इरानद्वारा होर्मुज जलमार्ग पुन: बन्द, ट्याङ्कर र पानीजहाजमा आक्रमण भएका विवरण

स्ट्रेट हफ होर्मुज क्षेत्रमा एउटा पानीजहाज।

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ४ मिनेट

इरानले होर्मुज जलमार्गलाई पुनः बन्द गर्ने बताएपछि कयौँ पानीजहाजहरूले आफूहरू आक्रमणमा परेको जानकारी दिएका छन्।

ओमानभन्दा २५ नटीकल माइल टाढा एउटा ट्याङ्कर र एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण भएको हो।

उक्त ट्याङ्करका क्याप्टेनले ब्रिटेनको समुद्री सुरक्षा निकायलाई चालक दल र आफ्नो सवारी दुवै सुरक्षित रहेको जानकारी दिएका छन्। कन्टेनर पानीजहाजले भने आफ्नो कार्गोमा केही क्षति पुगेको विवरण दिएको छ।

अर्को क्रुज पानीजहाजमा ओमानको तट नजिक हमला भएको थियो र नजिकै पानी छचल्किएको महसुस गरेको जनाएको छ।

यसअघि इरानसँग सम्बन्धित पानीजहाजहरूमा अमेरिकाले नाकाबन्दी हटाउन अस्वीकार गरेका कारण आफूले पुनः उक्त जलमार्ग नियन्त्रणमा लिन लागेको इरानी सेनाले बताएको थियो।

होर्मुज जलमार्ग खुलेको घोषणा शुक्रवार गरिएपछि आकस्मिक रूपमा तेलको मूल्य घटेको थियो।

अमेरिकी सेन्ट्रल कमान्डले आफूले सोमवार नाकाबन्दी घोषणा गरेयता २३ वटा पानीजहाजहरूलाई फिर्ता गरिदिएको उल्लेख गरेको छ।

यसअघि मरिन ट्रयाकिङ डेटाहरूले चारवटा एलपीजी ग्यास बोकेका पानीजहाजहरू र कैयौँ तेल पेट्रोकेमिकल ट्याङ्करहरू उक्त स्ट्रेटबाट पार गरेर ओमानको खाडीमा अघि बढेका देखाएका थिए।

इरानी सरकारी सञ्चारमाध्यमले के भन्यो?

होर्मुज जलमार्ग नजिकै इरानी सेना

तस्बिर स्रोत, NurPhoto via Getty images

इरानको सबैभन्दा शक्तिशाली सुरक्षा निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सरकारी टेलिभिजनमार्फत युद्ध पूर्ण रूपमा समाप्त नहुन्जेल र सो क्षेत्रमा शान्ति कायम नहुन्जेल होर्मुज जलमार्गमार्फत हुने पारवहनको अनुगमन र नियन्त्रण लागु गर्न आफू दृढ रहेको बताएको छ।

उक्त विज्ञप्तिमा जलमार्ग पार गर्ने पानीजहाजका विवरण सङ्कलन गर्ने, पारवहन प्रमाणपत्र जारी गरिने र सेवा शुल्क तिर्न लगाइनेसमेत जनाइएको छ।

यसअघि इस्लामिक रिभोल्युश्नरी गार्ड कोर (आईआरजीसी)सँग आबद्ध फार्स समाचार संस्थाले आईआरजीसीको विज्ञप्तिलाई उद्धृत गर्दै इरानको सेनाले होर्मुज जलमार्गमाथि पुनः नियन्त्रण कायम गरेको उल्लेख गरेको थियो।

सेनाको विज्ञप्तिमा अमेरिकाले गरेको 'तथाकथित नाकाबन्दी'लाई 'सामुद्रिक डकैती' भन्दै असन्तुष्टि जनाएको छ।

अमेरिकाले जलमार्गमाथिको नाकाबन्दी हटाउने वाचा पूरा नगरेकाले आफूले होर्मुज जलमार्ग फेरि बन्द गर्नुपरेको इरानी सेनाको भनाइ छ।

यसअघि इरानले अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथि नाकाबन्दी लगाए उक्त जलमार्गलाई बन्द गरिदिने चेतावनी दिएको थियो।

उक्त जलमार्ग खुलेको घोषणा शुक्रवार गरिँदा त्यसले विश्व बजारमा सकारात्मक असर पारेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नहुँदासम्म अमेरिकाले खाडीबाट बाहिर जाने पानीजहाजहरूमाथिको नाकाबन्दी कायम राख्ने बताएका थिए।

स्ट्रेट अफ होर्मुजको सञ्चालन अमेरिका र इरानबीच एउटा विवादको मुद्दा रहँदै आएको छ। शुक्रवार राष्ट्रपति ट्रम्पले दुई देशहरू सहमतिको नजिक रहेको बताएका थिए। तर इरानको संसद्का सभामुखले त्यसलाई अस्वीकार गरेका छन्।

यसअघि शुक्रवार इरानका विदेशमन्त्रीले व्यापारिक जहाजहरूका निम्ति होर्मुज जलमार्ग पुनः खुला गरिएको बताएका थिए। तर जहाजहरूले तोकिएका सुरक्षित मार्गहरू प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।

"लेबननमा भएको युद्ध विरामअनुसार युद्धविरामको बाँकी समयावधिसम्म सबै व्यापारिक जहाजहरूका लागि होर्मुज जलमार्ग पूर्ण रूपमा खुला रहेको घोषणा गरिन्छ र जहाजहरूको आवागमन इस्लामिक गणतन्त्र इरानको 'पोर्ट्स एन्ड म्यारीटाइम अर्गनाइजेशन'ले समन्वयन गर्ने मार्गहरूमार्फत् हुने छ," अरागचीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए।

कतिपय सिपिङ कम्पनीहरूले स्ट्रेट अफ होर्मुज खोल्ने निर्णयको स्वागत गरेका थिए

तस्बिर स्रोत, Getty Images

त्यसपछि इरानको सरकारी टेलिभिजनले 'एक वरिष्ठ सैनिक अधिकारी'लाई उद्धृत गर्दै तोकिएका 'तोकिएका मार्ग' भएर जहाजहरू जान पाउने तर सैनिक जहाजहरूको आवागमन अझै "प्रतिबन्धित" रहेको जनाएको थियो।

के राष्ट्रपति ट्रम्पले भने जस्तै सहमति हुन लागेको हो?

राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा बोल्दै। फाइल फोटो।

तस्बिर स्रोत, AFP via Getty Images

ओभल अफिसमा संवाददाताहरूसँग बोल्दै शनिवार पनि ट्रम्पले इरानसँग 'अत्यन्तै राम्रो कुराकानी भइरहेको' बताए।

अमेरिकाले इरानलाई 'ब्ल्याकमेल' गर्न नदिने बताएका उनले आफूहरूले कडा अडान प्रस्तुत गरिरहेको जनाए।

इरानबाट बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लीज डुसेट भन्छिन्, राष्ट्रपति ट्रम्प छोटो, स्पष्ट र सफल सम्झौताहरू चाहन्छन् र उनी ४७ वर्षदेखी इरानसँगको शत्रुता हुँदा हुँदै पनि केही दिनभित्रै आफू तेहरानसँग सहमतिमा पुग्नसक्ने ठान्छन्।

तर इरानका लागि अमेरिकालाई त्यत्रो ठूलो छुटहरू दिन समय लाग्छ, राजनीतिक इच्छाशक्ति आवश्यक पर्छ र त्यसका लागि लेनदेनहरू चाहिन्छ।

डुसेटका अनुसार थप वार्ताहरूको बाटो खोल्ने हिसाबमा दुवै पक्षबीच समझदारिपत्र तयार पार्ने कुरामा केही प्रगति भएको देखिन्छ।

त्यो भव्य खालको लेनदेन त होइन तर एउटा उल्लेखनीय कदम भने हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।