सामाजिक चिन्तालाई अझ बढाउने लुप्त बानी - त्यसलाई कसरी हटाउने

    • Author, निक ट्रिगल
    • Role, स्वास्थ्य संवाददाता
  • Published
  • पढ्ने समय: ४ मिनेट

किशोरावस्थामा हुँदादेखि सामाजिक अवस्थाप्रति मेरी चिन्तित हुन थालेकी हुन्। उनको अवस्था यति बिग्रियो कि उनी डिप्रेसनमा परिन् र केही समय विद्यालयबाट बिदा लिएरै बस्नुपर्‍यो।

विश्वविद्यालय सुरु गर्ने बेलासम्ममा उनी समूहमा हुने गतिविधिबाट पूर्ण रूपमा टाढिन थालिसकेकी थिइन्।

"अरूले जस्तै मैले पनि क्लब र विभिन्न समूहहरूमा सहभागी भइनँ," मेरी (परिवर्तन गरिएको नाम) ले भनिन्। "मलाई के लाग्थ्यो भने कसैले पनि मलाई चिन्न चाहँदैनन्। आफ्नो सम्पूर्ण पढाइ अवधिभरि मैले वास्तवमा एउटा पनि साथी बनाउन सकिनँ।"

मेरीको यस्तो सामाजिक चिन्ता यति गम्भीर भयो कि उनलाई सोसल एन्जाइटी डिसअर्डर भएको देखियो। यो यस्तो अवस्था हो जसले मानिसहरूको जीवनको कुनै न कुनै समयमा १२ प्रतिशतसम्म मानिसहरूलाई असर गर्न सक्छ।

तर धेरै मानिसहरूले सामाजिक परिस्थितिहरूमा सामान्य रूपमा पनि सङ्घर्ष गरिरहेको बताउँछन्। विद्यार्थीहरू विश्वविद्यालयसम्म जाँदा पहिलो वा अन्तिम वर्षमा हुँदा यस्ता भावनाहरूबाट कसरी पार पाउने भनेर सोध्यौँ।

अनुसन्धानले देखाएअनुसार विश्वविद्यालयका पाँचमा एकभन्दा बढी विद्यार्थीहरूले आफ्नो अध्ययनको क्रममा कुनै न कुनै प्रकारको सामाजिक चिन्ताको सामना गर्छन्। चिचेस्टर विश्वविद्यालयले गरेको एउटा अध्ययनमा सामाजिक चिन्तालाई कम ग्रेड, कमजोर सम्बन्ध र एक्लोपनसँग सम्बन्धित रहेको पाइएको छ।

धेरैका लागि विश्वविद्यालयमा प्रवेश गर्नु भनेको पहिलो पटक बाहिर बसेर स्वतन्त्र रूपमा जीवन बिताउन थाल्नु हो र उनीहरूले छोटो समयमै नयाँ साथीहरू बनाउने अपेक्षा गरिन्छ।

आफूले प्रयास गरेको बताउने मेरीले भनिन्, "जब म पहिलोपटक त्यहाँ पुगेँ म एउटा समूहमा सहभागी हुन गएँ। तर त्यहाँ सबैजना आपसमा कुराकानी गरिरहेका थिए र अचानक मलाई डर लाग्यो। मलाई म त्यहाँ मिल्दिनँ जस्तो लाग्यो अनि घर गएँ।"

सामाजिक रूपमा चिन्तामा रहेका सङ्केत

अहिले २५ वर्षकी मेरी आफ्नो सामाजिक चिन्ता शरीरबाट बाहिर निस्किएको जस्तो अनुभव भएको बताउँछिन्। नयाँ मानिसहरूसँग कुरा गर्दा उनको अनुहारमा गर्मी बढ्न थाल्थ्यो र हातहरू झमझमाउन थाल्थे।

सोसल एङ्जाइटी एलायन्स यूकेका अध्यक्ष नील ग्रिनिङका अनुसार सामाजिक चिन्ता भएका मानिसहरूमा यस्तो अनुभव सामान्य रूपमा देखिन्छ।

"मानिसहरूलाई आफूमा व्यक्तित्वसम्बन्धी कुनै कमजोरी छ भन्ने लाग्छ। उनीहरू यसलाई पहिचान गर्न सकिने एउटा अवस्था हो जसका लागि सहयोग लिन सकिन्छ भन्ने रूपमा हेर्नुको सट्टा दोष आफैँ भित्र खोज्छन्," उनले भने।

ग्रिनिङका अनुसार सामाजिक चिन्ता त्यतिबेला समस्या बन्छ जब यसले मानिसलाई आफूले गर्न चाहेको वा गर्नुपर्ने कामहरू गर्नबाट नै रोक्न थाल्छ।

"बहिर्मुखीपन र सामाजिक आत्मविश्वासको सराहना गरिने समाजमा कुनै पनि प्रकारको सामाजिक चिन्ता स्वीकार गर्न कठिन हुन सक्छ। धेरै मानिसहरूले आफ्नो सामाजिक चिन्तालाई लुकाउन खोज्छन् वा सुरक्षित व्यवहार देखाउँछन्।"

सामाजिक रूपमा चिन्तामा भएका केही सङ्केतहरू:

चुप लागिरहनु

छोटो जवाफ दिनु

अन्तर्क्रिया नगर्नका लागि फोन चलाइरहनु

एकजनासँगमात्रै निकट रहनु वा जहिले पनि समूहको कुनामा बस्नु

कामजस्तै कुनै सुरक्षित विषयमा मात्रै संवाद गर्नु

आफूलाई कसरी मद्दत गर्ने

स्नातकोत्तर गर्न थालेकी मेरीले अहिले आफ्नो सामाजिक चिन्तालाई पहिलेभन्दा राम्रोसँग व्यवस्थापन गरिरहेकी छन्। स्नातक तह पूरा गरेपछि उनले एनएचएसबाट कग्निटिभ बिहेभोरियल थेरापी सीबीटी भनिने कुराकानीमा आधारित उपचार लिइन्।

सीबीटीलाई सामाजिक चिन्ताका लागि प्रभावकारी उपचारको मानक उपचारमध्ये एक मानिन्छ।

यसले मानिसहरूलाई आफ्ना सोच्ने तरिकालाई पुन: व्यवस्थित गर्न र आफ्नो व्यवहारमा परवर्तन ल्याउन मद्दत गर्छ।

अक्सफर्ड विश्वविद्यालयका मनोवैज्ञानिक प्राध्यापक डेभिड क्लार्कले अझ धेरै मानिसहरू उपचारका लागि अघि बढून् भन्ने आफूले चाहेको बताएका छन्। तर मानिसहरूलाई आफूले सहयोग गर्न केही कदम आफैँले पनि चाल्नसक्ने उनी बताउँछन्।

उनका अनुसार पहिलो कदम भनेको आफ्नै बारेमा अत्यधिक सोचिरहने बानी रोक्नु हो।

"सामाजिक चिन्ता भएका मानिसहरूले प्राय: नकारात्मक परिणाम हुने अनुमान गर्छन् जस्तै आफू लज्जित हुने वा अरूले आफूलाई दिक्कलाग्दो व्यक्ति ठान्ने। त्यसको परीक्षण गर्नाले यस्तो सोचबाट बाहिर निस्किन मद्दत गर्न सक्छ। यो डरलाग्दो हुन्छ तर यसले वास्तवमै धेरै मद्दत गर्न सक्छ," उनले भने।

उनी सुरक्षित महसुस गराउन अपनाइने व्यवहारहरू पनि छोड्नुपर्ने बताउँछन्। जस्तै आफूले बोल्ने प्रत्येक वाक्य पहिले नै अभ्यास गरिरहनु, आँखामा आँखा जुधाउनबाट बच्नु वा एउटै व्यक्तिको नजिकमात्रै बसिरहनु।

अन्त्यमा क्लार्कले घटना सकिएपछि त्यसबारे बारम्बार सोचिरहने बानीबाट पनि बच्न प्रयास गर्नुपर्ने बताउँछन्।

मेरी पनि यो कुरासँग सहमत हुन्छिन्।

"पहिला म भएका कुराहरूलाई बारम्बार मनमा दोहोर्‍याइरहन्थेँ। मैले अहिले के सिकेँ भने सामाजिक चिन्तासँग जुध्नु भनेको क्रमिक प्रक्रिया हो। थेरापीले मलाई धेरै मद्दत गर्‍यो तर केही वर्षअघि एक जना साथीले भनेको कुराले पनि मलाई धेरै सहयोग गर्‍यो," उनले भनिन्।

"अहिले म आफूलाई अरूसँग अझ बढी घुलमिल हुन प्रेरित गरिरहेकी छु। मेरो स्नातकोत्तरमा हामी साना समूहमा हुन्छौँ। त्यसैले पनि मद्दत गर्छ। म खगोलविज्ञानसम्बन्धी समूहमा पनि सहभागी छु। अझै पनि गाह्रो हुन्छ र सबै कुरा मैले चाहे अनुसार हुँदैन, तर म यसलाई कसरी व्यवस्थापन गर्ने भनेर सिक्दै छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।