तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्का आर्थिक सङ्कट: गाडीमा तेल हाल्न कैयौँ दिनको पर्खाइ
लाइनको पहिलो स्थान ढुक्कको ठाउँ हो तर अजिवन सदाशिवमलाई त्यहाँ कति समय पर्खिनुपर्ने हो थाहा छैन।
"म दुई दिनदेखि लाइनमै छु," राजधानी कोलम्बोस्थित एक पेट्रोल पम्पबाहिर व्यग्रताका साथ पालो पर्खिरहेका उनले भने।
ट्याक्सीचालक भएकाले इन्धन उनका लागि जीविकोपार्जनसँग जोडिएको छ तर श्रीलङ्कामा पेट्रोलको आपूर्ति भइरहेको छैन।
सदाशिवमले हामीलाई ट्याक्सीको पेट्रोल मापन गर्ने यन्त्र देखाउँदा त्यसको सुई शून्यमा थियो।
"म कारमै सुतिरहेको छु। बेलाबखतमा खानेकुरा लिन निस्कन्छु तर फर्केर कुर्ने काम गर्छु... धेरै दिनदेखि मैले नुहाएको पनि छैन।"
उनले आफूसँग पर्खनुको विकल्प नभएको बताए: "मैले मेरो परिवार, श्रीमती र दुई सन्तानको रेखदेख गर्नुपर्छ... तेल भए मात्र मैले कार चलाउन सक्छु र घर चल्छ।"
छैन आपुर्ति
कम्तीमा दुई सातादेखि श्रीलङ्कमा इन्धनको आपूर्ति भएको छैन।
केही बचेखुचेको तेल उक्त टापु राष्ट्रका अन्य भागबाट राजधानी ल्याइएको छ।
सदाशिवम छिट्टै ट्याङ्कर आउनेमा आशावादी छन्।
उनले प्रतीक्षा गरिरहेको रित्तो पेट्रोलपम्पलाई श्रीलङ्काली सेनाले पहरा दिइरहेको थियो।
उनले आफ्नो आशा दर्शाउँदै भने, "उनीहरूले आज राति एउटा गाडी आइपुग्ने भनेका छन्।"
"हप्ता नै लागेछ भने पनि मैले पर्खनुपर्छ। म अर्को लाइनमा जान सक्दिनँ।"
समुद्र छेउमा उनी जस्तै पेट्रोल पर्खिनेको लाइन झन्डै दुई किलोमिटर लामो छ।
अचम्मलाग्दो दृश्य चाहिँ त्यस्ता चार वटा समानान्तर लाइन छन्।
एउटा कारका लागि, अर्को बस र ट्रकका लागि र अर्को दुई वटा मोटरसाइकल र टुकटुकका लागि।
सास्तीमाथि सास्ती
उनीहरूले पर्खाइमा पनि दोहोरो मार झेल्नुपर्छ।
जब तेल आइपुग्छ त्यो पाउनका लागि पहिले टोकन दिइन्छ।
हामीले कुरा गरेका मानिसहरूले बताए अनुसार धेरैजसो पेट्रोलपम्पले एकपटकमा १५० टोकन जारी गर्ने गर्छन्।
गाडीको पङ्क्तिको पछाडीपट्टी हामीले जयन्थ अथुकोरलालाई भेट्यौँ जो कोलम्बो बाहिरबाट राजधानी आएका थिए।
उनको आशा १२ लिटर पेट्रोल पाउने मात्र थियो र जसकै भरमा उनले थप पेट्रोल खोज्ने आशा राखेका छन्।
तर सदाशिवम झैँ अथुकोरलासँग टोकन भने थिएन। हामीले कुरा गर्दा उनले आफू पङ्क्तिमा ३०० नम्बरतिर रहेको अनुमान गरेका थिए।
उनले सुनाए, "मैले आज टोकन पाउँछु/पाउँदिन थाहा छैन। हामी ग्यास वा पेट्रोलबिना बाँच्न सक्दैनौँ। हामी गहिरो समस्यामा छौँ।"
कार व्यापारी उनी अहिले तेल पाउन आफ्नै कारमा सुत्न विवश छन्।
सहयोग माग्दै पुटिनलाई पत्र
केही पेट्रोलपम्पले कडा नियम बनाएर स्वास्थ्य सेवा, खाद्यान्न र सार्वजनिक यातायातलाई मात्र तेल दिइरहेका छन्।
इन्धन भित्र्याउन श्रीलङ्का सरकारमाथि दबाव परिरहँदा कोलम्बोले यतिखेर रुससँग सहायता मागिरहेको छ।
राष्ट्रपति गोटाबय राजपक्षले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस विषयमा पत्राचार समेत गरिसकेका छन्।
पेट्रोलपम्प हुँदै अगाडि बढिरहँदा हामीले जगन्नाथनलाई भेट्यौँ।
मुस्कानसाथ उनले आफूले हालसालै किनेको साइकल देखाए।
उनी कुनै बेला ड्राइभर थिए तर पेट्रोल पाउन छाडेपछि उनले काम गर्नै छाडिदिए र आफ्नो बचतबाट साइकल किने।
तर त्यसका लागि सामान्य बेलाभन्दा तीन गुणा बढ्ता पैसा तिरेका थिए।
भाग्यको भर
आफ्नो नयाँ साइकलमा जगन्नाथन गएपछि हामीले अरू तरिकाले आफ्नो भाग्य जाँच्न खोजिरहेकालाई भेट्यौँ।
अघि बढ्न नसकिरहेको टुक-टुकको पङ्क्तिमा केही मानिसहरूले चिट्ठाको टिकेट काट्न खोजिरहेका थिए।
एकजना मजदूर शिरीले आफ्नो परिवारका लागि भन्दै अन्तिममा बचेका सबै २६ वटा टिकेट किने।
"मसँग आम्दानीको केही स्रोत छैन। गाह्रो छ तर हामी धैर्य गर्नुपर्छ।"
गाडीको त्यो स्थिर पङ्क्तिमा कोही टुकटुकभित्र सुतिरहँदा त कोही आपसमा गफ गरिरहँदा शिरीले भने हातमा रहेका टिकेटका चाङमा आँखा डुलाइरहेका थिए।
"के थाहा कुनै दिन मलाई चिट्ठा पर्छ कि," आशावादी भएर उनले भने।
(थप रिपोर्टिङ एन्ड्रिउ क्लरेन्स)