बागलुङमा अझै पासो विधिबाट माहुरीपालन

Published

परम्परागत घारमा माहुरीपालन गर्दै आइरहेका काठेखोला गाउँपालिका-७ रेशका किसानले माहुरी भाग्ने र घारबाट छुट्टिने माहुरीको आनीबानीको अध्ययन गरी परम्परागत 'माहुरी पासो' विधि अपनाएर माहुरीपालन गर्दै आइरहेका छन्।

गर्मी समयमा घारबाट माहुरी छुट्टिएर तथा घारमा अन्य जीवले आक्रमण गर्दा भागेर भीरपहरामा पुग्ने माहुरीलाई छोप्नका लागि स्थानीयले पासो विधि अपनाउने गरेको काठेखोला गाउँपालिका ७ का माहुरीपालक कृषक सुरबहादुर थापाले बताए।

माहुरीले एक पटक मन पराएर रोजेको घार लामो समयसम्म नछाड्ने भएकाले अधिकांश स्थानीयले माहुरीले मन पराउने गरी घार तयार गरेर भीरपहरामा लगेर राख्ने गर्दछन्।

स्थानीयले अहिले पनि गर्मी छल्न साँघुखोला लगायतका क्षेत्रमा रहेका भीरपहरामा पुग्ने माहुरीलाई नियन्त्रण गर्नका लागि दर्जनौं घारहरू भीरपहरामै राखेका छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, मौरीपालन व्यवसायमा महिला आकर्षण

माहुरीका घार

घारबाट भाग्ने अधिकांश माहुरीहरू चिसो ठाउँ भएको भीरपहरामा गएर बस्ने भएकाले स्थानीयले उनीहरूलाई नियन्त्रण गर्नका लागिड घरमा तयार गरेका माहुरी घारहरू सोही ठाउँमा लगेर राख्ने गरेको स्थानीय अगुवा युवराज गौतम बताउँछन्।

"परम्परागत तरिकाबाट गर्ने यस पेशाको संरक्षणका लागि बेला बेलामा राज्यले तालिम र अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्छ, कहिलेकाँही मह उत्पादन गर्ने समयमा किराले माहुरीलाई सताउने गर्छ। यसको पनि समस्या समाधानका लागि सोच्न जरुरी छ।'

यसको संरक्षणका लागि राज्यले तालिम तथा अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने सोही गाउँकी मीना थापाले बताइन्।

उनले भनिन्, "यस पेशामा महिलालाई पनि समावेश गराउन सके महिलाको आयस्तर वृद्धिमा पनि टेवा पुग्छ, त्यसैले तालिम दिनुपर्छ। गाउँमा उत्पादन भएको महको माग अत्याधिक भएकाले परम्परागत विधिबाटै कृषकहरूले माहुरीपालन गरिरहेका छन्।"

पासो

भिडिओ क्याप्शन सुरु हुँदैछ, फुटबल खेल्ने मौरी

यहाँ झण्डै ५० घरमा १ सय ५० भन्दा बढी मुढे घारहरू राखिएका छन् भने भीरमा लगेर पनि घार राखेको छन्।

उत्पादन गरेको मह प्रति किलो दुई हजार रुपियाँ भन्दा बढी मूल्यमा बिक्री हुने गरेको बताउँछन्।

गर्मीका बेला तल्लो भेगका माहुरी भागेर माथिल्लो भेगमा र जाडोका बेला माथिका माहुरी तल्लो भेगमा आउने भएकाले सोही अनुसार पासो बनाएर माहुरी समात्ने गरेको गाउँलेहरू बताउँछन्।

रेशका साँघुखोला, डोहोटा लगायत क्षेत्रका भीरपहरामा माहुरीहरू बढी मात्रामा आउने गरेकाले उक्त स्थानलाई वार्षिक भाडा तिरेर माहुरीका घार राख्न बाहिरी क्षेत्रका मानिसहरू इच्छुक रहे पनि त्यो स्थानीयबासीको सम्पत्ति भएकाले अरूलाई नदिइएको काठेखोला गाउँपालिका-७ को वडा कार्यालयले जनाएको छ।