तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान्मारका खानीमा ज्यान जोखिममा पारेर बहुमूल्य रत्नको खोजी
सी थु फ्योले बहुमूल्य रत्न जेड खोजी गरिरहेका बेला जमिन हल्लिएको महसुस गरे।
एक्काइस वर्षीय उनी उत्तरी म्यान्मारमा रहेको कचिन प्रान्तस्थित विश्वको सबैभन्दा ठूलो 'जेड' खानीमा काम गरिरहेका थिए। खाल्डोमा बहुमूल्य रत्न 'जेड' खोजिरहेका सयौँ मानिसमध्ये उनी एक थिए।
पहिरो झर्दै गर्दा उनी भाग्न खोजे तर त्यसअघि नै उनी पानी, हिलो र ढुङ्गाबीच फसे।
"मेरो मुख हिलोले भरिएको थियो भने ढुङ्गामा ठोक्किइरहेको थिएँ र पानीको छालले बारम्बार धकेलिरहेको थियो," उनले भने। "म मर्दैछु जस्तो महसुस भयो।"
तर उनी बच्न सफल भए। अस्पतालमा उनले आफ्ना सातजना साथीहरू बाहिर निस्कन असफल भएको थाहा पाए।
खानी क्षेत्रमा गएको उक्त पहिरोमा पुरिएर करिब २०० जनाको मृत्यु भएको थियो।
"हामी दाजुभाइ जस्तै थियौँ। एउटै खाटमा सुत्थ्यौँ," सीले आफ्ना साथीहरूलाई सम्झँदै भने।
उनको साँघुरो घरबाट त्यस दिन उनले रत्न खोजी गरेको पहाड देखिन्छ।
कचिन प्रान्तमा बर्खाका बेला हरेक वर्ष पहिरो जान्छ।
त्यहाँका खानीहरूमा विश्वको करिब ७० प्रतिशत जेड उत्पादन हुन्छ। उक्त बहुमूल्य रत्नलाई चिनियाँहरूले विशेष महत्त्व दिन्छन् र यसको अर्बौँ डलरको कारोबार हुन्छ।
गत महिनाको पहिरो भने हालसम्मकै भीषण थियो।
पहिले-पहिलेका घटनाभन्दा फरक यस पटकको पहिरोको भिडिओ मोबाइल फोनमा कैद भएको छ।
"सामाजिक सञ्जालले मानिसहरूलाई सचेत बनाएको छ," उनले भने।
"यहाँ इन्टरनेट र फोन नहुँदा सरकारी निकाय अनि कम्पनीले देखे नदेखेझैँ गर्ने गर्थे।"
दबावमा परेको म्यान्मार सरकारले एउटा अनुसन्धान समिति बनाएको छ जसलाई प्राकृतिक स्रोत र वातावरण संरक्षणसम्बन्धी मामिला हेर्ने मन्त्रीले नेतृत्व गरेका छन्।
उक्त टोलीले तयार पारेको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ। त्यसको विवरण सार्वजनिक नगरिएको भए पनि घटनामा मृत्यु भएकाहरू "लोभी" रहेको भन्ने ती मन्त्रीको अभिव्यक्तिले धेरैलाई क्रोधित बनाएको छ।
यान नाईङ म्यो पनि त्यो दिन खानीमा थिए। तेलका डब्बा समातेर उनी बचे।
अरू कतिय तैरिरहेका लास समातेर बसेका थिए, उनले भने। ती मन्त्रीको भनाइले उनाई स्तब्ध बनाएको छ।
"सरकारले उनीहरूलाई अनुसन्धान गर्न पठाएको थियो। तर उनीहरूले हामीलाई नै दोष दिइरहेका छन्," उनले भने।
तेइस वर्षका यान नाईङको टाउकोमा १४ वटा टाँका लगाइएको छ भने शरीरभरि चोटको दाग छ।
बर्मेली साहित्यमा स्नातक गरेका उनले सुरुमा छुट्टीका बेला "गोजी खर्च"का लागि जेड सङ्कलनमा लागेका थिए।
पढाइ सकेपछि उनी खानीमै काममा फर्किए। हाल उनी यसलाई मात्रै आफूले गर्न सक्ने कामका रूपमा हेर्छन्।
सी थु भने १० वर्षको हुँदा विद्यालय त्याग्न बाध्य भएका थिए। उनीसहित परिवारका १० जना खानी छेउमै बस्छन्।
सी प्राय बिहान ५ बजे उठ्छन् र पूरा दिन बहुमूल्य रत्नको खोजीमा जुट्छन्।
कानुन नभएको भूमि
रोजगारीको अभाव र गरिबीले जेड खोजी गर्नेहरूलाई प्रेरित गरेको छ।
ती क्षेत्रमा म्यान्मार सरकारको सीमित नियन्त्रणका कारण उनीहरू त्यहाँ काम गर्न योग्य भएको अधिकारवादीहरू बताउँछन्।
म्यान्मारको सेनासँग जोडिएका कम्पनीहरूले त्यस्ता उद्योग नियन्त्रण गर्ने र निकै गोप्य रूपमा काम गर्ने उनीहरूको भनाइ छ।
सशस्त्र विद्रोही समूह र लागुऔषध कारोबार गर्नेहरूले पनि त्यस्ता उद्योगबाट कमाइ गरेको बताइन्छ।
सन् २०१९ मा न्याचुरल रिसोर्स गभर्नेन्स इन्स्टिच्युटले गरेको एउटा विश्लेषणमा म्यान्मारमा उत्खनन गरिने जेडको मूल्य वार्षिक रूपमा करिब १५ अर्ब अमेरिकी डलर हुन आउने अनुमान गरिएको छ।
तर प्राय: उत्खनन गैरकानुनी रूपमा गरिन्छ।
सी थुले जब ठूलो जेड फेला पार्छन् उत्खनन गर्ने कम्पनी र सशस्त्र समूह दुवैले आफ्नो हिस्सा खोज्छन्।
कतिपय बेला उनीहरूले ती बहुमूल्य रत्न लुट्ने समेत गर्छन्।
'आशा हराउँदै छ'
गत महिना पहिरो गएको ठाउँमा मृत्यु भएकाहरूको सम्झनामा फूल राखिएको अनि धूप बालिएको छ।
त्यहाँ पुग्ने दाउ मु मु पनि एक हुन् जो २० घण्टा लामो यात्रा तय गरेर आफ्ना ३७ वर्षे छोराको खोजीका लागि पुगेकी छन्।
"जब म नयाँ शव फेला परेको सुन्छु, त्यो हेर्न म खाल्डो तल झर्छु," उनले भनिन्। धेरै पटक तल र माथि गर्दा उनको घुँडा सुन्निएको छ।
क्षतिपूर्ति बापत सरकार र दातृ निकायले दिएको २,५०० अमेरिकी डलर प्राप्त गर्न उनले आफ्नो छोराको शव फेला पार्नुपर्ने हुन्छ।
"मैले उसलाई गुमाइसकेँ भन्ने मलाई थाहा छ र उसको शव फेला पार्ने आशा पनि कम हुँदै गएको छ," उनले भनिन्।
पहिरो गएको एक महिनापछि मानिसहरू खानीमा फर्किन सुरु गरेका छन्।
पहिरो गएको १० दिनपछि वर्षा भइरहेको एक दिन सी थु खानीमा पुगे। चोट निको होस् भनेर कुरिरहेका उनले त्यसो हुने बित्तिकै काममा फर्कने बताए।
आफ्ना साथीहरूको मृत्यु भएको खाल्डोनजिक उभिएर केहीबेर त्यसतर्फ हेरेपछि उनले भने, "अर्को पटक नराम्रा घटना हुनुअघि नै म भाग्ने छु।"
तस्बिर: प्यो हेन क्वेव (Phyo Hein Kyaw)