनी विशेषलाई कवाड सङ्कलनको जिम्मा दिने निर्णय नलिइएको जनाए।

तर अदालतमा यो विषय विचाराधीन रहेकाले त्यसको टुङ्गो नलागेसम्म कवाड व्यवसायी र महानगरबीच जारी द्वन्द्व समाप्त नहुने कतिपयको बुझाइ पाइन्छ।

साइकलमा कवाडी सामान सङ्कलन गर्ने व्यक्ति
तस्बिरको क्याप्शन, काठमाण्डूमा सयौँ मानिस साइकल चढेर कवाडी सङ्ककलन गर्न हिँड्छन्

कवाड व्यवसायीले कति आम्दानी गर्छन्

काठमाण्डूमा कवाड सङ्कलनमा खटिनेमा मजदुरमा न्यून आय भएका व्यक्तिहरू रहेका र तिनले पर्याप्त सुरक्षा उपायबिनै काम गर्ने विश्व ब्याङ्कको एउटा अध्ययनले देखाएको छ।

कवाड सङ्कलनमा खटिनेमा नेपाली नागरिकबाहेक भारतका सीमावर्ती क्षेत्रबाट मजदुरी गर्न आउने व्यक्तिहरू पनि छन्।

कवाड व्यवसायीहरूले आफूहरूले कवाड सङ्कलन गर्ने व्यक्तिबाहेक प्रशोधनकर्ता, सवारीचालकजस्ता रोजगारी सिर्जना गरेको र सङ्कलन गरिएका लगभग ७० प्रतिशत सामान देशभित्रै सञ्चालन भइरहेका उद्योगहरूलाई पठाउने गरेको बताउँछन्।

समाजका अध्यक्ष गुप्ताले भने, “फुटेको सिसा र ब्याटरीहरू यहाँ पुनः बनाउन मिल्दैन, त्यही भएर भारत पठाउँछौँ। प्लास्टिकका बोतलहरू सबै यहाँ प्रयोग हुन नसक्ने भएकाले त्यो पनि हामी भारत पठाउँछौँ। तर ती समानबाहेक लगभग सबै हामी देशभित्रकै उद्योगहरूमा खपत हुन्छ।”

प्रधानमन्त्रीलाई उनीहरूले केही समय पहिले ध्यानाकर्षण गराएका थिए
तस्बिरको क्याप्शन, कवाड व्यवसायीहरूले केही समयअघि प्रधानमन्त्रीलाई भेटेका थिए

काठमाण्डू महानगरमा दैनिक ५०० टनभन्दा बढी ठोस फोहोर पदार्थ उत्पादन हुने ठानिन्छ।

गुप्ता कवाड व्यवसायबाट राज्यले अर्बौँ रुपैयाँ आम्दानी गरिरहेको र धेरैले रोजगारी पाइरहेको बताउँछन्।

उनले थपे, “राज्यले अर्बौँ आम्दानी गरेको छ। हामी एक जनाले मात्रै महिनाको २० देखि २५ लाख रुपैयाँ कर तिर्छौँ। महानगरले लगाएको कर अलग्गै छ।"

"उहाँहरूले २४ करोड रुपैयाँमा ठेक्का लगाउनुभएको छ र प्रत्येक गाडीबाट १०,००० देखि २०,००० रुपैयाँ उठाउनुहुन्छ। प्रत्येक वडामा गोदाम र घरबहाल कर पनि हामीले तिर्दै आएका छौँ।”

मजदुर नेता के भन्छन्

मजदुर आन्दोलनका नेताहरूले महानगरले कवाडी व्यवसायीविरुद्ध चलाइरहेको अभियानले विगतमा फुटपाथ व्यवसायीमाथि चालेको कदमको झल्को दिन खोजेको बताएका छन्।

महानगरको कदमविरुद्धमा उभिएको नेकपा एमाले निकट जीफन्टअन्तर्गतको स्वरोजगार व्यापार श्रमिक सङ्घकी अध्यक्ष माया गुरुङ भन्छिन्, “कुनै पनि विकल्प नदिइकन त्यसरी निम्नवर्गीय मजदुरहरूमाथि महानगरले ज्यादती गरेको छ। व्यापार व्यवसाय गर्न पाउने नागरिकको हक खोस्ने असंवैधानिक कार्य तत्कालै रोकिनुपर्छ।”

श्रमिकहरूसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले पनि वार्तामार्फत् निकास खोजिनुपर्नेमा जोड दिएका छन्।

संसद्‌मा पनि महानगरले कवाड व्यवसायीहरूलाई तारो बनाएको विषयमा चर्चा भएको छ।

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कवाड व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा दमन गरिएको भन्दै महानगरलक्षित विरोध जनाउन सङ्कलकहरूलाई आग्रह गरेका थिए।

“महानगरकै मेयरले सिकाएको हो। सडक विभागको अगाडि उहाँले दुई टिपर फोहोर थुपार्नुभएको थियो। महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौँ। त्यसको लागि हामी साथमा छौँ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।