भारत र रुसबीच पाँच अर्ब डलरको अस्त्र सम्झौता हुने

मोदी र पुटिन

तस्बिर स्रोत, Getty Images

Published

मस्कोका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारतको भ्रमण गर्दा भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने बताएका छन्।

क्रेमलिनका प्रवक्ता युरी उषाकोफले रुसले भारतलाई "S-400" नामक विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आपूर्ति गर्ने सहमति जनाएको बताएका छन्।

विश्लेषकहरूका अनुसार सो सम्झौताअन्तर्गत ३० वटा क्षेप्यास्त्र प्रहार गर्ने प्रणाली तथा छ हजारवटा क्षेप्यास्त्र तीन वर्ष लगाएर आपूर्ति गरिनेछ।

ती अस्त्र भारतले चीन तथा पाकिस्तानसँगको उसको सीमाक्षेत्रमा तैनाथ गर्न सक्नेछ।

वाशिङ्टनमा चिन्ता?

यो सम्झौताले रुसविरुद्ध अमेरिकी प्रतिबन्धमा भारतको स्थान के हो भन्ने वाशिङ्टनको चिन्ता बढाउने ठानिएको छ।

खासगरी रुससँगको अस्त्रको निर्भरता भारतले घटाउँदै लगेको अमेरिका हेर्न चाहन्छ।

बढ्दो तनावका माझ रुस र अमेरिकाबीचको सम्बन्ध खराब बनिरहेको छ।

साथै अमेरिकाले सन् २०१७ मा पारित गरेको क्याटसा नामक कानुनले अन्य देशहरूलाई रुसी अस्त्र किन्नबाट निरुत्साहित गर्छ। र, किनेमा त्यस्ता देशविरुद्ध पनि आर्थिक प्रतिबन्ध लगाउन सक्छ।

तर भारत र रुसबीचको सम्बन्ध पनि निकै पुरानो हो।

भारत स्वतन्त्र भएयता देखि नै दिल्ली र तत्कालीन सोभियत सङ्घबीच गहिरो मित्रता रहँदै आएको छ।