इरान हमलाको योजना ट्रम्पद्वारा 'अनुमोदन' तर लागु गर्ने निर्णय हुन बाँकी

इरान र इजरेलको झण्डा अनि ट्रम्पको प्रतीकात्मक तस्बिर
Published
पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमणको योजना अनुमोदन गरेको विश्वास गरिएको छ।

तर उक्त योजना कार्यान्वयनबारे उनले अझै निर्णय लिएका छैनन्।

वाशिङ्टनमा मङ्गलबार राति उनले इरान हमलासम्बन्धी योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णय भने उनले अझै नलिएको बीबीसीको अमेरिकी साझेदार सञ्चार संस्था सीबीएसले जनाएको छ।

इरानले आफ्ना परमाणु कार्यक्रम त्याग्छ कि भनेर उनले पर्खिरहेको वरिष्ठ खुफिया सूत्रहरूले सीबीएसलाई बताएका छन्।

ट्रम्पको दुविधा

इरानमाथि इजरेली हमलामा अमेरिकी संलग्नताबारे पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले अन्योलपूर्ण जबाफ दिए।

"मैले गर्न पनि सक्छु, नगर्न पनि सक्छु," उनले भने।

यसअघि सीबीएसले इरानको फोर्दोस्थित भूमिगत युरेनिअम प्रशोधन केन्द्रमा हमला गर्नेबारे ट्रम्पले सोचविचार गरिरहेको जनाएको थियो।

बुधवार राष्ट्रपति ट्रम्पले उनले अन्तिम घडीसम्म पर्खने अनि इरानलाई परमाणु अस्त्र विकास गर्न रोक्ने उद्देश्यले मात्र लड्ने बताएका थिए।

ट्रम्पले इरानी वार्ताकारहरू ह्वाइट हाउस आउन चाहेको पनि बताएका थिए।

इरानले के भनिरहेको छ?

इरानका सर्वोच्च नेताले आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन्।

ट्रम्पका पछिल्ला टिप्पणीको प्रतिक्रिया दिँदै न्यूयोर्कस्थित इरानको राष्ट्रसङ्घीय नियोगले 'कुनै इरानी अधिकारीले ह्वाइट हाउसको ढोकामा नगिड्गिडाउने' जनाएको छ।

सामाजिक सञ्जाल एक्समा राखिएको टिप्पणीमा भनिएको छ: "उनको झुटभन्दा बढ्ता घृणित काम उनले 'इरानका सर्वोच्च नेता'को हत्याबारे दिएका धम्की हुन्।"

ट्रम्पले इरानका सर्वोच्च नेता कहाँ छन् भनेर अमेरिकालाई थाहा भएको र 'तत्काल'का लागि उनलाई हानि पुर्‍याउन आफूले नचाहेको टिप्पणी गरेका थिए।

इरानी नियोगको पोस्टमा इरानले दबावमा कुनै सम्झौता नगर्ने भन्दै कुनै पनि खतराको जबाफ दिने उल्लेख छ।

इरानले क्षेप्यास्त्र प्रहार गरेपछि इजरेलको तेल अभिभ सहरमा मानिसहरू आश्रय लिँदै
तस्बिरको क्याप्शन, इरानले क्षेप्यास्त्र प्रहार गरेपछि इजरेलको तेल अभिभ सहरमा मानिसहरू आश्रय लिँदै

यसबीच इरानका विदेशमन्त्री अब्बास अरागचीले उनको देश कूटनीतिमा प्रतिबद्ध भएको बताएका छन्। उनका अधिकारीहरूले अमेरिकी वार्ताकारहरूसँग सम्भावित बैठकबारे सोचिरहेको बताएका छन्।

इरानका निकट सहयोगी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सबै पक्षलाई लडाइँ रोक्ने उपाय खोज्न आह्वान गरेका छन्।

दुवै देशमा आक्रमण जारी

बुधवार राति पनि इजरेल र इरानले एकअर्काविरुद्ध हमला जारी राखेका छन्।

इजरेली सेनाले भनेको छ उसले तेहरान तथा अन्य इरानी क्षेत्रमा शृङ्खलाबद्ध प्रहार गरिरहेको छ।

इरानले उत्पन्न गराएको खतरा निमिट्यान्न पार्ने दिशामा लगातार प्रगति भइरहेको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताएका छन्।

उसका लडाकू विमानहरूले इरानका परमाणु तथा बलिस्टिक क्षेप्यास्त्र केन्द्र अनि इरानी सत्ताका प्रतीकहरूमा हमला गरिरहेका छन्।

इरानको राजधानी तेहरान छाडेर कैयन् मानिसहरू बाहिरिएका छन् भने कतिपयले चाहिँ अन्यत्र नजाने भनिरहेका छन्।

इरानको रिभोलुशनरी गार्डले इजरेलतर्फ नयाँ लहरका क्षेप्यास्त्र प्रहार गरेको बताएको छ – तर त्यसबाट कुनै हताहती भएका विवरण आएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।