बङ्गालको खाडीमा विकसित प्रणालीले नेपालमा आइतवारसम्म कस्तो प्रभाव पार्ला, उच्च सतर्कता किन आवश्यक

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

नेपालका विभिन्न स्थानमा शुक्रवारदेखि आइतवारसम्म भीषण वर्षा हुने पूर्वानुमान गर्दै मौसम अधिकारीहरूले उच्च सतर्कता अपनाउन जरुरी देखिएको बताएका छन्।

बुधवार बिहानको अद्यावधिक विवरणअनुसार पछिल्लो प्रणालीको प्रभाव मुख्यतः देशको मध्य र पश्चिम क्षेत्रमा रहने वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बीबीसीलाई बताए। "यसको सामान्य प्रभाव देशैभरि रहन्छ, तर मुख्य प्रभाव गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पर्ने देखिन्छ," उनले भने।

गृह प्रशासन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजनानुरूप सङ्घदेखि स्थानीय तहसम्मलाई सक्रिय तुल्याइएको बताएका छन्।

बङ्गालको खाडीमा विकसित भई आउने न्यूनचापीय प्रणालीलाई सुक्खा हावाले रोक्ने हुँदा नेपालतिर आएर त्यसले सबैभन्दा धेरै वर्षा गराउने देखिएको अर्का मौसमविद्‌ विनोद पोखरेलले औँल्याएका छन्।

"मैले धेरैवटा पूर्वानुमान मोडेलहरू (फर्कास्ट मोडेल) हेरेर मात्र राखेको हुँ। ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने (७४१ सम्म देखाएको छ)," सामाजिक सञ्जालमा उनले लेखेका छन्।

"यो भनेको एकदम धेरै हो र नेपालका धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पानी पर्न सक्छ, तर यसले लिएर आउन सक्ने अवस्था गम्भीर हुन सक्छ।"

उनका अनुसार नेपालका धेरै स्थानमा लगातार र पटकपटक 'भारी वर्षा' हुन सक्छ भने प्रणाली सुस्त गतिमा अघि बढे लामो समयसम्म वर्षा जारी रहन सक्छ।

पाल्पा, कास्की, पर्वत, अर्घाखाँची, म्याग्दी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रूपन्देही र मनाङमा धेरै वर्षाको पूर्वानुमान रहेको मौसमविद्‌ पोखरेलले बताएका छन्।

पूर्वानुमान के छ

शुक्रवारदेखि आइतवारसम्म "गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको" मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उसका अनुसार मधेश प्रदेश तथा कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसमविद्हरूले २४ घण्टाको अवधिमा ५० मिलिमिटरदेखि ९९.९९ मिलिमिटरसम्म वर्षा भए त्यसलाई 'भारी वर्षा', १०० मिलिमिटरदेखि १९९.९९ मिलिमिटरसम्म वर्षा भए त्यसलाई 'धेरै भारी वर्षा' अनि २०० मिलिमिटरभन्दा बढी वर्षा भए त्यसलाई 'अति भारी वर्षा' भनेर वर्गीकरण गरेका छन्।

नेपालका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखास्थित मौसमविद्‌हरूले उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्यभूभाग आसपासमा रहेको बताएका छन्।

उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र (डीप डिप्रेशन) भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने र त्यसको प्रभावले बुधवारबाट कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जान सक्ने बताइएको छ।

तल्लो निकायसम्म सक्रियता

राष्ट्रिय विपद्‌ व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सम्भावित वर्षा र त्यसले पार्न सक्ने प्रभावबारे स्थानीय प्रशासनदेखि सर्वसाधारण मानिसलाई सुसूचित गर्ने काम भइरहेको छ।

"खास गरी तल्लो तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूको हकमा आवश्यकतानुसार सुरक्षित स्थानमा सार्नुपर्ने जरुरी देखिए त्यो गर्न भनिसकिएको छ," उनले बीबीसी न्यूज नेपालीसँग भनिन्।

अधिकारीहरूका अनुसार मनसुनी विपद्‌बाट हुने क्षति न्यूनीकरणको दिशामा हरेक वर्ष 'मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना'अनुसार काम गरिन्छ।

हाल देखिएको मौसमी प्रणालीको पृष्ठभूमिमा पनि सोहीबमोजिम पूर्वतयारीदेखि जोखिम न्यूनीकरणको काम भइरहेको गृह प्रशासनले जनाएको छ।

"यस सन्दर्भ [भारी र अति भारी वर्षाको पूर्वानुमान] मा मन्त्रालयले सूक्ष्म रूपमा काम गरिरहेको छ। केन्द्रबाट गर्नुपर्ने काम केन्द्रबाट र सोहीअनुसार जिल्लाहरूलाई पनि सक्रिय तुल्याइएको छ," गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसी न्यूज नेपालीसँग भने।

कस्ताकस्ता जोखिम

महाशाखाका अनुसार सम्भावित वर्षाका कारण भूक्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम हुँदा सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने अनुमान गरिएको छ।

वर्षाका कारण ठूला तथा साना नदीनाला एवं खोलाहरूमा पानीको सतह बढ्न सक्छ भने सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने देखिएको छ।

मौसमसम्बन्धी पूर्वानुमानबीच अधिकारीहरूले सर्वसाधारण मानिसदेखि किसान र पर्यटकसम्मलाई आवश्यक कदम चाल्न अनुरोध गरेका छन्।

यदि किसानहरूले धान काटिसकेका छन् भने बुधवारसम्म थन्काइसक्न र नकाटेको भए कम्तीमा १२ गतेसम्म कुर्न अधिकारीहरूको अनुरोध छ।

अत्यावश्यक हुँदाबाहेक लामो यात्रा नगर्न अनुरोध गरिएको छ। "निरन्तर झरी जसरी पानी पर्न सक्ने देखिएकोले बाटोमा पहिरोको जोखिम छ," वरिष्ठ जलविज्ञानविज्ञ पराजुलीले भने।

उनका अनुसार हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान छ। "हिमपातसँगै हिमपहिरो पनि जान सक्छ। त्यस हिसाबले खास गरी पर्वतारोहीलाई फिर्ता हुन र जाने योजनामा रहेकाहरूलाई हालका लागि रद्द गर्न अपील गरिएको छ," उनले भने।

जलाधारहरूले वर्षालाई 'रेस्पन्ड' गर्न केही समय लाग्ने भएकोले बाढीको सन्दर्भमा यसको प्रभाव आइतवार र सोमवारसम्म पर्न सक्ने पराजुलीले औँल्याए।

ठूला नदीहरूमा जलप्रवाह उल्लेख्य रूपमा बढ्ने र सतर्कताको तहसम्म पुग्ने पूर्वानुमान छ।

पराजुलीका अनुसार तीन प्रदेशमा अकस्मात्‌ बाढी आउन सक्ने र केही ठाउँमा गेग्रान बहाव पनि हुन सक्छ।

"हामीले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छौँ, तर आत्तिनुपर्ने अवस्था छैन। अत्यन्तै भयावह स्थिति हुने देखिएको छैन, तर उच्च सावधानी जरुरी छ," उनले अगाडि थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।