तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिलेको एउटा सहरमा भेटिन्छन् इजिप्टका भन्दा २,००० वर्ष पुराना ममीहरू
"चिहानमाथि बसेको देख्दा केही मानिसलाई अनौठो लाग्न सक्छ तर हामी यसमै अभ्यस्त भइसक्यौँ," चिलेको आरिका बन्दरगाहमा बस्दै आएकी एना मारिया निएटो भन्छिन्।
पेरुको सीमामा रहेको आरिका सहर आटाकामा मरुभूमिको बलौटे क्षेत्रमा छ। आटाकामा विश्वभरिको सबैभन्दा सुक्खा मरुभूमि हो।
सोह्रौँ शताब्दीमा यो तटीय सहर पत्ता लाग्नुअघि त्यहाँ चिन्चोर्रो समुदायको बसोबास थियो।
संस्कृति र सम्पदाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूनेस्कोले उक्त समुदायका मानिसहरूले संरक्षण गरेका ममी अर्थात् मृतकका परिरक्षित शरीरहरू विश्व सम्पदा सूचीमा राखेपछि गत जुलाईमा यो संस्कृतिबारे पुनः चर्चा भयो।
जर्मन पुरातत्त्वविद् माक्स उलले सन् १९१७ मा समुद्री किनारमा केही शवहरू संरक्षण गरेर राखिएको फेला पारेका थिए। 'चिन्चोर्रो ममी'बारे उनैले पहिलो अभिलेख राखेका हुन्।
तर ती परिरक्षित शव कति पुराना थिए भन्ने अनुसन्धान गर्न दशकौँ लाग्यो।
रेडिओकार्बन डेटिङ प्रविधिले अन्तत: ती ममीहरू ७,००० वर्ष पुराना अर्थात् धेरैले थाहा पाएका इजिप्टका ममीभन्दा २,००० वर्ष पुराना भएको देखायो।
चिन्चोर्रो संस्कृति
उलको अनुसन्धानले चिन्चोर्रो ममीहरू मानिसहरूले संरक्षण गरेर राखेका सबैभन्दा पुराना शव भएको प्रमाणित गर्यो।
चिन्चोर्रोविज्ञ समेत रहेका मानवशास्त्री बर्नार्डो एरियाजाका अनुसार चिन्चोर्रोहरूले सुक्खा मौसममा शवलाई प्राकृतिक रूपमा ममी बन्न छोड्नुको सट्टा शवगृह नै बनाएर परिरक्षण गर्ने गरेका थिए।
तर खोजको क्रममा कतिपय प्राकृतिक रूपमै ममी बनेका शवहरू पनि नभेटिएका चाहिँ होइनन्।
आरियाजाका अनुसार शरीरमा ससाना चिरा बनाएर अङ्गहरू झिकिसकेपछि खोक्रो शवको छाला काटेर सुकाउने चलन थियो। त्यसपछि उनीहरू प्राकृतिक छेस्का र रेसाहरू भरेर शरीर सीधा बनाउँथे र नरकटको प्रयोग गरेर छालालाई पनि सिलाउँथे।
त्यसपछि शवको टाउकोमा बाक्लो कालो कपाल टाँसिदिन्थे र अनुहारमा आँखा र मुख मात्रै देखिनेगरी मुखुन्डो लगाएर माटो दलिदिन्थे।
अन्त्यमा रातोमाटो, म्याङ्गनीस र आइरन अक्साइडयुक्त खनिज पदार्थ प्रयोग गरी शरीरमा कालो वा रातो रङ्ग पोतिदिन्थे।
इजिप्टमा भन्दा शरीर सजाउने चिन्चोर्रोहरूको शैली अलि भिन्न थियो।
इजिप्टमा शव संरक्षणका लागि तेल र पट्टी प्रयोग हुन्थ्यो। अनि सम्भ्रान्त तथा कुलीन मानिसको मात्रै ममी बनाइन्थ्यो।
यद्पि चिन्चोर्रोहरूले सबै वर्गका महिला, पुरुष, बच्चा र भ्रूणको पनि शव संरक्षण गर्ने गरेका थिए।
शवसँग बस्दा
गएको शताब्दीमा अफ्रिका र अन्य क्षेत्रमा सयौँ ममीहरू फेला पर्दा स्थानीय मानिसले ती शवसँगै वा धेरैजसो त्यसैमाथि बस्न सिकिसके।
भवन निर्माण गर्दा वा कुकुरलाई सुँघाएर ममी फेला पर्नु केही पुस्ताका सामान्यजस्तै भइसकेको छ। तर धेरै समयसम्म यी शवहरू कति महत्त्वपूर्ण हुन् भन्ने उनीहरूले चाल पाएनन्।
"केही बासिन्दाहरूले हामीलाई कसरी बालबालिका ममीको खप्परको भकुन्डो खेल्थे वा त्यसको लुगा खोजिदिन्थे भनेर सुनाए। तर अब भने उनीहरूलाई त्यस्तो केही फेला पर्दा हामीलाई खबर गर्नुपर्छ भन्ने थाहा छ," पुरातत्त्वविद् जनिना क्याम्पोस फ्युनटेसले भनिन्।
यूनेस्कोले चिन्चोर्रो संस्कृतिको महत्त्व बुझेको भन्दै स्थानीयवासी अना मारिया नियटो र पावलो पिमेन्टल उत्साहित भएका छन्।
चिन्चोर्रो संस्कृतिको महत्त्व समुदायहरूले थाहा पाऊन् भनेर स्थानीय टारापाका विश्वविद्यालयका वैज्ञानिकको समूहसँग महिलाहरूको नेतृत्व रहेको एउटा सङ्गठनले काम गरिरहेको छ।
उनीहरूले नजिकै एउटा सङ्ग्रहालय पनि बनाउने योजना बनाएका छन्।
उक्त योजनाअन्तर्गत स्थानीयवासीले पथप्रदर्शकका रूपमा आगन्तुकहरूलाई आफ्नो सम्पदा देखाउन सकून् भनेर उनीहरूलाई तालिम दिइनेछ।
अहिलेलाई जम्मा ३०० भन्दा बढी चिन्चोर्रो ममी मात्रै प्रदर्शनमा राखिएको छ। तीमध्ये धेरै ममी स्यान्मिगेल डि अजर्पा सङ्ग्रहालयमा राखिएको छ।
आरियाजा र पुरातत्त्वविद् जनिना क्यामपोस पनि अरिका र छिमेकी पहाडमा धेरै रहस्य भएको र त्यो पत्ता लाग्नै बाँकी रहेकोमा सहमत छन्। तर तिनीहरूलाई पत्ता लगाउन भने थुप्रै स्रोतहरू आवश्यक पर्छ।
त्यहाँका नगरप्रमुख खेरार्डो एस्पिन्डोला रोजास विश्व सम्पदा सूचीमा थपिने ममीले पर्यटन प्रवर्धन गर्ने र थप पैसा आउन मद्दत गर्ने आशा व्यक्त गर्छन्।
तर ती क्षेत्रमा सबै काम धेरै सावधान भएर र समुदायसँग मिलेर गर्नुपर्ने उनी बताउँछन्।
"रोमजस्तो स्मारकमाथि नभई आरिकाका मानिसहरू मानवका अवशेषमाथि बसिरहेका छन् र हामीले ममीहरूको संरक्षण गर्नुपर्छ।"
उनका अनुसार सहरी योजनाबारे कानुनहरू छन् र केही नयाँ संरचना बनाउँदा पुरातत्त्वविद्हरू उपस्थित हुन्छन्। त्यसले मुल्यवान् अवशेषहरूमा क्षति पुग्न दिँदैन।
एस्पिन्डोलाले चिलेको अन्य केही भागमा जस्तो आरिकाको सम्पदा क्षेत्र अन्य बहुराष्ट्रिय कम्पनी वा टूर सञ्चालकको हातमा नजाने बताए।
उनका अनुसार त्यहीँका मानिस र त्यहीँको समुदाय सम्पदाबाट लाभान्वित हुनेछन्।
यो पनि हेर्नुहोस्