हावाहुरीले सगरमाथाको माथिल्ला क्याम्पका टेन्ट उडायो, 'आरोहीहरू सुरक्षित'

सगरमाथा
Published

सगरमाथा आरोहणको याम चलिरहँदा आएको हावाहुरीले सर्वोच्च शिखरका माथिल्ला दुई शिविरमा बनाइएका टेन्टहरू उडाएको अधिकारीहरूले बताएका छन्।

फानी र पश्चिमी वायुको असरका कारण बिहीवार बेलुका र शुक्रवार बिहान हुरी चलेको थियो। हुरीले क्याम्प टू र क्याम्प थ्रीमा रहेका झन्डै डेढ दर्जन टेन्ट उडाएको थियो।

थप केही दिन हावाहुरी र वर्षाको पूर्वानुमान गरिएकाले पर्वतारोहण गर्न गएकाहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्यले बताइन्।

"हामीले अत्यन्त जरुरी सूचनाका रूपमा सम्बन्धित क्षेत्रमा पत्राचार गरिसकेका छौँ। अहिले माथिल्ला क्याम्पबाट आधार शिविर झर्ने क्रम चलिरहेको छ।"

'आरोहीहरू सुरक्षित'

क्याम्प टूमा हुरीले केही टेन्ट उडाए पनि कुनै मानवीय क्षति नभएको अधिकारीहरू बताउँछन्।

झन्डै छ हजार चार सय मिटरको उचाइमा रहेको क्याम्प टूमा शिखरतिर जाँदा चाहिने खाद्यान्न, अक्सिजनका सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएको हुन्छ।

फानी

"क्याम्प टूमा भान्छाका सामानसमेत भएका ठूल्ठूला टेन्टहरू उडाएको खबर छ," हाल नाम्चे बजारमा रहेका नेपाल सरकारका एक सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

"त्यस माथिको क्याम्प थ्रीका पालमा समेत असर देखिए पनि त्यहाँ आरोहीहरू भने जाने क्रममा मात्र थिए।"

माथिल्ला क्याम्पमा हिउँमाथि नै टेन्ट राखिने हुँदा ती धेरैजसो ढुङ्गाले थिचेर राख्ने गरिएको आरोहीहरू बताउँछन्।

सगरमाथा

शुक्रवार बिहान क्याम्प टूबाट आधार शिविर झरेका आरोही चतुर तामाङ भन्छन्, "आरोहीहरू स-सना टेन्टमा बस्ने हुँदा उनीहरूलाई असर परेन। तर खाली टेन्टहरू भने हावाले उडायो।"

आधार शिविरमा भने हावाहुरीको कुनै असर परेको छैन। माथिल्ला शिविर र आधार शिविर बीचमा बरफका अस्थिर ढिक्का भएको खुम्बु आइसफल हुँदै आउजाउ गर्नुपर्छ।

त्यसरी हिँड्न बिहान र रातिको समय सुरक्षित मानिन्छ। तर आवश्यक पर्दा अघिपछि आउजाउ गर्दा जोखिम हुने पर्वतारोहीहरू बताउँछन्।

तयारी

मे महिनाको मध्यतिरबाट चुचुरो पुग्न मौसम खुल्ने अनुमान गरिएको छ।

अहिले आरोहीरू उचाइ र त्यहाँको चरम मौसमसँग अनुकूल हुन माथिल्ला क्याम्पमा आउजाउ गरिरहेका छन्।

विगतका वर्षमा पर्वतारोहीहरू धेरै पटक माथिल्ला क्याम्पसम्म आउजाउ गरेर शिखर पुग्ने बाटोका लागि आफूलाई अभ्यस्त गर्थे।

तर विभिन्न अध्ययनले बढ्दो तापमानका कारण खुम्बु आइसफल अस्थिर बनिरहेको सङ्केत गरेपछि धेरै जनाले त्यो अभ्यासलाई एक-दुई पटकमा सीमित पार्न थालेको आरोहीहरू बताउँछन्।

सगरमाथा

सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोले १६ जनाको मृत्यु समेत भएको थियो।

त्यसको विकल्पको रूपमा उनीहरू आसपासका कालापत्थर पर्वत, पुमोरी हिमालका माथिल्ला क्याम्प वनसम्म पुग्न थालेका छन्।

सोलुखुम्बुस्थित बीबीसी संवाददाता सुजाता तामाङ भन्छिन्, "सगरमाथा आधार शिविरमा अहिले सगरमाथा, लोत्से र नुप्से हिमाल चढ्ने पाँच सयभन्दा बढी आरोही छन्।"

उनीहरूलाई सघाउने शेर्पा सरदार, आधार शिविर व्यवस्थापन गर्ने मानिसहरू लगायत अहिले झन्डै दुई हजार मानिसहरू 'टेन्टको सहर' मानिने आधार शिविरमा छन्।