प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेत

प्रदेश ६
Published

प्रदेशहरूले आफै नाम तोक्ने र राजधानी चयन गर्ने प्रक्रिया सुरु भएको छ।

प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय लिइने उक्त संवैधानिक अधिकार प्रयोग गर्ने प्रदेशहरूमा प्रदेश ६ पहिलो बनेको छ।

त्यहाँको प्रदेश सभाको शनिवार बसेको बैठकले प्रदेशको नाम 'कर्णाली' राख्ने र राजधानी सुर्खेत तोक्ने निर्णय गरेको सामाजिक विकास मन्त्री दल रावलले बीबीसीलाई बताए।

यसअघि पनि सरकारले प्रादेशिक कामकाजको अस्थायी कार्यसञ्चालन केन्द्रका रुपमा सुर्खेतलाई नै तोकेको थियो।

प्रस्ताव

प्रदेशको नामको प्रस्ताव नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले गरेका थिए भने काँग्रेस सांसद दिनबन्धु श्रेष्ठ र माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले समर्थन गरेका थिए।

३७ जना सांसद उपस्थित रहेकोमा ३७ जनाले नै उक्त प्रस्तावको पक्षमा मतदान गरेका छन्।

केही विवादित हुने ठानिएको प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव भने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गरेका थिए र एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले समर्थन जनाएका थिए।

उक्त प्रस्तावको पक्षमा ३६ मत र विपक्षमा एक मत परेको छ।

राप्रपाकी सांसद सोशिला शाहीले विपक्षमा मतदान गरेकी थिइन्।

व्यवस्था

सविधानको धारा २८८ को २ मा सरकारले तोकिएको अस्थायी केन्द्रलाई प्रदेश सभाको दुई तिहाइ बहुमतले परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ।

त्यस्तै धारा २९५ को २ मा प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था रहेको छ।

सरकारले अस्थायी केन्द्र तोक्दा नै विवादित बनेका प्रदेशहरुले भने राजधानीबारे निर्णय गर्न बाँकी छ।

त्यस्ता प्रदेशमा १, २, ३, ५ र ७ छन्।