मोदी सरकारलाई दबाव दिँदै कक्रोच जनता पार्टी र विद्यार्थीहरूको धर्ना जारी, राहुल गान्धीको पनि साथ

भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी

तस्बिर स्रोत, INC

तस्बिरको क्याप्शन, प्रधानमन्त्रीको सरकारी निवासबाहिर धर्नामा बसेपछि राहुल गान्धीलाई हिरासतमा लिइएको थियो
Published
पढ्ने समय: ५ मिनेट

भारतको तल्लो सदन लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका छन्।

कक्रोच जनता पार्टी (सीजेपी) ले भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै दिल्लीमा केही सातादेखि विरोधप्रदर्शन गर्दै आएको छ। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपी र विद्यार्थीहरूले उठाउँदै आएका छन्।

दिल्लीमा सीजेपीको आह्वानमा सोमवार भेला भएका हजारौँ मानिसले संसद् भवनतिर मार्च गर्ने प्रयास गरेको भोलिपल्ट कांग्रेस पार्टीले पनि मोदी सरकारमाथि सडकबाटै राजनीतिक दबाव दिन थालेको हो। गान्धीसहितका कांग्रेस नेताहरू मङ्गलवार साँझ प्रधानमन्त्रीको सरकारी निवासबाहिर धर्नामा बसेका थिए।

धर्नामा बसेका राहुल गान्धी, कांग्रेस नेत्री प्रियाङ्का गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका नेता र कार्यकर्ताहरूलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो।

यद्यपि केही घण्टापछि नियन्त्रणमा लिइएका नेताहरूलाई छत्रसाल स्टेडिअमबाट मुक्त गरियो।

राहुल गान्धीले के भने

प्रधानमन्त्री निवासबाहिर धर्नामा बसेका राहुल गान्धी, प्रियाङ्का गान्धी र अन्य नेताहरू

तस्बिर स्रोत, EPA/Shutterstock

त्यसपछि गान्धीले सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गर्दै सरकारसमक्ष पाँचवटा माग राखेका छन्। उक्त भिडिओ छत्रसाल स्टेडिअममा हिरासतमा छँदा खिचिएको थियो।

राहुल गान्धीले भिडिओमा प्रधानमन्त्री निवासबाहिर धर्ना दिने निर्णय किन गरे भन्ने कुरा खुलाएका छन्।

"शिक्षाव्यवस्था किन बर्बाद भइरहेको छ? प्रश्नपत्रहरू किन लीक भइरहेका छन्? भारतमा शिक्षा किन यति महँगो छ? छोराछोरीलाई पढाउँदा मानिसहरू आर्थिक रूपमा किन बर्बाद हुन्छन्? यस्ता प्रश्नहरू सोध्दा कुनै आपत्ति हुनुहुँदैन।"

उक्त भिडिओमा राहुल गान्धीले गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित विद्यार्थीहरूमाथि कुटपिट र अपमान गर्नेहरूविरुद्ध कारबाही अनि विद्यार्थीहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्न माग गरेका छन्।

उनले यो विषयबारे सदनमा बहस हुनुपर्ने अनि मोदी सरकार र उनका गृहमन्त्रीले विद्यार्थीहरूसँग गरेको व्यवहारका लागि क्षमायाचना गर्नुपर्ने कुरा पनि उठाएका छन्।

उनले लोकसभाका सभामुख ओम बिरलासँग भेट गरेर विद्यार्थीहरूको विषयबारे सदनमा बहस गरियोस् भनेर माग गरेको तर सभामुखले त्यसका लागि सरकारको अनुमति चाहिने बताएको जनाएका छन्।

"दिनभरि सरकारको त्यस्तो कुनै मनसाय नदेखेपछि हामीले विद्यार्थीहरूसँग भइरहेको अन्यायप्रति देशको ध्यानाकर्षण गराउन सकियोस् भनेर प्रधानमन्त्री निवासबाहिर धर्ना दिने निर्णय गर्‍यौँ।"

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको प्रतिक्रिया

प्रदर्शनकारीहरूको तारोमा परेका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मङ्गलवार अबेर 'एक्स'मा एउटा पोस्ट गर्दै राहुल गान्धीको धर्नाबारे टिप्पणी गरेका छन्।

उनका अनुसार गान्धीले प्रधानमन्त्री निवासबाहिर धर्ना दिँदा सर्वसाधारण मानिसले सास्ती खेप्नुपरेको थियो।

"संसद्को मनसुन सत्रमा अवरोध सिर्जना गर्न सकियोस् भनेर लोकसभामा विपक्षी नेता राहुल गान्धी र कांग्रेसले विद्यार्थीहरूलाई निरन्तर राजनीतिक रूपमा प्रयोग गरिरहेका छन्," उनको आरोप छ।

उनका अनुसार सरकारले छलफल गर्न तयारी गरिसकेको बताएको भए पनि "कांग्रेसले लोकतान्त्रिक बहसको सट्टा" राजनीतिक प्रदर्शनलाई रोज्यो।

"उनीहरूको उद्देश्य विद्यार्थीहरूको समस्याको समाधान खोज्नु थिएन, बरु राजनीतिक चर्चा कमाउनका लागि अवरोध सिर्जना गर्नु थियो।"

आम आदमी पार्टी पनि बोल्यो

राहुल गान्धीलाई नियन्त्रणमा लिँदै प्रहरी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आम आदमी पार्टीले कांग्रेस र सरकारको मेलजोल भएको आशङ्का व्यक्त गरेको छ

यसैबीच आम आदमी पार्टी (आप) का नेताहरूले कांग्रेसले बीजेपीसँग मिलेर राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

मोदी सरकारले राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्री निवासबाहिर भएको प्रदर्शनमा तुरुन्तै प्रतिक्रिया दिएको तर जन्तरमन्तरमा सोनम वाङ्चुक र कक्रोच जनता पार्टीले विगत केही सातादेखि गरेको आन्दोलनलाई बेवास्ता गरेको तर्क उक्त पार्टीका नेताहरूको छ।

आम आदमी पार्टी कांग्रेसको विरोध गर्दै स्थापना भएको थियो। उक्त पार्टीले दिल्लीमा कांग्रेसलाई सत्ताबाट विस्थापित गरेको थियो। तर अरविन्द केजरीवाल पहिलो पटक सन् २०१३ मा दिल्लीको मुख्यमन्त्री कांग्रेसको समर्थनमा बनेका थिए।

आपले पनि विरोधप्रदर्शनका क्रममा घाइते भएका वा कानुनी कारबाहीको सिकार बनेका युवाहरूलाई सक्दो सहयोग गर्ने वाचा गरेको थियो।

पार्टीका राष्ट्रिय संयोजक केजरीवालले 'एक्स'मा लेखेका छन्, "हिजो बालबालिका (विद्यार्थीहरू) माथि भएको बर्बरता निकै लाजलाग्दो कुरा हो। यदि कुनै विद्यार्थीलाई कानुनी वा मेडिकल सहयोगको आवश्यकता छ भने यो नम्बरमा सन्देश पठाउनुहोस्।"

"हामी तपाईँलाई उत्कृष्ट कानुनी टोली उपलब्ध गराउछौँ। हामी सबै एक हौँ। तपाईँहरू सबै हाम्रा बालबालिका हुनुहुन्छ। तपाईँहरूले डराउनुपर्दैन, हामी तपाईँको साथमा छौँ। हामी मिलेर यो लडाइँ लडौँला।"

सोमवार दिल्लीमा भएको विरोधप्रदर्शनमा कैयौँ मानिस घाइते भएका विवरणहरू आएका छन्।

जन्तरमन्तरमा विरोधप्रदर्शन जारी

जन्तरमन्तरमा पानी पर्दा त्रिपाल ओढेर उभिएका विद्यार्थीहरू

तस्बिर स्रोत, BBC Hindi/Dilnawaz Pasha

दिल्लीको जन्तरमन्तरमा कक्रोच जनता पार्टीका समर्थक र विद्यार्थीहरूले विरोधप्रदर्शनलाई निरन्तरता दिएका छन्।

बुधवार बिहान वर्षा हुँदा पनि प्रदर्शनकारीहरू त्यहीँ बसेका थिए।

उनीहरूलाई समर्थन गर्न विभिन्न राजनीतिक दलका नेता र कलाकारहरू त्यहाँ जाने क्रम जारी छ।

मङ्गलवार साँझ शिवसेना (यूबीटी) का नेता उद्धव ठाकरे र तृणमूल कांग्रेसकी नेत्री महुआ मोइत्रा पनि धर्नास्थलमा पुगेका थिए।

अभिजित दीप्के र उद्धव ठाकरे

तस्बिर स्रोत, @abhijeet_dipke

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।