सुदूरपश्चिमका गाउँमा घर फर्किनेहरूसँगै भित्रिने रौनक 'दशैँ लगत्तै हराउँछ'

    • Author, प्रकाश पार्की
    • Role, डडेल्धुरा
  • Published
  • पढ्ने समय: ३ मिनेट

डडेल्धुराको आलिताल गाउँपालिका–७ चाई गाउँमा करन कामीका छोरा हिमाल दशैँका लागि घरको भित्तामा कमेरो पोतिरहेका छन्।

परिवारका सदस्य घरमा भेला भएका चाडपर्वको चटारो छ। तर यो जमघट केही दिनको मात्रै हो।

दशैँ सकिएपछि उनीहरू फेरि रोजगारीका लागि भारत फर्किनेछन्।

करनको पाँच सदस्यीय परिवार रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएको छ।

उनी र उनकी श्रीमती अरूका घरमा सरसफाइको काम गर्छन्। त्यही कमाइले घर खर्च र तीन छोराको पढाइ धान्छन्।

२०८१ साल जेठमा रोजगारीका लागि भारत पुगेका करन असोजको तेस्रो साता दशैँ मनाउन गाउँ फर्किएका हुन्।

दशैँका योजना के छन्?

कुलदेवताको पूजा गर्ने र परिवारसँग चाडपर्व मनाउने उनको योजना छ। त्यसपछि फेरि बेङ्गलोर फर्किनुपर्छ।

"बेङ्गलोरमा घरहरूको सरसफाइको काम गर्छु, झाडु–पोछा लगाउँछु। श्रीमतीले पनि अरूका घरमा खाना पकाउने र सरसफाइकै काम गर्छिन्," उनले भने।

"त्यसैबाट आउने पैसाले आफ्नो र छोराहरूको पढाइ खर्च बेहोर्थें।"

आफ्नै घरमा परिवारसँगै बस्ने रहर भए पनि गाउँमा रोजगारी नपाउँदा परदेश जानुपरेको उनी बताउँछन्।

"मजस्ता सामान्य लेखपढ गरेका मान्छेलाई यहाँ रोजगारी छैन। सरकारले रोजगारी दिएको भए हामी किन घर छाडेर भारत जान्थ्यौँ र?" उनले प्रश्न गरे।

चाई गाउँकै मङ्गल कामीको बाध्यता पनि उस्तै छ। बेङ्गलोरमा चौकीदारको काम गर्ने उनी असोज २४ गते दशैँ मनाउन गाउँ फर्किएका हुन्।

उनकी श्रीमती, छोरा र बुहारी पनि बेङ्गलोरमै बस्छन्। मङ्गल र उनका छोरा भीमले चौकीदारी गरेर परिवारको खर्च जुटाउँछन्।

गाउँमा भएको थोरै जमिन अधियाँमा दिएर सपरिवार भारत गएको मङ्गलको परिवारका लागि पनि दशैँ घर फर्किने केही दिनको अवसर मात्रै हो।

"आफ्नो देशमा रोजगारी छैन। अर्काको देशमा काम गर्न सजिलो छैन। परिवार पाल्नकै लागि भए पनि भारतमा गएर गुजारा गर्नुपरेको छ," उनले भने।

"कोही नेपाल, कोही भारत बस्दा खर्च उत्तिकै हुन्छ। त्यसैले सपरिवार नै भारत पसेका हौँ।"

आफ्नो काममा अर्को व्यक्ति राखेर दशैँ मनाउन आएका मङ्गल पनि चाडपर्व सकिएपछि परिवारसहित बेङ्गलोर फर्किने योजनामा छन्।

करन र मङ्गलको कथा सुदूरपश्चिमका धेरै परिवारको साझा कथा हो।

भारतबाट दैनिक हजारौँ नागरिक फर्किंदै

रोजगारीका लागि भारत तथा अन्य मुलुक पुगेका नेपाली चाडपर्वमा घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ।

सहरमा पढ्ने विद्यार्थी, कर्मचारी र मजदुर पनि दशैँ मनाउन गाउँ पुग्छन्।

मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने, आशीर्वाद लिने र कुलदेवताको पूजा गर्ने परम्पराले उनीहरूलाई गाउँसँग जोडिराखेको छ।

भारतसँग सीमा जोडिएका गौरीफन्टा र गड्डाचौकी नाकाबाट पनि दशैँका बेला ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्किन्छन्।

प्रहरीको तथ्याङ्कअनुसार दशैँको समयमा गौरीफन्टा नाकाबाट दैनिक करिब २,५०० र गड्डाचौकीबाट १,५०० भन्दा बढी नागरिक सुदूरपश्चिम फर्किरहेका छन्।

तर दशैँ सकिएपछि गाउँको दृश्य फेरिन्छ। रोजगारीका लागि गाउँ छोडेर भारत फर्किनेहरूको लर्को लाग्छ।

केही दिनअघि भरिभराउ भएका घर फेरि सुनसान बन्छन्।

गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै रहने अवस्था दोहोरिन्छ। सुदूरपश्चिमका गाउँमा दशैँले आफन्तलाई जोड्छ, घरमा खुसी फर्काउँछ।

तर पर्याप्त रोजगारी नहुँदा त्यो खुसी केही दिनमै छुट्टिनुपर्ने बाध्यतामा बदलिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।