तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालको राष्ट्रिय लिग फुटबलमा हात हालाहाल गर्ने खेलाडीलाई कस्तो कारबाही होला
फुटबल मैदानमा सधैँ खेल कला र गोलका सुन्दर दृश्यहरू मात्र देखिँदैनन्। प्रतिस्पर्धाले कहिलेकाहीँ उग्र रूप लिन्छ र मैदानभित्रका खेलाडी, मैदान बाहिरका पदाधिकारी र दर्शकहरू यसका पात्र हुन्छन्।
सोमवार काठमाण्डूको दशरथ रङ्गशालामा त्यस्तै दृश्य देखियो।
शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दावेदार मच्छिन्द्र र मनाङ मर्स्याङदी क्लबबीचको खेल सकिए लगत्तै खेलाडीहरू बीच मैदानमा कुटाकुटमा उत्रिए।
खेलाडी, पदाधिकारी, आयोजक, स्वयम्सेवकदेखि सुरक्षामा खटिएका प्रहरीसम्म सामेल भए, कोही झगडा गर्न त कोही झगडा कम गर्न।
पाँच मिनेटभन्दा बढी चलेको घम्साघम्सी नेपाली फुटबलको इतिहासमा देखिएको अप्रिय घटनामध्येको एक बनेको छ।
तर रङ्गशालाको यो घटनासँगै खेलाडीको अनुशासन, क्लब पदाधिकारीको भूमिका र फुटबलका विषयमा थुप्रै प्रश्नहरु उठेका छन् जसको जवाफ सरल छैन।
के भएको थियो?
निर्णायकले खेल समाप्त भएको जनाउ दिन सिठ्ठी फुक्ने बित्तिकै मैदानमा घम्साघम्सी सुरु भयो।
मनाङ मर्स्याङदीका जगजित श्रेष्ठ, अशोक बराल र रञ्जन श्रेष्ठ एवम् मच्छिन्द्रका दिपक राई र देवेन्द्र तामाङ आक्रामक देखिए ।
बेञ्चका खेलाडीहरू अनि क्लबका पदाधिकारीहरु पनि मैदान छिरे। स्थिति सम्हाल्न प्रहरी नै मैदान छिर्नुपर्यो।
दुबै टोली उपाधिका दाबेदार भएकोले निकटतम प्रतिद्धन्दीसँग अङ्क पाउनु महत्वपूर्ण हुन्थ्यो। त्यसैले स्वभाविकरूपमै खेल टक्करको थियो।
मनाङ मर्स्याङदीका सात जना खेलाडीहरू यसै सिजनमा मच्छिन्द्रमा प्रवेश गरेका हुन्। अर्थात मच्छिन्द्रका अधिकांश खेलाडीहरू आफ्नो पूर्वक्लब विरुद्ध खेलिरहेका थिए।
थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन्, "दुबै टोलीका खेलाडी पदाधिकारीहरूमा इख पनि थियो। यसले खेलमा प्रतिस्पर्धासँगै तनाव पनि बढ्न गयो।"
के कारबाही हुन्छ?
यस्तो घटनापछि अखिल नेपाल फुटबल सङ्घ एन्फाको अनुशासन समितिले कारबाही अगाडि बढाउने गर्छ।
तर लिग फुटबलको यो घटनामा भने अनुशासन समितिसँग समन्वय गरी लिग आयोजन समितिले नै कारबाही गर्ने बताइएको छ।
एन्फा महासचिव इन्द्रमान तुलाधर भन्छन्, भिडिओ फुटेज, रेफ्री रिपोर्ट र म्याच कमिश्नरको रिपोर्टको आधारमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ।"
"त्यो छिटै अर्थात छैटौँ चरणको खेल सुरु हुनु अगावै हुनेछ।"
अनुशासनमा के कस्तो कारबाही हुन्छ भनेर ठ्याक्कै नियम बनाइएको छैन।
घटना र त्यसको प्रकृति अनुसार सजाय दिइने एन्फा पदाधिकारीहरुले बताएका छन्।
विगतमा कस्तो कारबाही भएको थियो?
लिग फुटबलको इतिहासमा सबैभन्दा ठूलो सजाय ४० को दशकमा बालकुमारी खेल मण्डलले भोगेको थियो।
गोलकिपर कप्तान चन्द्र महर्जनले रेफ्रीमाथि हातपात गरेपछि टोलीलाई सिधै बी डिभिजनमा घटुवा गरिएको थियो।
विसं २०६० पछिको लिगमा रेफ्रीमाथि हात हालेकै विषयमा मनाङ मर्स्याङदीका नविन न्यौपाने र विष्णु सुनुवारले एक-एक वर्ष प्रतिबन्धको सजाय पाएका थिए।
न्यौपानेले रेफ्री सुदिश पाण्डेलाई खेलकै दौरान धकेलेका थिए भने सुनुवारले रेफ्री सुरेन्द्र सिखाकारलाई पछाडिबाट आक्रमण गरेका थिए।
दुई वर्ष अगाडि बी डिभिजन लिगको प्रतिस्पर्धामा खेलाडी अफिसियलहरू झगडामा उत्रिएपछि एन्फाले श्रीकुमारी क्लबमाथि प्रतिबन्ध लगायो जसका कारण सो टोली ए डिभिजनमा उक्लिनबाट वञ्चित भएको थियो।
एन्फाको निर्वाचनमा मत चाहिने भएपछि भने टोलीको प्रतिबन्ध फुकुवा भएको थियो।
खेल भावना विपरित काम गरेको भन्दै एन्फाले सात वर्ष अगाडि मध्यपुर युथ एसोसियसनलाई ११ महिना फुटबल खेल्नबाट प्रतिबन्ध लगाएको थियो।
टोलीका केही खेलाडी र पदाधिकारीहरूलाई पनि जरिबाना गरिएको थियो।
एनआरटी क्लबका महासचिव नरेन्द्र श्रेष्ठ भन्छन्, "यदि खेलाडीहरूलाई अहिले नै अनुशासनमा कस्न सकिएन भने बाँकी खेलहरू सञ्चालन गर्न गार्हो हुनेछ।"
"एन्फा यस मामिलामा गम्भीर हुनु जरुरी छ। यदि अहिले कडा कारबाही गर्न एन्फाले खुट्टा कमायो भने यसले लिगका आगामी खेलहरूमा ठूलो समस्या निम्त्याउन सक्छ।"