राष्ट्रपति पदको प्रस्ताव पर्खिँदै नेकपा एकीकृत समाजवादी

माधवकुमार नेपाल
तस्बिरको क्याप्शन, फाइल तस्बिर
Published

राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिँदै गर्दा नेकपा एकीकृत समाजवादीले आफ्ना नेताहरूलाई पनि प्रस्ताव आइरहेको जनाएको छ।

नेपाली कांग्रेस र नेकपा एमाले बाहिरबाट राष्ट्रपति बन्ने अवस्थामा आफ्नो दल विकल्प हुनसक्ने पनि उनीहरूको विश्लेषण छ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने नेकपा माओवादी केन्द्रको प्रस्तावका कारण सत्ता गठबन्धनसँग बहुमत भए पनि अहिलेसम्म अन्योल कायम देखिन्छ।

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीबीसीसँग कुरा गर्दै एमाले र कांग्रेस दुवैसँग बहुमत नरहेकाले विकल्पको रूपमा तेस्रो खोज्नुपर्ने सम्भावना रहेको बताए।

उनले भने, “त्यो तेस्रो खोज्दा माओवादीले पाउँदैन, अनि यतातिर आउने सम्भावना अलिअलि छ नि त।”

पहल गर्ने ‘जमर्को’

एकीकृत समाजवादीलाई आशावादी बनाउने काम पछिल्ला दिनहरूमा भइरहेका छलफलहरूले गरेको जानकारहरू बताउँछन्।

नेताहरूका अनुसार राष्ट्रपतिको दाबी गरिरहेको नेकपा एमालेले एकीकृत समाजवादीका नेताहरूसँग पनि विकल्पको रूपमा छलफल गरिरहेको छ।

उपमहासचिव गङ्गालाल तुलाधरले "गैरएमाले र गैरकांग्रेस" भन्ने अवस्थामा आफ्नो दलको भूमिका स्थापित हुनसक्ने भन्दै अब अग्रसरता लिनुपर्ने सुझाव पार्टीमा पनि आइरहेको जानकारी दिए।

प्रचण्ड, देउवा र नेपाल

उपमहासचिव तुलाधर भन्छन्, “पार्टीले राष्ट्रपति पाउने कुरा अगाडि बढ्यो भने सामूहिक छलफल गरेर जान सकिन्छ भन्ने अनौपचारिक कुराकानी भएको छ।”

एमालेका नेताले राष्ट्रपतिको प्रस्ताव गरेकोबारे जिज्ञासा राख्दा उनले "व्यक्ति तोकेर नभई पार्टीलाई राष्ट्रपति छान्ने प्रस्ताव आउनुपर्ने" जबाफ दिए।

'पहिलो मुख’ खुल्ने प्रतीक्षा

नेकपा एमाले सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहराका अनुसार अहिलेसम्म उनको पार्टी सरकार गठनका बेला भएको सहमतिअनुसार नै हुनेमा विश्वस्त छ।

नेता बोहराले भने, “तर पार्टीभित्रबाट कसलाई उम्मेदवार बनाउने वा विकल्पमा जानेबारे कुनै छलफल भएको छैन।”

एकीकृत समाजवादीका नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष कुरा नभएको तर "अप्रत्यक्ष रूपमा अनेकअनेकसँग भइरहेको" बताउँदै आफूलाई पनि राष्ट्रपतिको प्रस्ताव आएको दाबी गरे।

तर दोस्रो, तेस्रो वा चौथो तहको नेताबाट प्रस्ताव आएकाले राष्ट्रपतिबारे अझै अन्योल रहेको उल्लेख गर्दै नेता खनालले भने, “त्यो पहिलो मुखले के बोल्ने हो भन्ने टुङ्गो नभईकन त छिनोफानो हुन्न नि त।”

उनका भनाइ त्यो पहिलो मुख भनेको एमाले र माओवादीका अध्यक्ष हुन्।

झलनाथ खनाल

कांग्रेसमाथि कस्तो दबाव

कतिपय नेता एमालेले विपक्षी खेमाभित्र अविश्वास सिर्जना गर्ने र एकीकृत समाजवादीभित्रबाटै आकाङ्क्षी बनाएर पुरानो गठबन्धन बिउँताउने कांग्रेसको योजना तुहाउने उद्देश्यले त्यस्तो पहल भइरहेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।

एमाले र माओवादीले आफ्नो दललाई साथ दिएमा राष्ट्रिय सहमति बन्न सक्ने एकीकृत समाजवादीका नेताहरूको विश्वास छ।

तर कांग्रेसले साथ नदिँदा विपक्षी गठबन्धन टुट्ने र राष्ट्रिय सहमति नहुने सम्भावनाबारे नेता खनाल प्रतिप्रश्न गर्छन्, “उनीहरूसँग बहुमत भएर नमाने त राम्रै हो, बहुमत नभई नमान्दा त के अर्थ भयो र?”

प्रचण्ड र ओली

राष्ट्रपतिको प्रस्ताव आएमा अध्यक्ष माधव नेपाल र आफूमध्ये कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्ने उनको भनाइ छ।

कांग्रेसबाट नेता रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन बिउँताउने वचन दिएको बताउने कांग्रेसका नेताहरू त्यसैअनुसार कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नेमा विश्वस्त देखिन्छन्।

red line
रेड लाइन

के पुरानो गठबन्धन बिउँतिन सक्छ?

तर एकीकृत समाजवादीले कांग्रेसलाई साथ नदिएमा राष्ट्रपति चुनावमा अन्य साना दलको भूमिका निर्णायक जानकारहरू बताउँछन्।

एकीकृत समाजवादीभित्र त्यस्तो अवस्थामा कांग्रेसकै उम्मेदवारलाई साथ दिनुपर्ने मत रहेको पाइन्छ।

उपमहासचिव तुलाधर भन्छन्, “हठात् गठबन्धन टुट्दा भएको गल्ती सच्याउने अवस्था भयो भने कांग्रेसले अगाडि सारेको जोसुकैको पक्षमा हाम्रो शक्ति परिचालित हुन्छ।”

नेताहरूका अनुसार प्रचण्डको नेतृत्वमा सरकार बनाउँदा एमालेलाई राष्ट्रपतिमा समर्थन गर्ने समझदारी भएको थियो।

देउवा र प्रचण्ड

सरकारले कांग्रेस लगायतको विश्वासको मत पाएपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादी नेताहरूले बताउने गरेका छन्।

त्यसको निम्ति विकल्पको रूपमा विभिन्न नामहरूबारे चर्चा हुने गरेको छ।

नेता खनालका अनुसार यो साताभित्र टुङ्गो लाग्न सक्छ।