अनुष्का शर्मा र विराट कोहलीलाई पुत्रीलाभ, इन्टरनेटमा बधाईको ओइरो

अनुष्का शर्मा र विराट कोहली

तस्बिर स्रोत, AFP

Published

भारतीय नायिका अनुष्का शर्माले छोरी जन्माएको उनका पति भारतीय क्रिकेट कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा घोषणा गरेका छन्।

कोहलीले ट्वीटमा आफू बाबु बनेको जानकारी दिएपछि भारतमा यो जोडीको नाम ट्विटरमा चर्चित भएको थियो।

"हामी तपाईँको माया र मङ्गलकामनाका लागि मनदेखि नै आभारी छौँ। अनुष्का र हाम्री छोरी दुवै जना सकुशल छन्," उनले लेखेका छन्।

कोहली र शर्माको विवाह सन् २०१७ को डिसेम्बरमा भएको थियो।

"जीवनको यो नयाँ अध्याय अनुभव गर्न पाउनु हाम्रो सौभाग्य हो," भन्दै उनले यतिबेला आफूहरूलाई अलिकति गोपनीयता आवश्यक भएको उल्लेख गरेका छन्।

सो घोषणापछि उनीहरूका प्रशंसकहरूले ट्विटर र इन्स्टाग्राममा कोहली दम्पतीलाई बधाई दिएका छन्।

यो जोडी सामाजिक सञ्जालमा ज्यादै चर्चित छ र दशौँ लाख प्रशंसकहरूले उनीहरूलाई फलो गर्छन्। कोहलीको इन्स्टाग्रामको पोस्टमा मात्र २४ मिनेटमा १० लाख जनाले लाइक गरेका थिए।

शर्मा पनि भारतीय चलचित्र उद्योगमा सफल नायिका हुन्।

उनले पीके, सुल्तान, दिल धडकने दो र ये दिल है मुश्किल आदि विभिन्न चलचित्रमा अभिनय गरेकी छन्।

हालै शर्माले आलोचकहरू रुचाएको वेब शृङ्खला 'पाताल लोक' निर्माण गरेकी थिइन्।

क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक कोहली अस्ट्रेलियासँगको महत्त्वपूर्ण क्रिकेट शृङ्खला बीचमै छोडेर भारत आएका थिए।