तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
घर परिवार गुमाउँदा 'सपना हो कि बिपना जस्तो भइरहन्छ, के को चाडपर्व आएजस्तो हुनु'
- Author, शक्तिमाया तामाङ
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
नुवाकोटको त्रिशूली बजारका अम्मर परियारले बाढीमा श्रीमती र छोरासँगै जीविकोर्पाजनको बाटो पनि गुमाए।
"त्रिशूली बजारमा कपडा सिलाउँथेँ, श्रीमती, छोरा र म - तीन जनाको सानो परिवार खुसी थियो," अम्मरले भने।
हुर्किसकेका एक मात्र सन्तान (छोरा) र श्रीमती हराएपछि कतै उद्धार भएर उपचार पो भइरहेको छ कि भनेर उनले काठमाण्डू, चितवन, पोखरालगायत स्थानमा खोजी गरे।
"कतै नभेटेपछि भदौ २४ गते कुशको शव बनाएर अन्त्येष्टि गरेँ। तर कतै फर्कि आउँछन् कि भन्ने आशा लागिरहन्छ," उनले भने।
"भएको सबै गुमाएर एक्लै भौतारिँदै छु। परिवार गुमाउँदा सपना हो कि बिपना जस्तो भइरहन्छ के को चाडपर्व आएजस्तो हुनु?"
आफन्त र घरबार गुमाएर अन्य ठाउँमा आश्रय लिएर बस्दै आएका बाढीपीडितको साझा भनाइ छ - हाम्रो लागि यो वर्षको दशैँ छैन।
दशैँ सुरु हुनु अघि घर रङ्गाउने, सार्वजनिक स्थल, मठ मन्दिरहरू सरसफाइ गर्ने, आवश्यक सामग्री किनमेल गर्ने चलन रहे पनि भोटेकोशी त्रिशूली बाढीका कारण अन्यत्र ठाउँमा बस्दै आएका बाढीपीडितहरूलाई चाडपर्वको उमङ्ग छैन।
बाढीका कारण ठूलो जनधनको क्षति बेहोरेका उनीहरू खाने बस्ने ठेगान नभएकोमा पिरोलिएका छन्।
विभिन्न संघसस्थाले वितरण गरेको राहतले बिहान बेलुकाको छाक टारिरहेको बताउने उनीहरू दशैँले यस पटक कुनै खुशी नल्याएको बताउँछन्।
बाढीका कारण नुवाकोटमा १ हजार ८ सय ६० घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ।
बाढी पीडितहरू कतिपय कोठा भाडामा बस्न थालेका छन् भने कतिपय अस्थायी शिविरमा त्रिपाल मुनि बस्दै आएका छन्।
सबै गुम्यो के को दशैँ?
नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा पुस्तौँदेखि व्यवसायी गर्दै आएको शिव श्रेष्ठको बाढीले घरसँगै व्यवसाय गुमेको छ।
"बाढीले घर व्यवसायमा पूर्ण क्षति पुर्याउँदा अहिले सडकमा छु। चाडपर्व कहाँ कसरी मनाउने केही सोच्न सकेको छैन," उनले भने।
"त्रिशूली बजारमा चारवटा घर र त्यसमा तीनवटा पसल थियो त्यो सबै बगाएर अहिले त्यहाँ बगर बनेको छ। त्रिशूली बजारमा सबैको क्षति भएको छ। हामी दु:खमा छौँ। आर्थिक र मानसिक रूपमा गहिरो चोट परेको छ। यस्तो बेला के दशैँ के तिहार?"
त्यस्तै विदुर १ ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अर्यालले बाढीले व्यवसाय बगाउँदाको पीडा सुनाउँदै भने, "दशा नै दशा लागेको बेला कसरी चाड मनाउनु?"
कमाएको सम्पत्ति र जीवन गुजारा गर्ने व्यवसाय गुमेर विचलन भएको आफ्नो परिवारमा चाडपर्वले कुनै उत्साह नल्याएको उनले बताए।
"२०/२२ वर्ष लगाएर कमाएको सबै पैसा त्यही व्यवसायमा लगानी गरेका थियौँ। त्यो सबैमा क्षति पुग्यो। यो वर्ष दशैँतिहार भन्ने अवस्थामा छैनौँ। पैसा नहुँदा बालबच्चालाई लुगाफाटो समेत किन्न सकेको छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।