खोरमा बाघ पाल्नुपर्दा लाखौँ रुपैयाँ खर्च, स्रोतको जोहो जटिल

चितवनमा खोरमा पालिएको बाघ
    • Author, ईश्वर जोशी
    • Role, नारायणगढ
  • Published
  • पढ्ने समय: ४ मिनेट

विश्वमा नै दुर्लभ मानिने पाटेबाघ संरक्षणमा नेपालले 'उल्लेखनीय' सफलता हासिल गरे पनि 'समस्याग्रस्त' नाम दिइएका बाघ संरक्षणमा भने चुनौती देखिएको छ।

मुख्यतः मानिसहरूलाई आक्रमण गर्न पुगेका बाघलाई 'समस्याग्रस्त बाघ' भन्ने गरिएको छ।

विभिन्न राष्ट्रिय निकुञ्ज र आसपासका जङ्गलमा हालै गरिएको गणनाअनुसार नेपालमा पाटेबाघको सङ्ख्या बढेको छ र त्यससँगै मानव तथा वन्यजन्तुबीच द्वन्द्व बढ्ने चिन्ता पनि बढेको छ।

नेपालका विभिन्न स्थानमा राखिएका समस्याग्रस्त बाघको संरक्षण र पालनपोषणमा समस्या हुने गरेको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार बस्तीमा पस्ने, मानव वा चौपायामाथि आक्रमण गर्ने तथा घाइते अनि अशक्त भएका कारण जङ्गलमा पुनः छाड्न नमिल्ने बाघलाई नियन्त्रणमा लिएर होल्डिङ सेन्ट्रर वा उद्धार केन्द्रमा राख्ने गरिएको छ।

हाल देशभर १६ वटा समस्याग्रस्त बाघ विभिन्न होल्डिङ सेन्टर तथा उद्धार केन्द्रमा राखिएका छन्।

कहाँ कति छन्

चितवन राष्ट्रिय निकुञ्जमा सात वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा, जावलाखेल सदर चिडियाखानामा तीन वटा, र बाँके राष्ट्रिय निकुञ्जमा एउटा गरी १६ वटा समस्याग्रस्त बाघ रहेका छन्।

तीमध्ये आठ वटा भाले र सात वटा पोथी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर गणेश पन्तले बताए।

ती बाघहरूलाई होल्डिङ सेन्टर र उपचार केन्द्रमा राखेर पालन पोषण गर्दै आएको उनले बताए।

बजेटको अभाव

होल्डिङ सेन्टर तथा उपचार केन्द्रमा रहेका बाघहरूलाई मासु खुवाउन र उपचारका लागि रकमको अभाव हुने गरेको अधिकारीहरूले बताएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार एउटा बाघलाई प्रतिदिन छ किलोग्राम मासु आवश्यक पर्दछ।

चितवन राष्ट्रिय निकुञ्जमा रहेको छ वटा बाघलाई मासु खुवाउन मात्र मासिक १ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको उनी बताउँछन् ।

बाघको रेखदेख गर्ने कर्मचारी, प्राविधिक र उपचार खर्चका लागि पनि ठूलो मात्रामा खर्च हुने गरे पनि सरकारबाट वार्षिक ४ देखि ५ लाख रुपैयाँ मात्र आउने गरेको सूचना अधिकारी थापा बताउँछन्।

वन्यजन्तु उद्धार र उपचारका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन राष्ट्रिय निकुञ्जको आन्तरिक कोषबाट नै खर्च गर्दै आएको उनले बताए।

होल्डिङ सेन्टरको पनि अभाव

उद्धार गरिएको बाघ

बजेट अभावका कारण समस्याग्रस्त बाघ राख्न होल्डिङ सेन्टरको समेत अभाव हुने गरेको छ।

पर्याप्त होल्डिङ सेन्टरको अभाव हुँदा समस्याग्रस्त बाघ राख्न पनि समस्या रहेको छ।

नेपालमा बाघ राख्ने होल्डिङ सेन्टर १७ वटा मात्र रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर गणेश पन्तले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँकेमा एक, शुक्लाफाँटामा दुई र पर्सामा दुई वटा होल्डिङ सेन्टर रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सातमध्ये एउटा होल्डिङ सेन्टर बिग्रिएर बाघ राख्न नमिल्ने अवस्थामा रहेको छ।

समस्याग्रस्त बाघको सङ्ख्या बढ्दै गएको अवस्थामा होल्डिङ सेन्टरको पनि अभाव हुने अवस्था आउन सक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए।

कहाँ कति उद्धार

गत पाँच वर्षमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले २५ वटा बाघको उद्धार गरे भने चितवन र पर्सा राष्ट्रिय निकुञ्जले विगत छ वर्षमा ३१ वटा समस्याग्रस्त बाघको उद्धार गरेको अभिलेख छ।

उद्धार गरिएका बाघमध्ये कसैलाई पनि क्षति नगरेको तर बस्तीमा भेटिएको बाघलाई 'रेडिओ कलर' लगाएर निकुञ्जको मुख्य क्षेत्रमा लगेर छाडिने गरिएको छ भने धेरै उमेरका, अशक्त र सिकार गर्न नसक्ने बाघलाई होल्डिङ सेन्टरमा राखिने गरेको बाघ विज्ञ बाबुराम लामिछानेले बताए।

सन् २०१० देखि २०२४ सम्म गरेको एक अध्ययनले २४५ जनालाई बाघले आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको देखाएको थियो।

उद्धार गरिएको बाघ

'टाइगर स्याङ्क्चुअरी' निर्माण गर्ने योजना

नेपालमा समस्याग्रस्त बाघको सङ्ख्या बढ्दै जान थालेपछि बाघ व्यवस्थापनका लागि 'टाइगर स्याङ्क्चुअरी' निर्माणका लागि सरकारले ५ करोड रुपैयाँ बजेट छुट्याएको अधिकारीहरूले बताएका छन्।

चितवनको देवनगर वन क्षेत्रमा यस्तो आश्रयस्थल निर्माण गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलजिस्ट हरिभद्र आचार्यले बताए।

देवनगरको जङ्गलमा ५० देखि ५२ हेक्टर जङ्गलमा बाघका लागि खुल्ला रूपमा विचरण गर्न मिल्ने गरी 'इन्क्लोजर' निर्माण गर्ने उनले बताए।

टाइगर स्याङ्क्चुअरीमा समस्याग्रस्त बाघहरूलाई राखिने छ। साथै, घाइते र अशक्त बाघहरूका लागि उपचार केन्द्र पनि निर्माण गरिने छ

नेपालमा हालै गरिको बाघ गणना तथा अनुगमनले बाघको सङ्ख्या ४२९ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।