लाइभ, भोटेकोशी-त्रिशूली बाढी : शव फेला क्रम पर्ने क्रम जारी, कम्तीमा १६२ जनाको मृत्यु भएको पुष्टि

रसुवामा बुधवार स्थानीय भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण धनजनको ठूलो क्षति भएको छ।

सारांश

  • रसुवाको भोटेकोशी नदी र तल त्रिशूलीमा बुधवार आएको बाढीका कारण धनजनको ठूलो क्षति, बिहीवार बिहानसम्म कम्तीमा १६५ जनाको शव फेला परेको पुष्टि
  • क्षतिबारे विवरण आउने क्रम जारी
  • बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारद्वारा आग्रह
  • विपद्‌का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह
  • प्रभावित स्थानको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री प्रस्थान

लाइभ कभरेज

  1. ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन

    नेपाली सेना उद्धारमा खटिँदै

    तस्बिर स्रोत, RSS

    भोटेकोशी-त्रिशूली बाढीपछि ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार सुरक्षा निकाय, पर्यटक र सर्वसाधारण गरी ८२६ जना सम्पर्कविहीन छन्।

    तीमध्ये सबैभन्दा धेरै नेपाली सेनाका ४४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

    त्यसै गरी नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्।

  2. अहिलेसम्म हामीलाई के थाहा छ?

    सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना बिहीवार नुवाकोटको श्री नं १ तालिम केन्द्रमा पुगेर हिजो रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते हुनुभएका र बाढीबाट उद्दार गरिएको व्यक्तिहरूसँग कुराकानी गर्दै

    तस्बिर स्रोत, RSS

    सीमावर्ती जिल्ला रसुवामा तिब्बत हुँदै आएको भोटेकोशी र तल त्रिशूली नदीमा बुधवार बिहान आएको विनाशकारी बाढीपछि बिहीवार बिहानसम्म कम्तीमा १६५ जनाको शव फेला परेको र सयौँ मानिस अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ।

    प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा शवहरू फेला पर्ने क्रम जारी छ।

    प्रभावित स्थानबाट उद्धार गरिएका ४१ जनालाई काठमाण्डू र नुवाकोटको त्रिशूलीमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जनाएको छ।

    प्राधिकरणले जनाए अनुसार पर्यटकहरू र विभिन्न निकायका सुरक्षाकर्मीहरूसहित ८२६ जना सम्पर्कविहीन छन्। तीमध्ये पर्यटकको सङ्ख्या ५७९ रहेको प्राधिकरणले जनाएको छ।

    नेपाली सेनाका अनुसार रसुवा र नुवाकोटमा घाइते र जोखिममा परेका मानिसहरूलाई बिहानदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ।

    विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी र सर्वसाधारण नागरिकहरूको उद्धार गर्न सेनाका हेलिकप्टरहरू खटेका छन्।

    रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको र हाकुस्थित एउटा जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनाको जीवितै उद्धार गरिएको पनि सेनाले जनाएको छ।

    प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान ९ः३० बजे बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि काठमाण्डूबाट हिँडेको उनको सचिवालयले जनाएको छ। उनीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि छन्।

  3. प्रधानमन्त्री बालेन गाडीबाट नुवाकोट जाँदै

    नुवाकोट बाढी

    तस्बिर स्रोत, Reuters

    प्रधानमन्त्री वालेन्द्र शाह बालेन बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर हिँडेका उनको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि नुवाकोट गएका छन्।

    प्रधानमन्त्री शाहले नुवाकोटको विदुर र आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने योजना रहेको उनको सचिवालयले जनाएको छ।

    स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे प्रधानमन्त्रीको टोलीले छलफल गर्ने बताइएको छ।

    बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ।

  4. जलविद्युत्‌ आयोजनाको सुरुङबाट सात जनाको जीवितै उद्धार

    उद्धार गरिँदै

    तस्बिर स्रोत, RSS

    रसुवाको हाकुस्थित एउटा जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनाको जीवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

    अन्य तीनवटा सुरुङमा फसेकाहरूको पनि उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ।

    सेनाका अनुसार अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ।

  5. ८०० जनाभन्दा धेरै सम्पर्कविहीन

    रसुवाको भोटेकोशी-त्रिशूली बाढीमा ८०० जना भन्दा धेरै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार सुरक्षा निकाय, पर्यटक र सर्वसाधारण गरी ८२६ जना सम्पर्कविहीन छन्।

    बाढीपछि सम्पर्कविहीन रहेकामध्ये सबैभन्दा धेरै ५७९ जना पर्यटक छन्। नेपाली सेनाले चीनसँगको सीमा नजिकैको टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको जीवितै उद्धार गरिएको जनाएको छ।

  6. भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत् आयोजना क्षतिग्रस्त

    भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा अपूरणीय क्षति पुगेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    जलविद्युत् आयोजनासहित प्रसारण लाइन र सवस्टेशनमा क्षति पुगेका छ। नुवाकोट र रसुवामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

    नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न अध्ययन थालिएको राससलाई बताए।

    नुवाकोटमा उत्पादित विद्युत् काठमाण्डू पठाइने किस्पाङ-५ पैरेबेँसीस्थित सवस्टेशन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रलाई बाढीले बगाएका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा निरन्तरताका लागि आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको उनले जानकारी दिए।

    बाढीका कारण क्षतिग्रस्त भएका जलविद्युत् केन्द्रमा रसुवास्थित रसुवागढी जलविद्युत् केन्द्र १११ मेगावाट, लाङ्टाङ खोला २० मेगावाट, लाङ्टाङ-भोटेकोशी १२० मेगावाट, चिलिमे २२ मेगावाट, निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोजना २१६ मेगावाट छन्।

    नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २१ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा पनि क्षति पुगेको छ।

    ती संरचनाको अधिकांश भाग पूर्ण क्षतिग्रस्त अवस्थामा रहेकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिए।

  7. नुवाकोट र रसुवामा राहत आधार कार्यालय स्थापना : गृह मन्त्रालय

    बुधवार भोटेकोशी नदीमा एक्कासि आएको बाढीपछि राहत र उद्धार कार्य तीव्र बनाइएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।

    “हाम्रो एउटा टोलीले अवस्था विश्लेषण पनि गरिरहेको छ। निजी क्षेत्रको हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टरहरू उडिसकेको अवस्था छ,” गृह प्रवक्ता आनन्द काफ्लेले भने।

    “यसैको समन्वयका लागि गृहका एकजना सहसचिव अहिले विमानस्थलमै हुनुहुन्छ।”

    राहत र उद्धारलाई सहजीकरणका लागि धुन्चे र नुवाकोटमा दुईवटा आधार कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।

    “नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अहिले बट्टारमा भएका बेसहरू, गुल्म र तालिम केन्द्रहरूमा बन्दोबस्ती व्यवस्थापनका लागि बेस स्थापना भएको छ,” उनले भने।

    “त्यसका लागि पनि नेपाल प्रहरीको एउटा टोली त्यहाँ बिहानै गइसकेको छ।”

  8. १६२को शव सङ्कलन, सयौँ हराइरहेका: नेपाल प्रहरी

    बाढीका कारण ज्यान गुमाएकाहरू मध्येमा नेपालमा हालसम्म १६२ भन्दा बढीको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।

    सम्पर्कविहीन हुनेहरूमा २७ भन्दा बढी देशका सयौँ पर्यटकहरू पनि छन्।

    हराइरहेकामध्ये १०० भन्दा बढी भारतका ५४ जना अमेरिकाका ३४ जना अस्ट्रेलियाका र ३३ जना यूकेका रहेका अधिकारीहरूले बताएका छन्।

    तिब्बतमा पनि तीनजनाको मृत्यु भएको र २६५ जना हराइरहेको राज्य सञ्चालित मिडियाले जनाएको छ। नेपालमा दर्जनौँ प्रहरी र सैनिकहरू पनि हराइरहेका छन्।

    बाढीमा प्रभावितको खोजी तथा उद्धार जारी छ

    तस्बिर स्रोत, Reuters

  9. बाढीका कारण मृत्यु भएका १५७ जनाको शव फेला परेको प्रहरीद्वारा जानकारी

    बुधवारको बाढीका कारण मृत्यु भएकाहरूमध्ये राति ११:०५ बजेसम्म १५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार तीमध्ये ६४ ओटा शव चितवन जिल्लामा प्राप्त भएका छन्।

    खोज तथा उद्धारका लागि ३,३१८ जना प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ।

    बाढीबाट पुगेको क्षतिको विवरण झल्काउने ग्राफिक्स

    तस्बिर स्रोत, Nepal Police

  10. नेपाली सेनाले 'रातभर उद्धार र खोज जारी राख्ने'

    नेपाली सेनाले बुधवार रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडितको उद्धार र खोज जारी राख्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपील भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने उसको भनाइ छ।

    "नेपाली सेनाले उद्धारका लागि थप समन्वयका साथ हेलिकप्टरहरूको प्रभावकारी परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रहरूबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग, जमिनमा थप फौज तैनाथ, विस्तृतमा खोज तथा उद्धार गर्नुका साथै अन्य सुरक्षा निकाय, सरोकारवाला संस्थाहरू तथा जनमानससँगको समन्वयमा लक्षित वर्गको उद्धार जारी राख्ने" पनि प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

    आज दिनभर यस कार्यमा १,६९७ जना सैनिक परिचालन भएकामा थप तयारीका लागि ६५६ जना फौज तयारी अवस्थामा राखिएको जानकारी उसले दिएको छ।

  11. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपील

    सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित मानिसको व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्न सबैलाई अपील गरेको छ।

    उसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्दै उद्धार कोषका आठ ओटा र राहत कोषका एउटा खाताको विवरण पनि सार्वजनिक गरेको छ।

    यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले "विपद्‌का लागि आफूखुसी सहयोग सङ्कलन नगर्न/नगराउन" अनुरोध गरेको थियो।

  12. सडक र पुलमा रु. १५ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन

    बुधवार आएको भीषण बाढीका कारण सडक र पुलमा गरी रु. १५ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन रहेको सडक विभागका प्रमुखले बीबीसीलाई बताएका छन्।

    “कुल १९ वटा पुल र ४० किलोमिटर सडकमा गर्दा १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक आकलन छ,” विभागका महानिर्देशक विजय जैसीले बीबीसी न्यूज नेपालीसँग भने।

    पुल बगेका स्थानमा बिहीवारबाटै बेलिब्रीज राख्न थालिने उनले जानकारी दिए। “हामीसँग पनि बेलिब्रीज छन् र मित्र राष्ट्रहरू भारत तथा चीनलाई पनि उपलब्ध गराउन अनुरोध गरिसकेका छौँ,” जैसीले अगाडि थपे।

    अकस्मात्‌ आएको विनाशकारी बाढीले विभिन्न सडकखण्डहरूमा क्षति पुर्‍याएको विभागले जनाएको छ।

    महानिर्देशक जैसीका अनुसार स्याफ्रुबेँसी-रसुवागढीबीच पूर्ण रूपमा सम्पर्क टुटेको छ।

    गत वर्षको बाढीपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेकोमा फेरि उक्त खण्ड बाढीको चपेटामा परेको छ।

    अर्कोतर्फ गल्छी-बैरेनी सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ। लेदो हटाउन सकस भइरहेको अधिकारीहरूले बताएका छन्।

    सडक तथा पुल

    तस्बिर स्रोत, RSS

  13. भारतले १० टन औषधि र सहायता सामग्री पठाउन लागेको जयशङ्करको भनाइ

    भारतद्वारा प्रदान गर्न लागिएको सहायता सामग्री

    तस्बिर स्रोत, X/DrSJaishankar

    नेपालको बाढीबाट प्रभावित भएकाहरूका लागि भन्दै भारत सरकारले १० टन औषधि र सहायता सामग्री नेपाल पठाउन लागेको भारतका विदेशमन्त्री एस जयशङ्करले जानकारी दिएका छन्।

    सामाजिक सञ्जाल 'एक्स' मा जयशङ्करले पठाउन लागिएका सहायता सामग्रीका केही तस्बिर पनि पोस्ट गरेका छन्।

    उनले विपद्‌को समयमा भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहने पनि भनेका छन्।

  14. रसुवा बाढीका कारण छवटा प्रसारणलाइन अवरुद्ध

    रसुवामा बुधवार बिहान आएको भीषण बाढीबाट छवटा प्रसारणलाइन अवरुद्ध भएको सरकारले जनाएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार बाढीका कारण त्रिशूलीको २२० केभी सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने अन्य प्रसारणलाइनमा क्षति हुँदा विद्युत्‌ प्रवाह अवरुद्ध बनेको छ।

    चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ।

    समुद्रटार-त्रिशूली १३२ केभी प्रसारणलाइन, चिलिमे-त्रिशूली ६६ केभीलगायत प्रसारणलाइन अवरुद्ध भएका छन्।

    अन्य केही प्रसारणलाइनको टावरमा समस्या उत्पन्न भएको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ।

    वैकल्पिक उपायबाट सञ्चालन हुन सक्ने स्थानबाट आंशिक क्षेत्रमा विद्युत्‌ प्रणाली सञ्चालनको प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

  15. चितवनमा नदी क्षेत्रमा शवहरू फेला परेको प्रमुख जिल्ला अधिकारीको भनाइ, ईश्वर जोशी, चितवन

    चितवनमा त्रिशूली नदीको बाढी

    तस्बिर स्रोत, BBC/Ishwor Joshi

    रसुवाकाे बाढीले बगाएर ल्याएका ३७ वटा शव चितवन जिल्लामा फेला परेकाे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्।

    चितवनकाे कुरिनटारदेखि भरतपुर महानगरपालिकाकाे १६ नम्बर वडा सम्ममा उक्त शवहरू फेला परेकाे उनले बताए।

    नदीकिनारवरपर शवहरू भेटिन थालेपछि सुरक्षाकर्मीहरू परिचालन गरी शव खाेज्ने कार्य भइरहेकाे छ।

    नदीकिनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी परिचालित छन्।

    बाढीकाे जाेखिमका कारण नारायणगढ-मुग्लिङ सडक भएर चल्ने सवारीसाधनहरूलाई अर्काे सूचना जारी नभएसम्म सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यलय चितवनले विज्ञप्ति जारी अनुरोध गरेको छ।

  16. विपद्‌का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले "विपद्‌का लागि आफूखुसी सहयोग सङ्कलन नगर्न/नगराउन" सबैसँग अनुरोध गरेको छ।

    "महाविपत्तिको यस घडीमा केही व्यक्ति र समूहले प्रभावितहरूको राहतका लागि भन्दै आर्थिक सहयोग सङ्कलन गर्न थालेको, कतिपयले नगद सहयोगका लागि क्यूआर कोडसमेत शेअर गरेको गुनासो" प्राप्त भएको भन्दै प्राधिकरणले त्यसो नगर्न सचेत गराएको छ।

    सरकारले आह्वान गरेबाहेक कुनै संस्था वा व्यक्तिलाई विपद्‌का नाममा सहयोग नगर्न उसले आग्रह गरेको छ।

    कसैले अनधिकृत रूपमा पैसा उठाएको थाहा भएमा प्राधिकरणको फोन नम्बर ०१-४२१११९७ मा खबर गर्न उसले अनुरोध गरेको छ।

  17. साँझ ७ बजेसम्म ९५ जनाको शव फेला परेको सरकारद्वारा पुष्टि

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयले बुधवार बिहान रसुवालगायतका जिल्लामा आएको बाढीका कारण हालसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

    बुधवार साँझ प्रकाशित विज्ञप्तिमा उसले नेपाली सेनामा कार्यरत ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएको पनि जानकारी दिएको छ।

    साथै ३९१ जना विदेशी र ९३ जना कर्मचारी पनि सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ।

    मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको सरकारको भनाइ छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको विज्ञप्ति

    तस्बिर स्रोत, PMO Nepal

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको विज्ञप्ति

    तस्बिर स्रोत, PMO Nepal

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको विज्ञप्ति

    तस्बिर स्रोत, PMO Nepal

  18. भोटेकोशी बाढीबाट ५० जनाभन्दा बढीले ज्यान गुमाएको प्रधानमन्त्रीको भनाइ

    भोटेकोशी बाढीपछि नुवाकोटको एक ठाउँको अवस्था

    तस्बिर स्रोत, EPA

    प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले बुधवार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ५० भन्दा बढी नेपालीहरूको मृत्यु भइसकेको बताएका छन्।

    आफ्नो भेरिफाइड फेसबुक पेजमा उनले लेखेका छन्, "बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ।"

    उनले बाढीबाट भएको भौतिक र मानवीय क्षतिले सिङ्गो देश नै स्तब्ध र मर्माहत भएको बताएका छन्।

    "यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको छ," बालेनले लेखेका छन्, "बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ।"

  19. नेपाल-चीन सीमामा किन दोहोरिरहन्छन् विनाशकारी बाढीपहिरो

    नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रको भौगोलिक बनोट, हिमतालहरूको स्थितिमा भइरहने परिवर्तन तथा वर्षायाममा हुने भारी वर्षाका कारण उक्त क्षेत्रमा आकस्मिक विपद्का घटना दोहोरिने गरेका विज्ञहरूले बताएका छन्।

    बुधवार बिहान रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला प्रभावित भएका छन्।

    तीब्बती क्षेत्रमा थुप्रै हिमताल रहेका र नेपालतर्फका भिरालो भूभागतर्फ थुप्रै बस्तीहरू हुनाले हिमताल विस्फोटन र हिमपहिरोबाट हुने दुवै प्रकृतिका क्षति उक्त क्षेत्रले बेलाबखत बेहोर्ने गरेको छ।

    त्यसका मुख्य कारण के हुन् त? विस्तृत सामग्री पढ्नुहोस्।

  20. हालसम्म थाहा भएका सम्पर्कविहीन २७ देशका ४०३जना

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज विहानको बाढीमा परि हालसम्म सम्पर्क विहीन रहेकाहरूको सङ्ख्या ४०३ रहेको छ। त्यसमा ६२ जना नेपाली र अन्य ३४१ जना विदेशी नागरिकहरू रहेको जनाइएको छ। ती मध्ये २०० जना महिला र २०३ जना पुरुष रहेका छन्।

    सम्पर्कविहीन विदेशीहरूमा १३३ जना भारतका, ४७ जना अमेरिकाका र ३३ जना ब्रिटेनका गरि विभिन्न २६ देशका रहेका बुझिएको छ।

    ती अधिकांश मानसरोवर यात्रा गर्ने क्रममा रहेका यात्रुहरू रहेको टुर अपरेटर्सहरूलाई उद्धृत गर्दै बोर्डले जनाएको थियो।