थामेमा 'साना हिमताल विस्फोटन'बाट ठूलो विपद्, अन्यत्रका लागि यसको पाठ के

विस्फोट भएको हिमताल
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

सोलुखुम्बु जिल्लाको थामे गाउँमा शुक्रवार अकस्मात् आएको बाढीको निरीक्षण गर्न गएको एक सरकारी टोलीले त्यसको कारण हिमताल विस्फोटन देखिएको बीबीसीलाई बताएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल दुई वटा हिमताल फुटेर शुक्रवारको परिस्थिति सिर्जना भएको बताउँछन्।

“माथि पट्टिको एउटा हिमताल फुट्दा त्यसले अर्को तालमा समेत दबाब सिर्जना गर्‍यो,” हेलिकप्टरबाट उक्त ताल क्षेत्रको अवलोकन गरेर फर्केका पोखरेलले भने।

“त्यसरी हिमताल फुट्दा पहाडमा जमेर बसेको गेगरानको सतह खोतलिएर ठूलो बहाव सिर्जना गर्‍यो।”

एकजना भूगर्भशास्त्री यसअघि चिन्ताको रूपमा नहेरिएका साना हिमताल फुटेरै यस्तो विपद् सिर्जना भएको परिस्थितिलाई पाठको रूपमा लिनुपर्ने बताउँछन्।

त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विपद् अध्ययन केन्द्रका निर्देशक रहेका वसन्तराज अधिकारीले अब हिमतालहरूको पछिल्लो अवस्था बुझ्न भूउपग्रहबाट प्राप्त हुने विवरणमा मात्र भर नपरेर स्थलगत अध्ययन हुनुपर्ने देखिएको बताए।

“त्यसै गरी हिमताल फुट्दाको अवस्थामा तल्लो तहमा पर्ने प्रभावको पूर्व मूल्याङ्कन गरेर त्यस्ता क्षेत्रको नक्साङ्कन गर्दै बसोबासका लागि सावधानी अपनाउन थाल्नुपर्छ,” उनले भने।

खासगरी उच्च हिमाली भेगमा मानव बस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिएको बताइन्छ। हिमताल र हिमनदी अस्थिर बन्दा ती गेगरान समेत सक्रिय भएर ढुङ्गा, गिटी र लेदो मिश्रित बाढी आउने विज्ञहरू बताउँछन्।

झण्डै ३,८०० मिटरको उचाईमा अवस्थित थामे आङरिता शेर्पा, कामीरिता शेर्पा, आप्पा शेर्पा सहितका कैयौँ कीर्तिमानी आरोहीहरूको गाउँ हो।

यो गाउँ खुम्बु क्षेत्रमा पदयात्राका लागि लोकप्रिय मानिने गोक्यो पदयात्रा मार्गमा पर्छ।

यसअघि सन् १९८५ मा समेत त्यस क्षेत्रमा दिग च्छो हिमताल विस्फोटन भएको थियो।

कस्तो प्रभाव

थामे

आसपासमा पाँच वटा हिमताल भएको त्यस ठाउँमा दुई वटा हिमताल फुटेपछि शुक्रवारको बाढी आएको थियो।

शुक्रवार दिउँसो सोलुखुम्बुको खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात्‌ बाढी आएको थियो।

“पानी पनि परिराखेको र त्यस क्षेत्रमा हालैका दिनमा तापक्रम समेत बढी पाइएका बेला घटना घटेको देखिन्छ,” पोखरेल भन्छन्।

“हिउँभित्रको जमिनमा रहेका ढुङ्गा, गिटी चलायमान हुँदा मेलम्चीको बाढीमा भएजस्तै उच्च मात्रामा गेगरान निस्किएर थामे गाउँमा पटान भएको छ।”

थामेमा पुनः बसोबास गर्न सकिन्छ या सकिँदैन भन्नेबारे भने विस्तृत मूल्याङ्कन गरेर मात्र टुङ्गोमा पुग्न सकिने प्राधिकरण प्रमुख पोखरेलले बताए।

कीर्तिमानी आरोहीहरूको गाउँका रूपमा थामे चर्चित छ
तस्बिरको क्याप्शन, कीर्तिमानी आरोहीहरूको गाउँका रूपमा थामे चर्चित छ (फाइल तस्बिर)

यतिखेर झण्डै एक सयको सङ्ख्यामा रहेका विस्थापितहरूलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको उनले बताए।

“तत्काल त्यहाँ फर्केर घरहरूमा बसिहाल्ने सम्भावना छैन। थप बाढी समेत आउन सक्ने जोखिमलाई हेरेर तिनवटै सुरक्षा निकायको सहयोगमा घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको छ,” पोखरेलले भने।

अधिकारीहरूका अनुसार थामेका झण्डै एक दर्जनको सङ्ख्यामा घर, एक विद्यालय र दुई वटा रिसोर्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

तर पूरै थामे क्षेत्रमा ढुङ्गा, गिटी र लेदो मिश्रित गेगरान भरिएकाले अप्रत्यक्ष रूपमा पूरै गाउँ प्रभावित रहेको अधिकारीहरूको भनाइ छ।

स्थानीय अधिकारीहरूले थामे गाउँमा मात्रै एक अर्ब भन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेका छन्।

साना हिमतालबाट 'नसोचिएको विपद्'

थामे

भूगर्भशास्त्री बसन्तराज अधिकारी पछिल्लो केही समय त्यस क्षेत्रको तापक्रम बढेको अवस्थामा त्यहाँ हिउँ पग्लिएर तालमा पानीको मात्रा बढेको र त्यही बेला पानी समेत परेपछि तालले थाम्न नसकेर त्यसलाई घेरेर राख्ने गेगरान सक्रिय भएर बाढी आएको देखिएको बताउँछन्।

“यस घटनालाई जलवायु परिवर्तनको असरका रूपमा हेर्न सकिने प्रशस्त बलिया आधार छन्,” उनी भन्छन्।

हिमालय पर्वत शृङ्खलामा जलवायु परिवर्तनको असर निकै उच्च स्वरूपमा देखिन थालेको एउटा महत्त्वपूर्ण घटनाका रूपमा यसलाई हेर्नुपर्ने भूगर्भशास्त्री अधिकारी बताउँछन्।

“यो दुर्लभ घटना नै हो। किनकि त्यस क्षेत्रलाई चिन्तित भएर हामीले हेरिएकै थिएन। त्यसैले त्यहाँ पूर्व सूचना प्रणाली समेत जडान गरिएको छैन,” बसन्तराज अधिकारी भन्छन्।

“ठूला हिमताल विस्फोट होलान् कि भन्ने चिन्तामा हामीहरू रहेका बेला सानै हिमताल फुटेर यस्तो विपद् सिर्जना हुनु हाम्रा लागि चेतावनी हो।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।