कोभिड-१९ः विश्वमा कोरोनाभाइरसका नयाँ 'फ्लर्ट' भेरिअन्टहरूको बिगबिगी

कोभिड भएकी एक महिला आराम गर्दै

तस्बिर स्रोत, Getty Images

Published

अहिले विश्वमा कोरोनाभाइरसका नयाँ भेरिअन्टहरूको एउटा समूह सबैभन्दा बढी फैलिएको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

कोभिड-१९ महामारी फैलिएपछि उत्पन्न भएका भेरिअन्टमध्ये यी नयाँ हुन्।

एफएलआईआरटी (FLiRT) अर्थात् 'फ्लर्ट' उपनाम दिइएको उक्त समूहका भाइरसबारे थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा यहाँ प्रस्तुत गरिएको छ।

'फ्लर्ट' के हो?

यो नाम औपचारिक होइन। सम्बन्धित भेरिअन्टहरूको आनुवंशिक सङ्केत (जेनेटिक कोड) मा हुने उत्परिवर्तन (म्यूटेशन) का नामका आधारमा उक्त समूहलाई FLiRT (फ्लर्ट) भनिएको हो।

कोरोनाभाइरसको मुख्य भेरिअन्ट जेएन.१ (JN.1) बाट उक्त समूहमा पर्ने भेरिअन्टहरू उत्पन्न भएका हुन्। कोभिड गराउने कोरोनाभाइरसको ओमिक्रोन स्ट्रेनमा म्यूटेशन भएपछि जेएन.१ भेरिअन्ट बनेको थियो।

'फ्लर्ट' कोरोनाभाइरसको सतहमा हुने काँडेदार 'स्पाइक प्रोटीन'मा मुख्यतः तीनवटा उत्परिवर्तन भएको र त्यसबाट तिनले मानिसको शरीरमा उत्पन्न हुने रोगप्रतिरोधात्मक तत्त्व 'एन्टिबडी'लाई छल्न सक्ने जोन्स हप्किन्स यूनिभर्सिटीले जनाएको छ।

यूकेको स्वास्थ्य सुरक्षा निकायले नयाँ भेरिअन्टहरू कति गम्भीर र सङ्क्रामक छन् भनेर जान्न "थप तथ्याङ्क" आवश्यक भएको जनाएको छ। तर यूकेमा फैलिएका अरू भेरिअन्ट र फ्लर्ट भेरिअन्टका कारण हुने कोभिडको गम्भीरतामा फरक भएको प्रमाण अहिले उपलब्ध नभएको उसले जनाएको छ।

के कोभिड हुने बिरामीको सङ्ख्या बढेको हो?

डब्ल्यूएचओको ताजा प्रतिवेदनमा एप्रिल महिलाको अन्त्यदेखि मे महिनाको अन्त्यसम्मका सङ्क्रमणको समीक्षा गरिएको छ।

प्रतिवेदनका अनुसार अघिल्लो महिनाको तुलनामा त्यस अवधिमा सङ्क्रमितको सङ्ख्या घटेको छ। यद्यपि केही देशमा मानिसहरू निरन्तर बिरामी परेका थिए।

विचार पुर्‍याउनुपर्ने कुरा के हो भने अहिले कोभिड परीक्षण गर्ने र बिरामीको लगत राख्ने काम पहिलाको जस्तो व्यापक छैन।

कोभिड परीक्षण गर्न सङ्कलित नमुना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मानिसहरू अहिले पहिलाको जस्तो कोभिड परीक्षण गराउन जाँदैनन्

यद्यपि केही देशमा सङ्क्रमितहरूको सङ्ख्या बढेको देखिन्छ। 'ब्रिटिश मेडिकल जर्नल'का अनुसार मे र जुन महिनामा इङ्ग्ल्यान्डमा कोभिड पुष्टि हुने मानिसको सङ्ख्या बढेको पाइएको थियो।

"कोभिडका बिरामीको सङ्ख्या युरोपका अन्य भागमा पनि बढेको छ।"

उक्त जर्नलका अनुसार संयुक्त राज्य अमेरिकामा कोभिड पुष्टि हुने मानिसको सङ्ख्या बढ्दो क्रममा छ। जुन २२ सम्मको सातामा सङ्क्रमण पुष्टि हुने दर १.४ प्रतिशतले बढेको थियो।

बेलाबेलामा कोभिड पुष्टि हुने दर तलमाथि भइरहन्छ। त्यो चिन्ता गर्नुपर्ने विषय होइन्। तर स्वास्थ्यविज्ञहरू सङ्क्रमणको तहको निरन्तर निगरानी गर्छन्।

'फ्लर्ट' भेरिअन्टबाट सङ्क्रमण हुँदा कस्तो लक्षण देखिन्छ?

'फ्लर्ट' समूहमा पर्ने भेरिअन्टबाट सङ्क्रमण हुँदा अरू भेरिअन्टले गराउने कोभिडको जस्तो लक्षण देखा पर्छ।

डब्ल्यूएचओका अनुसार कोरोनाभाइरसको संसर्गमा आएको पाँच वा छ दिनपछि लक्षणहरू देखा पर्न थाल्छन् र एकदेखि १४ दिनसम्म रहन्छन्।

प्रायः देखिने लक्षण

  • ज्वरो आउनु
  • काँप छुट्नु
  • घाँटी दुख्नु
कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

देखा पर्ने सक्ने अरू लक्षण

  • मांसपेशी दुख्नु र हात वा खुट्टा गल्नु
  • निकै थकाइ लाग्नु
  • नाकबाट पानी बग्नु वा नाक बन्द हुनु, हाछ्यूँ आउनु
  • टाउको दुख्नु
  • आँखा दुख्नु
  • निद्रा लागे जस्तो हुनु
  • नयाँ र निरन्तर खोकी लाग्नु
  • छाती कक्रक्क पर्नु वा दुख्नु
  • सास रोकिए जस्तो हुनु
  • स्वर धोत्रो हुनु
  • शरीरको अङ्ग निदाए जस्तो हुनु वा झमझमाउनु
  • खान अरुचि हुनु, वाकवाक लाग्नु, बान्ता हुनु, पेट दुख्नु वा झाडापखाला लाग्नु
  • स्वाद वा गन्ध हराउनु वा फेरिनु
  • सुत्न नसक्नु

केही खालका लक्षण देखा परे तत्काल उपचार गराउनुपर्ने डब्ल्यूएचओले जनाएको छ।

  • सास फेर्न गाह्रो हुनु, विशेष गरी आराम गरेको अवस्थामा पनि। अथवा पूरा वाक्य बोल्न नसक्ने हुनु
  • किंकर्तव्यविमूढ हुनु अर्थात् अन्योलमा परिरहनु
  • निद्रा लागिरहनु अथवा अचेत हुनु
  • छाती निरन्तर दुख्नु वा गह्रुँगो हुनु
  • छाला चिसो वा चिपचिपे हुनु, अथवा फुस्रो वा नीलो देखिनु
  • बोली हराउनु वा हिँडडुल गर्न नसक्ने हुनु
कोरोनाभाइरस र भेरिअन्ट

के अहिले उपलब्ध खोपले 'फ्लर्ट'विरुद्ध काम गर्छ?

न्यूयोर्कस्थित एक अस्पतालमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा आरोन ग्ल्याट अहिले उपलब्ध खोपहरू नयाँ भेरिअन्टहरूविरुद्ध पनि केही प्रभावकारी हुनुपर्ने धारणा राख्छन्।

सन् २०२२ देखि स्वास्थ्य सेवाका नियामक निकायहरूले नयाँनयाँ भेरिअन्टलाई लक्ष्य गरेर कोभिडविरुद्धका खोप बनाउन खोप निर्माताहरूलाई आग्रह गर्दै आएका छन्।

युरोपमा जेएन.१ भेरिअन्टलाई लक्ष्य गरेर खोप बनाउनुपर्छ।

अमेरिकी नियामक निकायले जेएन.१ बाट उत्पन्न अरू भेरिअन्टलाई लक्ष्य बनाएर खोप बनाउन भनेको थियो। तर उसले जुन महिनामा बढी देखा परेको केपी.२ स्ट्रेनलाई लक्ष्य बनाउनु उपयुक्त हुने सुझाव पनि दिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।