तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानमा इमरान खानको गढमा सरकारको 'नियन्त्रण'ले दिन सक्ने 'उल्टो धक्का'
- Author, क्यारोलीन डेभिस
- Role, पाकिस्तान संवाददाता
- Published
- पढ्ने समय: ५ मिनेट
विद्यालयहरू बन्द थिए। इन्टरनेटमा पनि आंशिक रूपमा रोक लगाइएको थियो। मालवाहक कन्टेनरहरू सडकमा तेर्स्याइएका थिए। सेना नगरमा पुगिरहेका थिए।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिक-ए-इन्साफ (पीटीआई) को बलियो पकड रहेको खैबर पख्तुनख्वा (केपीके) मा यस्तै दृश्य देखिन्छ। त्यहाँ सङ्कटकाल लागु गर्दै उनको पार्टीको प्रान्तीय सरकारलाई निलम्बन गरिएको छ।
पूर्वप्रधानमन्त्रीका समर्थक र पाकिस्तान सरकारबीचको जारी टकरावमा यो अर्को नाटकीय बिन्दु हो र यसले अस्थिरतालाई घटाउनुको साटो अझ बढाउने कतिपयमा डर पाइन्छ।
संविधानले अनुमति दिएको यो कदम प्रान्तका नागरिकलाई आतङ्कको खतराबाट सुरक्षा प्रदान गर्न आवश्यक रहेको सङ्घीय सरकारको भनाइ छ।
सङ्घीय सूचनामन्त्री अत्ताह तरारले आइतवार पत्रकारहरूसँग भने, "पीटीआईको केपीके सरकारले आतङ्कवादीहरूसँग साँठगाँठ गरेको छ।"
उनले त्यसबारे विस्तृत जानकारी र कुनै प्रमाण दिएनन् तर चाँडै त्यसो गर्ने वाचा गरेका थिए। दुई दिन बितिसक्दा पनि उनीबाट त्यसबारे केही कुरा बाहिर आएको छैन।
प्रहरीले कसैलाई गिरफ्तार गरेको पुष्टि गरेको छैन। प्रदर्शन रोक्न कडा कारबाही चलाइएको छ। प्रान्तमा पीटीआईका अधिकांश नेताहरू लुकेका छन्।
प्रान्तीय मुख्यमन्त्री सोहेल अफ्रिदीको गृहजिल्ला खैबरको बारामा मङ्गलवार पीटीआईका दर्जनौँ समर्थक सडकमा उत्रिएका थिए। त्यस क्षेत्रमा अश्रुग्यास प्रहार गरिएको खबर आएको छ।
'निर्धो'माथि थप 'दमन' किन?
धेरै पर्यवेक्षकहरूका निम्ति आइतवार सङ्कटकाल घोषणा गरिएको समय कुनै संयोग होइन।
गत सातादेखि इमरान खानका हजारौँ समर्थकले उनको रिहाइको माग गर्दै १३ वर्षदेखि आफ्नो पार्टीले सत्ता सञ्चालन गरिरहेको खैबर पख्तुनख्वामा प्रदर्शन गरिरहेका छन्।
यस्तो अवस्थामा "[सङ्घीय] सरकारको दृष्टिकोण छलपूर्ण देखिन्छ," च्याटम हाउसकी असोसिएट फेलो फरजाना शेखको भनाइ छ।
पत्रकार तथा टिप्पणीकार आरिफा नूरले पनि पछिल्लो घटनाको आतङ्कवादसँग कुनै सम्बन्ध देखेकी छैनन्।
"म त [खान समर्थकहरूको] 'लङ मार्च' का कारण त्यसो गरिएको भन्नेमा पनि विश्वस्त छैन," उनको भनाइ छ, "यो अन्तिम प्रहार हुन सक्छ वा हामी विपक्षी पार्टीको हातमा सरकार रहोस् भन्ने चाहँदैनौँ भन्ने तरिका हो कि।"
प्रदर्शनको नेतृत्व मुख्यमन्त्री अफ्रिदीले गरेका थिए, अहिले उनी कहाँ छन् भन्ने अझैँ रहस्यमा छ।
उनको पार्टीले उनलाई पक्राउ गरिएको बताएको छ। सरकारले उनी सुरक्षा हिरासतमा रहेको जनाएको छ।
प्रदर्शन सुरु हुनुअघि नै कारबाही थालिएको थियो। समर्थकहरू भेला पारेकोलगायतका आरोपमा खानका तीन दिदीबहिनीहरूलाई सेप्टेम्बरमा पक्राउ गरिएको थियो, त्यस बेलादेखि उनीहरू हिरासतमा छन्।
गत वर्षभरि परिवार वा वकिलहरूले इमरान खानलाई विरलै भेटेका थिए। दुई जना दिदीबहिनीले उनलाई अगस्टमा भेट्न पाएका हुन्। एउटीले जेलमा र अर्कीले सर्वोच्च अदालतद्वारा खानको स्वास्थ्यबारेमा चिन्ता व्यक्त गरेपछि अस्पतालमा जाँच गरिरहेका बेला भेटेकी थिइन्।
त्यसपछि खानलाई फेरि जेल पठाइयो, जहाँ उनलाई तीन वर्षभन्दा लामो समयदेखि राखिएको छ।
पाकिस्तानको शक्तिशाली सेनासँगको मतभेदका कारण सत्ता गुमाएको विश्वास गरिएका पीटीआई नेता खान सन् २०२३ को अगस्टदेखि जेलमा छन्।
भ्रष्टाचारका कैयौँ मुद्दामा उनलाई दोषी ठहर गरिएको छ, जसलाई उनले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै आएका छन्।
पार्टी पहिलेदेखि नै कमजोर छ, उसविरुद्ध किन सरकारको कडा कदम?
"इमरान खानको स्वास्थ्यलाई लिएर बढ्दो चिन्ताबीच पीटीआईका कार्यकर्ताहरूलाई हालैका महिनाहरूमा बढी नै छटपटी भइरहेको देखिन्छ," अट्लान्टिक काउन्सिलमा दक्षिण एशिया मामिलाका वरिष्ठ फेलो माइकल कुगेलम्यान भन्छन्, "सम्भवतः पार्टीलाई धेरै कडा सन्देश दिने र उनीहरूलाई सरकारमाथि दबाव दिन सक्षम नरहने गरी अप्ठेरो पार्ने मौकाका रूपमा लिइएको जस्तो लाग्छ।"
शक्ति सन्तुलन सैन्य संस्थापनको पक्षमा?
यसअघि सरकारले खानमाथि जेलभित्र राजनीतिक छलफल गर्न बैठक गरेर नियम अवज्ञा गरेको आरोप लगाएको थियो।
सङ्घीय सूचनामन्त्री अत्ताह तरारले सङ्कटकाल लगाउनुका पछाडि कुनै राजनीतिक दाउपेच नरहेको बताए, "उनीहरूले आफ्नो मार्च जारी राख्न सक्थे।"
उनले सङ्कटकालको निर्णय लिनुअघि दुई पक्षबीच भएको कुराकानीलाई आफूहरूले छलफल गर्न खोजेको सङ्केतका रूपमा प्रस्तुत गरे।
तर अन्य व्यक्तिहरू उक्त कदमलाई खान र उनको पार्टीमाथि प्रतिबन्ध लगाउने अर्को प्रयासका रूपमा हेर्छन्।
"सरकारसँग असहमति वा विरोधका निम्ति निकै कम ठाउँ छ र ऊ वार्ताको माध्यमबाट कुनै पनि तनाव अन्त्य गर्न चाहँदैन," नूर भन्छिन्।
इस्लामाबादस्थित लेखक तथा रक्षा विश्लेषक जाहिद हुसेन उक्त निर्णयका पछाडि कसको हात छ भन्नेमा स्पष्ट छन्।
उनी भन्छन्, "शक्ति सन्तुलन पूर्ण रूपमा सैन्य संस्थापनको पक्षमा ढल्किएको छ।"
च्याटम हाउसकी असोसिएट फेलो फरजाना शेख पाकिस्तानको सेना आत्मविश्वासले भरिएको ठान्छिन् किनकि "उसले ह्वाइट हाउससँग राम्रो सम्बन्ध रहेको र अमेरिका-इरान शान्ति वार्तामा आफ्नो भूमिकाले उसको अन्तर्राष्ट्रिय विश्वसनीयता बलियो बनाएको मान्छ।"
उनी अहिले पनि अवस्था नियन्त्रणबाहिर नगएको र यसलाई फुत्किन दिन नहुने बताउँछिन्। "हामीसँग सबै कार्डहरू छन् जस्तो देखिन्छ। हामी अन्तर्राष्ट्रियस्तरमा यो चुनौतीको सामना गर्न सक्छौँ," उनले बताइन्।
तर पाकिस्तानले धेरै चुनौतीहरूको सामना गरिरहेको छ। अतिवाद बढ्दो छ। "ग्लोबल टेरोरिज्म इन्डेक्स २०२६" मा पाकिस्तान सबैभन्दा बढी प्रभावित देशका रूपमा पहिलो स्थानमा छ।
आफ्ना दुई छिमेकी मुलुकहरूसँग उसको सम्बन्ध तनावपूर्ण छ। उसले अफगानिस्तानमा पटकपटक हवाई आक्रमण गरेको छ र त्यहाँको तालिबान सरकारमाथि अतिवादी समूहहरूलाई आश्रय दिएको आरोप लगाएको छ, यद्यपि तालिबान सरकारले उक्त आरोप अस्वीकार गरेको छ।
भारतसँग लामो समयदेखि चलिरहेको विवाद फेरि भड्काउन धेरै समय लाग्ने छैन।
यस्तो अवस्थामा हूथी विद्रोहीविरुद्धको द्वन्द्व खतरनाक बन्दै गइरहेका बेला पाकिस्तानले साउदी अरबलाई आक्रमणबाट उसको रक्षा गर्न सहयोग गर्ने वाचा गरेको छ।
कतिपयले समस्या समाधान गर्नुको साटो, यो सङ्कटकालले थप चुनौतीहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
अवस्था बिग्रिने आधार के?
यसले राजनीतिक अस्थिरता अझ बढाउने जोखिम बोकेको छ किनभने इस्लामाबादले एउटा यस्तो प्रान्तको प्रत्यक्ष जिम्मेवारी लिएको छ, जहाँ दोष पन्छाउन सकिने प्रादेशिक सरकार जस्तो कुनै 'मध्यवर्ती' वा मध्यस्थ संयन्त्रको रिक्तता हुने छ।
"मलाई लाग्छ यसले उल्टो धक्का लाग्न सक्छ," कुगेलम्यानको भनाइ छ, "तपाईँ आगोसँग खेल्दै हुनुहुन्छ किनकि यदि यो कदमले त्यहाँका मानिसहरूमा आक्रोश र असन्तुष्टि अझ बढायो भने तपाईँले ठूलो समस्याको सामना गर्नुपर्नेछ।"
लेखक तथा रक्षा विश्लेषक जाहिद हुसेनले यो शक्तिको प्रयोग पाकिस्तानभरि हुन सक्ने जोखिम देखेका छन्। "देशले सामना गरिरहेको चुनौतीहरूका सन्दर्भमा यो एउटा गैरजिम्मेवारपूर्ण कदम हो," उनले भने।
फरजाना शेख उग्रवादको सामना गर्न चालिने अझ सक्रिय सैन्य कारबाहीका आफ्नै किसिमका जोखिमहरू हुने तर्क गर्छिन्।
"यदि यो कारबाही सञ्चालन गर्न लागेका हुन् भने, उनीहरू सशस्त्र फौजका सदस्यहरू हताहत हुन सक्ने सम्भावना स्वीकार गर्न तयार हुनुपर्छ," उनको भनाइ छ।
यदि त्यो उल्लेख्य सङ्ख्यामा भयो भने त्यसले सैन्य संस्थाभित्र प्रश्न उठाउन सक्छ भन्ने उनको ठम्याइ छ।
सैन्य कूको इतिहास रहेको पाकिस्तानमा प्रान्तीय वा राष्ट्रिय निर्वाचित सरकारहरू अपदस्थ गरिएका दृष्टान्तहरू छन्, जसले प्रतिकूल परिणामहरू निम्त्याएका छन्।
"पाकिस्तान मुस्लिम लीग- नवाज (सङ्घीय सरकारमा रहेको पार्टी) का वरिष्ठ व्यक्तिहरूलाई यीमध्ये केही विषयहरूले भविष्यमा आफूहरूका लागि समस्या निम्त्याउन सक्छन् भन्ने कुराको हेक्का छैन भन्ने होइन," पत्रकार तथा टिप्पणीकार आरिफा नूरको बुझाइ छ, "सबैले बुझेका छन् कि यो एक भयानक दुर्घटना हो, तर कुनै पनि तरिकाले तपाईँ यसलाई रोक्न सक्नुहुन्न।"
इमरान खानलाई विरोध प्रदर्शनमार्फत् बाहिर निकाल्न सकिन्न भन्ने कुरा केही हदसम्म उनको पार्टी तहरिक-ए-इन्साफलाई पनि महसुस भएको नूर बताउँछिन्।
"मलाई लाग्छ, यो कठिन परिस्थितिको सबैभन्दा दुःखद पक्ष भनेको हामी आँखा चिम्लेर होइन, बरु पूर्ण सचेत हुँदाहुँदै पनि त्यस दिशातर्फ अघि बढिरहेका छौँ," उनी भन्छिन्, "हरेकलाई यो एउटा रेल दुर्घटना जस्तै हो भन्ने महसुस छ, तर कुनै रूपमा तपाईँ त्यो टार्न सक्नुहुन्न।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।