तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पलायन र कारबाही: दक्षिण एशियाली खेलकुदमा नदेखिने चर्चित नेपाली महिला खेलाडीहरू
लामो समयदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका कतिपय अनुभवी पदक विजेता नेपाली महिला खेलाडीहरु १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग गेम्सको मैदानमा हुने छैनन्।
उनीहरू मध्ये कतिपय विदेश पलायन भएका छन् भने कतिपय छनोटमा पर्न सकेका छैनन्।
विवाहपछि खेल छोडेका, चोटका कारण खेल्न नसक्ने वा कारबाहीमा परेका कतिपय खेलाडीहरू पनि सागमा देखिने छैनन्।
यसले गर्दा साढे चार महिनापछि काठमान्डू र पोखरामा हुने प्रतियोगिताको नतिजामा असर पर्न सक्ने कतिपय प्रशिक्षकहरूको चिन्ता छ।
को को छन् त यो पटक सागमा नदेखिने चर्चित महिला खेलाडीहरू?
विदेश पलायन
तेक्वान्दोमा एक दशक लामो समय बिताएकी यानकुमारी चौलागाईले बाँग्लादेशमा भएको ११ औँ सागमा काँश्य र भारतमा १२ औँ सागमा रजत जितिन्। नेपालमा हुने १३ औँ सागमा उनी स्वर्ण पदकको दाबेदार थिइन्।
उनको सहयात्री ज्ञानी चुनारा पनि गत सागमा जितेको रजत पदकभन्दा माथि उक्लिन चाहन्थिन्।
सन् २०१६ को रियो ओलिम्पिकमा खेलेकी तेक्वान्दो खेलाडी निशा रावलपनि पदककी एकजना दाबेदार हुन्।
तर यी तीनैजना अमेरिका पलायन भइसकेका छन्।
तेक्वान्दो मात्र होइन, अन्य कतिपय खेलका खेलाडीहरुले पनि विदेश रोजेका छन्। जसमा कतिपय पढाइका लागि त कतिपय रोजगारीको लागि विदेशिएका छन्।
एथलेटिक्समा थुप्रै कीर्तिमान रचेकी केशरी चौधरी र सबिता चौधरी; एवम् फुटबलकी सजना राना वैदेशिक रोजगारीका लागि युएईमा छन्।
ब्याडमिन्टनकी दोस्रो वरीयताकी शिक्षा श्रेष्ठ पढाइको सिलसिलामा अष्ट्रेलिया पुगिसकेकी छन्।
बास्केटबल राष्ट्रिय टोलीका चारजना खेलाडीहरूले पनि पढाइका लागि अमेरिका रोजिसकेका छन्।
बास्केटबलको कप्तान सदिना श्रेष्ठ भन्छिन्, "पहिलो रोजाइका खेलाडी नहुँदा त टोलीको संरचनामा नै नराम्रो असर पर्नेछ।"
"बास्केटबलका धेरै खेलाडीहरू विद्यालयपछि उच्च शिक्षाका लागि विदेश नै गएका छन्। देशमा बस्ने हामी थोरै मात्र छौँ।"
कारबाही
जुडोकी खेलाडी फुपु ल्हामु खत्री गत साग गेम्समा स्वर्ण विजेता हुन्। तर नेपाल जुडो संघले अनुशासनको कारबाही गरेकोले उनी यो पटक खेल्ने छैनन्।
ब्याडमिन्टनकी शीर्ष खेलाडी सरादेवी तामाङ चोटका कारण लामो समयदेखि कोर्टभन्दा बाहिर रहेकोले उनी पनि यसपटक नखेल्ने सम्भावना बढी छ।
पदकका यी दाबेदार खेलाडीहरू नहुँदा सागको नतिजामा फरक पर्ने चिन्तामा प्रशिक्षकहरू देखिन्छन्।
तेक्वान्दो प्रशिक्षक दीपक विष्ट भन्छन्, " निश्चित रुपमा असर त पर्छ नै। मुख्य कुरा हामीसंग प्रशिक्षणको लागि समय कम छ।"
"समय प्रशस्त भएको भए नयाँ खेलाडीलाई तयार पार्न सकिन्थ्यो।"
छनोटमा असफल
नेपालको राष्ट्रिय टोलीमा खेलाडी छान्ने दुई तरिका छन्। व्यक्तिगत खेलका लागि छनौट प्रतियोगिता जित्नुपर्छ भने समूहगत खेलहरुका लागि प्रशिक्षकहरूले प्रदर्शनका आधारमा छान्छन्।
समूहगत खेलहरूको छनौटमा यसपाली कैयौा पुराना खेलाडीहरू परेनन्।
भलिबल खेलको छनौट अनौठो भएको खेलाडीहरू बताउँछन्। गत साग गेम्सका छजना खेलाडीहरू यसपाली राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमै परेनन्।
यसरी टोलीमा नपर्ने खेलाडीहरूमा एक दशकभन्दा लामो समयदेखि खेल्दै आएकी कप्तान विनिता वुढाथोकी र उपकप्तान मञ्जु गुरुङ पनि छन्।
यसलाई अस्वाभाविक भन्दै खेलाडीहरूले विरोध गरिरहेका छन्।
गुरुङ भन्छिन्, "प्रारम्भिक चरणकै लागि अयोग्य भएको हुँदा आश्चर्यमा नै परेकी छु। बढी उमेर भन्दै टोलीमा नराखेको भनेका छन्।"
"उमेर हेर्ने हो कि प्रदर्शन मैले बुझिन्। छनौटप्रति मेरो आपत्ति छ।"
छनौटमा नपरेकी अर्की खेलाडी मनिषा चौधरी भन्छिन्, "तर छानिएका खेलाडीहरूभन्दा मैले सँधै राम्रो खेलेको जस्तो लाग्छ र दुख लाग्छ।"
नियम बाधक
राष्ट्रिय खेलकुद परिषद्ले ल्याएको नयाँ नियमका कारण पनि कतिपय चर्चित राष्ट्रिय महिला खेलाडीहरू सागमा नदेखिने सम्भावना छ।
परिषद्ले गत वैशाखमा नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सागको छनौटको आधार मान्दै त्यसमा अनुपस्थित भएकाले खेल्न नपाउने नियम बनाएको छ।
यसले गर्दा विदेशमा बसेर प्रशिक्षण लिइरहेका र सो खेलकुद प्रतियोगिता कारणवश खेल्न छुटेकाहरू प्रभावित भएका छन्।
टेनिसका शीर्ष वरियताको जोडी मायाँका र माहिका राणा अध्ययनका लागि विदेश गएका छन्।
छ महिना अगाडी मात्र १८ औँ एशियाली खेलकुदमा भाग लिएका उनीहरूले फर्केर खेल्न चाहेपनि नियमका कारण पाउने छैनन्।
थुप्रै खेलमा यस्तो समस्या भएकोले कतिपय सङ्घले पुन: छनौटका लागि परिषद्मा निवेदन दिएका छन्।
अखिल नेपाल लनटेनिस सङ्घका अध्यक्ष ज्योति राणा भन्छिन्, "परिषद्लाई लिखित अनुरोध गरेको छु। यदि नियम सच्याइए धेरै खेलाडीले खेल्न पाउनेछन्।"
अमेरिकामा बसेर प्रशिक्षण लिइरहेको बताउने भलिबलकी सिपोरा गुरुङले पनि छनौट खेल्न पाउँ भनि परिषद्मा निवेदन दिएको बताएकी छन्।
दक्षिण एशियाली ओलिम्पिक काउन्सिलले सागमा समावेश हुने कुनैपनि खेलमा पुरुष सँगसँगै महिलाको सहभागिता पनि अनिवार्य बनाएसँगै धेरै महिला खेलाडीहरुले सहभागिताको मौका पाएका हुन्।
सागमा पदक जित्नु नेपालको लागि चुनौतीपूर्ण छ, झन दाबेदार र अनुभवी महिला खेलाडीहरूको अनुपस्थितिले नेपालको प्रदर्शन झनै कमजोर देखिने प्रशिक्षकहरू बताउँछन्।