सिरियाली शरणार्थीहरूका लागि असदको सत्ता ढल्नुको अर्थ

सिरियाली झण्डा फहराएर उत्सव मनाउँदै भिडमा एक मानिस
तस्बिरको क्याप्शन, ग्रीसमा बस्दै आएका सिरियालीहरू एथेन्सको सिन्ट्याग्मा स्क्वेअरमा भेला भएर खुसीयाली मनाउँदै
    • Author, सना अल्काउरी र फून्डानूर एजटुर्क
    • Role, बीबीसी अरेबिक र बीबीसी टर्किश
  • Published
  • पढ्ने समय: ७ मिनेट

टर्कीको एङ्करास्थित एउटा जिल्लामा सयौँ सिरियालीहरू नाचेर, गीत गाएर र सिट्ठी बजाएर उत्सव मनाइरहेका छन्। सिरियामा बशर अल-असदको सत्ता ढलेको खबर बिहान सबेरै आउनेबित्तिकै उत्सव मनाउन थालिएको थियो।

"म एकदमै खुसी छु — म जीवनमा यति धेरै खुसी पहिलो पटक महसुस गरेको हुँ," सिरियाली सहर हामाका एक युवा असिफले भने।

"हामी हिजो रातिदेखि नै सुतेका छैनौँ। म आफूले महसुस गरिरहेको कुरा शब्दमा व्यक्त गर्न पनि सकिरहेको छैन। यहाँ अब कोही पनि बस्ने छैनन्। सबै जना फर्किन चाहन्छन् किनभने अब हाम्रो देशमा युद्ध सकियो। हामी टर्कीलाई धेरै धन्यवाद दिन्छौँ।"

सिरियाकै अलेपोमा बस्ने उनका साथी एहाम पनि उस्तै भावना व्यक्त गर्छन्।

"असदको क्रूरताका कारण हामी फर्किन सकेनौँ। हामी असदको निरङ्कुश शासनबाट उम्किएका छौँ। आफ्नै नागरिक मार्न बाध्य पारिन मन नलागेर हामीले छोड्नुपरेको थियो। अब सबै कुरा सकिएपछि हामी फर्किँदै छौँ।"

विगत १४ वर्षदेखि टर्की बस्दै आएका अर्का एक युवाले पनि आफू छिट्टै टर्की छोडेर सिरिया फर्किने बताएका छन्।

"यहाँ हाम्रा लागि केही बाँकी छैन। अब सिरिया फर्किने समय आएको छ। पुनर्निर्माण आवश्यक भयो भने हामी सुरुबाटै गर्छौँ। आज विवाह गर्ने योजना गरेकै दिन सिरिया स्वतन्त्र भएको छ। म यो दिन कहिल्यै बिर्सिने छैन।"

एक जना पुरुष अर्का पुरुषको गालामा पूर्व सिरियन रिपब्लिकको हरियो, सेतो र कालो रङ्ग रहेको झण्डा बनाइदिँदै
तस्बिरको क्याप्शन, असदको शासन ढलेपछि सिरियालीहरू इस्तान्बुलमा खुसीयाली मनाइरहेका छन्

सिरियाली मानिसहरूको ठूलो जनसङ्ख्या रहेका टर्कीको इस्तान्बुलसहितका थुप्रै अन्य सहरमा पनि यस्तै खालका उत्सवहरू मनाइएका छन्। सिस्लीस्थित सिरियाली वाणिज्य दूतावासअगाडि भेला भएका मानिसहरूले असदको शासनको झन्डा हटाएका छन्।

सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएयता करिब ३० लाख सिरियाली शरणार्थीहरू टर्कीमा बस्दै आएका छन्।

द्विविधा र त्रास

आशा र उत्साह भए पनि सबै जना सिरिया छिट्टै फर्किन चाहिरहेका छैनन्।

बर्लिनमा रेलमा रहेकी राशा नजिकैका अन्य यात्रुलाई आफ्नो स्वरले असर नगरोस् भनेर सानो स्वरमा फोन रिकर्डरमा बोलिरहेकी छन्। केही समयअघिसम्म उनले दमास्कसमा रहेका आफ्ना परिवारलाई सायदै कहिल्यै देख्ने सोचेकी थिइन्।

विगतको दशकमा सिरियामा जारी द्वन्द्वका कारण उनीजस्तै लाखौँ मानिसहरू सायद आफ्नो विगत सदाका लागि टाढा भएको स्वीकार गर्न बाध्य भएका थिए। तर त्यही बेला यो समाचार आयो।

धेरै सिरियाली शरणार्थीमा यो समाचारले अविश्वास, खुसी, आशा, भ्रम र त्रासजस्ता थुप्रै खाले द्वन्द्वात्मक भावना निम्त्याएको छ।

राशा के हुने हो भन्ने वास्तविकताबाट बेखबर भएका कारण उत्साही हुन सकेकी छैनन्। उनको तत्कालैको प्रतिक्रिया भनेको "झोला बाँधेर फर्किनुपर्छ" भन्ने थियो, तर व्यवहारिक भएर सोच्दा हतारमा निर्णय गर्न हुँदैन भन्ने भयो।

"सीमा पार गर्ने डरलाग्दो परिस्थिति र पक्राउ पर्ने वा बेपत्ता पारिने डर त गयो," उनी भन्छिन्, "तर अब नयाँ किसिमको डर पैदा भएको छ; प्रतिशोध, साम्प्रदायिक तनाव र बदलाको सम्भावना भने छ।"

धार्मिक अल्पसङ्ख्यक भएका कारण पनि सम्भावित खतराबारे राशा अलि बढी सजग छिन्।

अहिलेसम्म कुनै समूहलाई लक्षित गरी हिंसा भएको पुष्ट खबर नआए पनि उनी चिन्तित छिन्।

"हामी अझै पनि सुरुवातका खुसी पलहरूमै छौँ," उनले सजग भएर भनिन्। "हामीले तर्कसङ्गत भएर सोच्न आवश्यक छ।"

जर्मनीमा शरणार्थी हैसियतमा रहेका कारण पनि उनको अवस्था थप जटिल बनेको छ। नयाँ समुदायमा समायोजन हुन वर्षौँ बिताए पनि उनी अबको एक वर्षभित्र जर्मनीको नागरिकता लिने प्रक्रियामा छिन्, एउटा यस्तो उपलब्धि जसले उनलाई ठूलो स्वतन्त्रता दिने छ।

"यहाँ हासिल गरेका उपलब्धिहरू नगुमाई हामी फर्किन चाहन्छौँ," आफूले सिकेको भाषा, शिक्षा र स्थायित्वलाई इङ्गित गर्दै उनले व्याख्या गरिन्। "म फर्किएर अहिलेको कानुनी हैसियत गुमाएँ भने मैले सबै कुरा जोखिममा राख्ने छु।"

दमास्कसमा रहेको आफ्नो परिवारलाई लिएर पनि उनको चिन्ता छ।

"हिजोभन्दा अगाडिसम्म मलाई लागेको थियो मैले सायद कहिल्यै आफ्नो घर देख्ने छैन," उनले स्विकारिन्। "अहिले भने आशा जागेको छ। तर कसैले जफत गर्‍यो भने?"

अहिलेसम्म व्यापक मात्रामा चोरीलगायत केही घटना पनि भएको छैन भन्ने सुनेर उनलाई राहत मिलेको छ, तर अनिश्चितता कायमै छ। "सत्ता ढलेकोमा म खुसी छु," उनले भनिन्, "तर झडपहरू हुने, अतिवाद र दुराग्रहको उदय हुने डर छ।"

लेबनानको बेइरुतमा महिलाहरू खुसीयाली मनाउँदै
तस्बिरको क्याप्शन, लेबनानको बेइरुतमा महिलाहरू खुसीयाली मनाउँदै

सन् २०११ मा द्वन्द्व चर्किएपछि घर छोडेर भाग्ने १ करोड ४० लाख सिरियालीमध्ये राशा केवल एक हुन्।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी विषय हेर्ने निकाय 'यूएनएचसीआर'का अनुसार अहिलेको समयमा देश छोड्न बाध्य पारिएको सबैभन्दा ठूलो शरणार्थी सङ्कट भनेकै सिरियालीहरूको हो।

झन्डै ५५ लाखभन्दा बढी सिरियालीहरू छिमेकी देश टर्की, लेबनन, जोर्डन, इराक र इजिप्टमा शरण लिएर बसिरहेका छन्। जर्मनीमा मात्रै आठ लाख ५० हजारभन्दा बढी सिरियालीहरू छन् र यो सिरियाका छिमेकीबाहेकका सबैभन्दा धेरै सिरियालीलाई शरण दिने देश हो।

धेरै शरणार्थीका लागि देशबाहिरको जीवन चुनौतीपूर्ण छ। त्यहाँ वर्षौँसम्म कानुनी उल्झन, आर्थिक कठिनाइ र अर्को देशका मानिसलाई मन नपराउने प्रवृत्तिको सामना गर्नुपर्छ।

असदको सत्ता ढलेपछि डेन्मार्कको कोपनहेगनमा पनि खुसीयाली मनाइएको छ
तस्बिरको क्याप्शन, असदको सत्ता ढलेपछि डेन्मार्कको कोपनहेगनमा पनि खुसीयाली मनाइएको छ

'फिर्ता हुन सजिलो छैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, बशर अल-असद : सिरियाली राष्ट्रपति बनेका चिकित्सक निरङ्कुश शासन गर्दा देश छाडेर भागे

एम्नेस्टी इन्टरन्याश्नलको मध्यपूर्व र उत्तरी अफ्रिकाका लागि क्षेत्रीय उपनिर्देशक अए मजूबले फर्किने बाटो सहज नहुनेमा जोड दिइन्।

"फर्किनेबारे सोच्दै रहेका धेरै सिरियालीहरूले आफ्नो घर, जागिर र प्रियजन गुमाएका छन्," उनले भनिन्।

"वर्षौँको द्वन्द्व र प्रतिबन्धका कारण सिरियाको अर्थतन्त्र डामाडोल भएको छ। मानिसहरूको फिर्तीलाई सुरक्षित, मर्यादित र सहयोगी हुने कुरा मानवीय सहायता निकायहरूले तत्कालै प्रत्याभूत गर्नुपर्छ। फर्किने मानिसहरूले गाँस,बास, सरसफाइ र स्वास्थ्य सेवामा पहुँच पाउनुपर्छ।"

मजूबले देश फिर्ता हुन दबाब दिन नहुने कुरा पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्।

"शरण दिएका सरकारहरूले कसैलाई पनि घर फर्किन बाध्य पार्नुहुँदैन," उनले भनिन्।

"फिर्ती स्वतःस्फूर्त हुनुपर्छ र हामी फर्किनेहरूले सामना गरिरहेको खतराबारे अनुगमन गर्ने छौँ, चाहे ती जुनसुकै धर्म, जात वा राजनीतिक विचारका हुन्।"

टर्कीमा खुसी मनाउँदै एक सिरियाली शरणार्थी
तस्बिरको क्याप्शन, टर्कीमा खुसी मनाउँदै एक सिरियाली शरणार्थी

टर्कीमा शरण लिएर बसेका महमुद बौएदानी दमास्कसबाट समाचार आएपछि त्यसले आफूमा सम्झनाको बाढी ल्याइदिएको बताउँछन्।

"विगत दश वर्षको रील हेरेजस्तै भयो - प्रत्येक मोर्टार शेल, प्रत्येक रासायनिक हमला, प्रत्येक हवाई हमला," उनले सम्झिए।

वर्षौँसम्म घेराबन्दी भएपछि सन् २०१८ महमुदले देश छोडेर हिँडे। अहिले भने उनी इस्तान्बुलनजिकै कोजेएली यूनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत छन्।

आफू आशावादी भए पनि घर फर्किनको चुनौती पनि उत्तिकै रहेको उनी स्विकार्छन्।

"मैले पहिलो कुरा सोचेको भनेको आफ्नो परिवारको सम्पत्ति हो। त्यो के भयो भन्ने हामीलाई थाहा छैन। सायद हामीलाई जानकारी नै नभई त्यो बिक्री भइसक्यो होला।"

महमुद आफ्नो पढाइ पनि पूरा गर्न चाहन्छन्। "म सिरिया फर्किन चाहन्छु," उनले भने। "तर म महिला सुरक्षा, शासन र कानुनी शासनबारे स्पष्ट हुन चाहन्छु। म अस्थायी सुरक्षा हैसियत गुमाएर शिक्षा र यहाँको स्थायित्वमा जोखिम पुर्‍याउन चाहन्नँ।"

जोर्डनको जर्का सहरमा बस्ने उम कासिम शरणार्थी हुँदाका वर्षहरू सम्झिन्छिन्। "हामीले जोर्डनमा १२ वर्ष बितायौँ," उनले भनिन्। "यहाँ मानिसहरूले हामीलाई परिवारजस्तै गरी स्वागत गरे, तर निर्वासन भनेको निर्वासन नै हो।"

उनले दुःखले घेरिएको खुसीको क्षण व्याख्या गरिन्; खास गरी आफ्ना आफन्तको अभावमा त्यो ज्यादा महसुस हुने उनले बताइन्।

उनी शान्तिपूर्ण सिरियामा फर्किएको सपना देख्छिन् तर देशको चरम आर्थिक अवस्थाबारे पनि उनलाई थाहा छ। "त्यहाँ रहेको मेरो परिवार अझै पनि पीडामा छ। पानी छैन, लगातार बिजुली आउँदैन, महँगी अचाक्ली छ। मानिसहरू कसरी बाँच्न सक्छन्?"

प्रवासमा रहेका थुप्रैको बुझाइ उनको जस्तै छ।

"सत्ता ढलेकोमा हामी खुसी छौँ, तर जोर्डन जहाँ हाम्रो दोस्रो परिवार बनेको छ यहाँ छोड्न पनि उत्तिकै पीडादायी हुनेछ।"

लेबननस्थित ट्रिपोलीमा भेला भएको भिड
तस्बिरको क्याप्शन, लेबननस्थित ट्रिपोलीमा भेला भएको भिड

लेबनानको मस्ना सीमाक्षेत्रमा सयौँ सिरियालीहरू हालैका दिनमा भेला भएका छन्। उनीहरू सिरिया प्रवेश गर्नका लागि पर्खिरहेका छन्।

लेबननले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा शरणार्थीहरू भित्र्याउँछ। यूएनएचसीआरमा दर्ता भएका ७६८,३५३ सिरियाली शरणार्थीहरू अहिले लेबननमा छन्। तीबाहेक दर्ता नभएका धेरै शरणार्थीहरू लेबननमा रहेको ठानिन्छ।

लेबननस्थित यूएनएचसीआरका प्रवक्ता डलाल हार्बले केही मानिसहरू फर्किएको बताएका छन्। लेबननको उत्तरपूर्वी सीमामा रहेको वाडी खालेदजस्ता क्षेत्रहरूबाट अनौपचारिक रूपमा सीमा पार गरेको उनले बताएका हुन्।

"आफ्नो देश आफूले चाहेको समयमा फर्किने अधिकार सबै शरणार्थीमा भएको र उनीहरूको फिर्ती स्वतःस्फूर्त, मर्यादित र सुरक्षित हुनुपर्ने कुरा यूएनएचसीआरले दोहोर्‍याएको छ।"

हार्बले सर्तहरूले दिए यूएनएचसीआर शरणार्थीहरूको फिर्तीलाई सघाउन तयार रहेको बताएका छन्। यस्तो अनिश्चित समयमा सिरियालीलाई "गएर हेर्ने" भ्रमणका लागि पनि सहज भइदिनुपर्ने उनले बताए।

"सिरियाभित्रको अवस्था अझै पनि कस्तो छ बाहिर आउनै बाँकी छ। धेरै सिरियालीहरू विगत साताको विकासको असर थाहा पाउन कोसिस गरिरहेका छन्। उनीहरू कति सुरक्षित छ र अहिलेको समयमा फर्किनु ठिक हो कि होइन भनेर बुझ्न चाहिरहेका छन्," हार्बले थपे।

धेरै सिरियालीका लागि अब के हुने छ भन्ने अनिश्चितताले मन भारी छ। युद्ध, वियोग र विस्थापनका सम्झना अझै छन् र सिरिया फर्किँदा कस्तो हुनेछ भन्ने कल्पना मनमा खेलिरहन्छ।

अहिलेका लागि उनीहरू पर्खिरहेका छन् र हेरिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।