नेपाल वायु प्रदूषणः झन्डै एक सातादेखि तुँवालो नहट्दा स्वास्थ्यमा विभिन्न समस्या, अवस्थामा सुधार हुन 'अझै केही दिन लाग्ने'

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

तस्बिर स्रोत, EPA

Published
पढ्ने समय: ३ मिनेट

झन्डै एक सातादेखि काठमाण्डूसहित देशका धेरै ठाउँमा तुँवालो र उच्च तहमा वायु प्रदूषण देखिँदा जनस्वास्थ्यमा धेरै समस्या देखा परेको विज्ञहरूले बताएका छन्।

प्रदूषणका कारण दीर्घरोगीमा झन् जटिल समस्या हुन थालेको, गर्भवतीमा बच्चा जन्मँदा समस्या देखिन सक्ने र स्वस्थ मानिसमा समेत कालान्तरमा फोक्सो, मुटु, छालादेखि स्नायुप्रणालीसम्म प्रभावित हुन सक्नेगरी लक्षणहरू देखिन थालेको चिकित्सकहरू बताउँछन्।

विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने आकलन गर्दै सरकारले शुक्रवारसम्म देशभरि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।

वातावरण अधिकारी एवं मौसमविद्हरूले तत्काल वर्षा वा ठूलो वेगको हावाको सम्भावना नदेखिएकाले अहिलेको तुँवालो थप केही दिन रहिरहन सक्ने बताएका छन्।

स्वास्थ्यमा कस्ता समस्या?

काठमाण्डूको एउटा निजी अस्पतालमा श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञका रूपमा कार्यरत एकजना चिकित्सक डा. रक्षा पाण्डेले तत्कालै देखिनेगरी दमका बिरामीमा प्रदूषणका कारण समस्या देखिएको बताइन्।

"दम नियन्त्रणमा रहेका बिरामीमा ज्वरोबिनै छोटो अन्तरालमा घ्यारघ्यार हुने र खोकी लाग्ने जटिलता थपिएको छ," उनी भन्छिन्।

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

तस्बिर स्रोत, Reuters

"अस्पताल नआउनेमा समेत धेरैमा आँखा पिरो हुने, घाँटी खसखस हुने, छाला चिलाउने, नाक चिलाउने, रुघा लागे जस्तो हुने लक्षण देखिएका गुनासो आउन थालेका छन्।"

श्वासप्रश्वास सम्बन्धी विज्ञहरूले वायु प्रदूषणको असर नजानिँदो ढङ्गले मानिसहरूको स्वास्थ्यमा अहिलेभन्दा अघिदेखि नै पर्दै आएको बताउँछन्।

डा. पाण्डे थप्छिन्, "यतिखेर प्रदूषणको तह उच्च भएकाले एकदुई दिनमै मानिसहरूले समस्या महसुस गर्न थालेका हुन्। नत्र प्रदूषणले पुर्‍याउने असर त हाम्रो समग्र आयु नै कम गर्नमा देखिएको अध्ययनहरूले नै देखाएका छन्।"

शिशुमा 'जन्मजात समस्या' देखिने जोखिम

लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा विभिन्न प्रभाव पर्न सक्ने चिकित्सकहरू बताउँछन्।

काठमाण्डूकै एक सरकारी अस्पतालमा कार्यरत श्वासप्रश्वास रोग विशेषज्ञ डा. अशेष ढुङ्गाना भन्छन्, "शिशुको जन्मतौल नै कम हुनेदेखि जन्मजात मुटुसम्बन्धी समस्या र बिस्तारै अन्य रोगहरू देखिने गरेको छ।"

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

तस्बिर स्रोत, EPA

वायुमा हुने सूक्ष्म कण रक्तनलीसम्म पुग्ने भएकाले त्यसले मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्छ।

डा. ढुङ्गाना भन्छन्, "फोक्सो हावा हाम्रो शरिरमा छिर्ने पहिलो माध्यम भएकाले त्यसमा तत्काल उच्च असर देखिने मात्र हो। नत्र त्यसले सबैतिर असर पुर्‍याइरहेको हुन्छ।"

त्यस्ता समस्यामा मस्तिष्काघातको जोखिम बढ्ने, मूत्राशयदेखि पाचन प्रणालीसम्म असर पुर्‍याउने, दीर्घकालमा विभिन्न किसिमका क्यान्सरको जोखिम उच्च हुने बताइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल वायु प्रदूषणः ‘रातो सूर्य सोझै हेर्दा आँखाको दृष्टि गुम्न सक्छ’

प्रदूषण हटाउन कृत्रिम वर्षाको चर्चा

मौसमविद् तथा पर्यावरणविद्हरू अहिलेको तुवाँलो र वायु प्रदूषण तत्काल हट्न ठूलो वर्षा हुनुपर्ने वा हावा लाग्नुपर्ने बताउँछन्।

तर तत्काल वर्षा हुने र तीव्र वेगको वायु चल्ने सम्भावना नदेखिएको जल तथा मौसम विभागले जनाएको छ।

प्रदूषण र स्वास्थ्यसम्बन्धी समस्याबाहेक सामाजिक सञ्जालमा केही व्यक्तिहरूले 'कृत्रिम वर्षा' बारे पनि चर्चा गरेको देखिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यस उपायअन्तर्गत तोप प्रयोग गरेर वा हवाईजहाजमार्फत् सिल्भर आयोडाइड नामक यौगिकलाई बादलमा छर्केर वर्षा गराउने प्रयास गरिन्छ।

क्लाउड सीडिङ भनिने यो विधिमा एउटा ठूलो बादलमा ससाना वाष्पकणलाई एकीकृत गर्दै ठूलो बनाएर वर्षा गराइन्छ।

छिमेकी चीन र भारतजस्ता देशहरूले प्रदूषण नियन्त्रणदेखि खडेरी हटाउन प्रयोग गर्ने गरेको बताइन्छ।

के नेपालमा अहिलेको परिस्थितिमा कृत्रिम वर्षा गराउन सम्भव छ ?

त्यो विधिको उपयोगिताबारे वायुमण्डलविज्ञ डा. अरनिको पाँडे भन्छन्, "अहिले यहाँको धुवाँको कणमा अलिअलि पानी बसेको भए पनि त्यो वर्षा गराउन सकिने खालको भने होइन।"

"नेपालको आकाशमाथि अहिले त्यस्तो पानी पर्न सक्ने खालको बादल देखिँदैन।"

यो विधि प्रयोग गर्दा एक ठाउँमा पर्नुपर्ने पानी अर्को ठाउँमा पर्ने र आवश्यक पर्ने ठाउँमा नभई अन्यत्र पर्ने खालका समस्या पनि देखिन सक्ने पाँडे बताउँछन्।

"खास क्लाउड सीडिङ राम्ररी गर्ने भनेको भएकै बादलले प्राकृतिक रूपले पानी पार्नुअगाडि कृत्रिम ढङ्गले पानी पार्नु हो।"

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

तस्बिर स्रोत, EPA

विधिका हिसाबले त्यतिधेरै जटिल नभए पनि कुन बादलमा गएर सिल्भर आयोडाइड झार्ने र त्यो कति नियन्त्रित ढङ्गले पानी पार्न सकिन्छ भन्ने चाहीँ चुनौती हुने विज्ञहरू ठान्छन्।

एक ठाउँमा धेरै पानी पर्दा अर्को ठाउँमा पर्नुपर्ने पानी नपर्ने पनि हुनसक्छ।

त्यस्ता प्रभावको असर अन्तरदेशीय हुन सक्ने भएकाले कानुनी जटिलतालाई समेत चुनौतीका रूपमा हेर्ने गरिन्छ।

बादलमा पानी हुनु तर नपर्ने अवस्थाका लागि चाहिँ यो विधि उपयुक्त हो।

डा. पाँडे थप्छन्, "नेपालमा अहिले देखिएको अवस्थाका लागि चाहिँ उक्त विधिको प्रभावकारिता खासै देखिँदैन।"