तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपतिको भनाइ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने पुन: दोहोर्याएका छन्।
"कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गरेका छैनन्। मैले आठवटा युद्धहरू अन्त्य गरेको छु र सायद संसारको पूर्ण विनाशलाई पनि रोकेको छु। त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ," उनले भने।
नर्वेको नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार घोषणा शुक्रवार गर्ने भएको छ।
पुरस्कारबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, "मलाई थाहा छैन उसको निर्णय के हुन्छ। उनीहरूको यस्तो छवि छ सायद उनीहरूले यो पुरस्कार मजस्ता मानिसलाई दिँदैनन्।"
राष्ट्रपति बनेदेखि नै ट्रम्पले पटक पटक आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको बताउँदै आएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले भने, "सायद त्यो समय आइसकेको छ। यो पुरस्कार पछिल्लो पटक पाउने व्यक्तिले राष्ट्रपति ट्रम्प इतिहासमा अरू कोही भन्दा बढी यसका हकदार रहेको बताएकी छन्। उनीमार्फत् अप्रत्यक्ष रूपमा यो सम्मान पाउँदा म निकै गौरवान्वित भएको छु।"
भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोले सन् २०२५ को नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति ट्रम्पलाई गत ज्यानुअरीमा प्रदान गरेकी थिइन्।
त्यतिबेला ट्रम्पसँग पहिलो पटक प्रत्यक्ष भेट गरेर फर्केपछि उनले भनेकी थिइन्, "मलाई लाग्छ आज हामी भेनेजुएलालीका लागि ऐतिहासिक दिन हो।"
अमेरिकी सेनाले कराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको र लागूपदार्थ तस्करीबारे मुद्दा चलाएको केही सातापछि गत ज्यानुअरीमा उनीहरूको ह्वाइटहाउसमा भेट भएको थियो।
ट्रम्पले त्यतिबेला आफ्नो सामाजिक सञ्जाल पोस्टमा मचाडोप्रति कृतज्ञता व्यक्त गर्दै उक्त पुरस्कार प्राप्त गर्नु "आपसी सम्मानको अद्भुत सङ्केत" भएको बताएका थिए।
उनले मचाडोलाई भेट्नु "ठूलो सम्मान" भएको बताउँदै "निकै कुरा झेलेकी अद्भुत महिला" भनेर सम्बोधन गरेका थिए। तर मचाडोलाई भेनेजुएलाको नयाँ नेताको रूपमा समर्थन गर्न भने ट्रम्पले अस्वीकार गरेका थिए।
त्यतिबेला ह्वाइटहाउसबाट निस्केपछि मचाडोले बाहिरपट्टि गेटमा भेला भएका समर्थकहरूलाई स्पेनिस भाषामा "हामी राष्ट्रपति ट्रम्पमा भर पर्न सक्छौँ" भनेको एसोसिएटेड प्रेसले जनाएको थियो।
"मैले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक प्रस्तुत गरेँ," मचाडोले पछि अङ्ग्रेजीमा पत्रकारहरूलाई भनेकी थिइन्।
उनले त्यसलाई "हाम्रो स्वतन्त्रताप्रतिको उनको अद्वितीय प्रतिबद्धताको मान्यता" भनेर उल्लेख गरेकी थिइन्।
मचाडोले पुरस्कार ट्रम्पसँग साझा गर्ने बताए तापनि नोबेल समितिले पछि त्यो हस्तान्तरण गर्न नमिल्ने भनेर स्पष्ट पारेको थियो।
"एक पटक नोबेल पुरस्कार घोषणा भएपछि यसलाई रद्द गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन," समितिले विज्ञप्तिमा भनेको थियो, "यो निर्णय अन्तिम हो र सधैँको लागि रहन्छ।"
नोबेल शान्ति पुरस्कार पाउने आफ्नो चाहनाका बारेमा ट्रम्पले बारम्बार बोल्ने गरेका छन्।
उनले मचाडोलाई उक्त पुरस्कार दिने घोषणा भएपछि असन्तुष्टि व्यक्त गरेका थिए।
गत वर्ष अगष्टमा ट्रम्प प्रशासनले ट्रम्पले रोकेका "युद्धहरू" सूचीबद्ध गरेर उसकै शब्दमा 'प्रमुख शान्तिनिर्माता' (पीसमेकर-इन-चीफ) उनलाई नोबल शान्ति पुरस्कार पहिलै दिइसक्नुपर्ने र ढिलाइ भएको जनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।