उत्तर कोरियाद्वारा दुई साताभित्र छैटौँ क्षेप्यास्त्र प्रक्षेपण

तस्बिर स्रोत, EPA
उत्तर कोरियाले बिहीवार थप दुइटा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। गत दुई साताभन्दा कम समयभित्र प्योङयाङले छैटौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको "प्रतिक्रिया स्वरूप" पछिल्ला प्रक्षेपण गरिएको प्योङयाङले बुधवार बताएको थियो।
यसअघि मङ्गलवार जापानी आकाशसम्म पुग्नेगरी प्योङयाङले एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गर्यो।
बैठकमा अमेरिकाले उत्तर कोरियाविरुद्ध सशक्त प्रतिबन्धहरू लगाउनबाट रुस र अमेरिकाले रोकिरहेको आरोप लगायो।
मस्को र बेइजिङमाथि आरोप
प्रतिबन्धहरूविरुद्ध मतदान गरेर मस्को र बेइजिङले प्योङयाङलाई "पूरै जोगाएको" राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले आरोप लगाए।
राष्ट्रसङ्घका लागि चिनियाँ र रुसी प्रतिनिधिहरूले चाहिँ सजाय दिनुभन्दा संवाद बढाउनु उत्तम हुने तर्क गरे।
मङ्गलवार प्योङयाङले गरेको क्षेप्यास्त्र प्रक्षेपणको प्रतिक्रिया स्वरूप बुधवार अमेरिका, जापान र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरे।
सन् २०१७ यता पहिलो पटक प्योङयाङले मङ्गलवार जापानी आकाशसम्म बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।
अमेरिकाले प्रतिबन्धित क्षेप्यास्त्रको प्रक्षेपण र सैन्य अभ्यास "एक सरह" नभएको बताएको थियो।
संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणु अस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ।
चेतावनी अथवा सरसल्लाहविना कुनै देशतिर अथवा उसको आकाशसम्म क्षेप्यास्त्र पठाउनु अन्तर्राष्ट्रिय कानुनविपरीत मानिन्छ।
गत सेप्टेम्बरमा उत्तर कोरियाले आफू परमाणअस्त्र सम्पन्न राष्ट्र भएको घोषणा गर्ने एउटा कानुन पारित गरेको थियो।
सातौँ पारमाणविक परीक्षणका निम्ति उत्तर कोरियाली नेता किम जङ अन एउटा उपयुक्त राजनीतिक अवसरको प्रतीक्षामा रहेको जस्तो देखिन्छ।
त्यो समय चिनियाँ कम्युनिस्ट पार्टीको तीन हप्ते महाधिवेशन र अमेरिकी मध्यावधि चुनावको बीचमा हुनसक्ने विश्लेषकहरू ठान्छन्।






















