इरान युद्धका असरबारे शक्तिमा भएकाहरू के सोच्छन्

तस्बिर स्रोत, Getty Images
- Author, फैसल इस्लाम
- Role, आर्थिक सम्पादक
- पढ्ने समय: ५ मिनेट
अहिलेको विश्वव्यापी सङ्कटका दुईवटा केन्द्रबिन्दु छन् : इरानको दक्षिणमा रहेको २४ माइल चौडा होर्मुज जलमार्ग र सात हजार माइल टाढा रहेको ह्वाइट हाउस।
यो हप्ताले विश्वका बाँकी देशहरूलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनलाई सीधै आफ्ना आर्थिक तर्क प्रस्तुत गर्ने अनौठो अवसर प्रदान गर्यो।
यो अवसर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व ब्याङ्कको 'वसन्त बैठकहरू'मा जुरेको थियो, जसको आयोजना वाशिङ्गटन डीसीमा अवस्थित ह्वाइट हाउसबाट केही टाढा गरिएको थियो।
मैले प्रमुख शक्ति राष्ट्र 'जी-सेभेन'का अधिकांश अर्थमन्त्री, केही केन्द्रीय ब्याङ्क र विश्वका केही अग्रणी अर्थविद्सँग कुरा गरेँ र युद्धमा जाने अमेरिकी निर्णयको अनुमानित लागत बाँकी विश्वले वहन गरिरहेका कारण असन्तुष्ट रहेका मैले पाएँ।
खास गरी चान्सलर राचेल रिभ्स स्पष्ट थिइन्, जसले यो युद्धलाई "मुर्ख्याइँ" र "गलत" भनिन्। साथै "यो युद्ध हाम्रो होइन" भनेर उनले भनिन्।
व्यवस्थापन गर्नुपर्ने चुनौती
जी२० को 'ब्रेकफास्ट' जस्तै अर्थमन्त्रीहरूको बैठक पनि गम्भीर वातावरणमा सम्पन्न भयो। सहभागीहरूका अनुसार बैठक कोठामा छोटो अवधिको आत्मविश्वास व्यक्त गर्ने अमेरिका एक मात्र आवाज थियो।
सहभागीहरूका अनुसार एशियाली अर्थविद्हरूले खास गरी "वास्तविक ऊर्जा अभाव" बारे स्पष्ट चिन्ता व्यक्त गरे।
'ब्रेकफास्ट' टेबुलमा चिन्ता व्यक्त गरिएको केही समयपछि यूएस फिनान्सल टीभीमा देखापरेका अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको बताए। उनले बजार र अर्थतन्त्रमा चाँडै सुधार आउने दाबी समेत गरे।
क्यानडाका अर्थमन्त्री फ्राँस्वाज फिलिप शाङ्गपाने लगभग सबै प्रमुख बैठकमा उपस्थित थिए। ट्रम्पको ट्यारिफ युद्धको प्रत्यक्ष सामना गरेका उनले फरक दृष्टिकोण प्रस्तुत गरे।
"भूगोल परिवर्तन हुँदैन। मानिसहरू पनि त्यति धेरै परिवर्तन हुँदैनन्। त्यसैले यो विश्वव्यापी ऊर्जाका सन्दर्भमा जोखिम रहने छ, जुन हामीले द्वन्द्व सकिसकेपछि पनि आगामी वर्षहरूमा व्यवस्थापन गर्नुपर्ने हुन्छ," उनले भने।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएभाले विश्वले "ढिलो झट्का" अनुभव गरिरहेको सुनाइन् भने विश्व ब्याङ्कका अध्यक्ष अजय बाङ्गाले आर्थिक रूपमा गरिब देशहरूमा पर्ने प्रभावका बारेमा मलाई सुनाए।
इराकले तेल निर्यात वा उत्पादन गरिरहेको छैन, जसले त्यसबाट सामान्यतया ८५ प्रतिशत राजस्व सङ्कलन गर्छ। घरेलु आवश्यकताका लागि खाना पकाउने ग्यासको उच्च माग रहेको बाङ्ग्लादेशलाई मध्यपूर्वका आपूर्तिकर्ताहरूबाट कटौती गरिएको छ।
प्रशान्त टापुका देशहरूमा सीमित ऊर्जा भण्डारण छ, लामो ढुवानी मार्गहरूको अन्त्यमा ट्याङ्कर र कन्टेनर जहाजहरूको पर्खाइमा छन्। जलमार्गमा अवरोधले उजागर गरेको कमजोर आपूर्ति शृङ्खलाका यी केही वास्तविक उदाहरण हुन्।
'एप्रिल झन् कठिन हुने'
यसको प्रतिक्रिया स्वरूप विश्व ब्याङ्कले आर्थिक रूपमा कमजोर रहेका देशहरूलाई बढ्दो ऊर्जा र खाद्यान्न मूल्यको सामना गर्न १०० अर्ब डलरसम्मको सहायता छुट्ट्याएको छ। यो कोभिड लकडाउनको समयमा प्रदान गरिएको रकमभन्दा बढी हो।
"मार्च महिना कठिन थियो, तर एप्रिल शायद अझ कठिन हुने छ," जर्जिएभाले चेतावनी दिइन्।
"किन? किनभने फेब्रुअरी २८ तारिखसम्म छाडिएका ट्याङ्करहरू गन्तव्यमा पुगिसकेका छन्। कुनै नयाँ ढुवानी आइपुगेको छैन। ट्याङ्कर ढिलो गतिमा आइपुग्छ। फिजी पुग्न ४० दिन लाग्छ।"
शुक्रवार केही आसलाग्दो विकासक्रम भए पनि विश्व खाद्यान्न मूल्यको सङ्कट द्रुत गतिमा नजिकिँदै छ।
महत्त्वपूर्ण रासायनिक मल युरियाको मूल्य दोबर भएको छ। यद्यपि हाल उत्तरी देशहरूमा बाली लगाइँदै छ, विश्वव्यापी खाद्य उपलब्धताको समस्या जुन र जुलाईमा शुरू हुन सक्छ।
बाङ्गाले भने, "तीन महिनामा मल उपलब्ध नभएपछि वास्तविक समस्या उत्पन्न हुने छ। उत्तरी देशहरूमा बाहेक अन्य देशहरूमा पनि बाली लगाउने मौसम शुरू हुने छ। त्यसपछि हामी खाद्य उपलब्धताको कठिन चक्रमा फस्ने छौँ।"
यी सबैप्रति ट्रम्प प्रशासनको प्रतिक्रिया दुई गुणा थियो: युद्ध चाँडै समाप्त हुने छ, र यसको फल मीठो हुने छ।

तस्बिर स्रोत, Getty Images
अमेरिकी अर्थ मन्त्रालय भवनको ठीकविपरीत रहेको विलर्ड होटलमा "लबिङ" शब्दको जन्म भएको थियो. बाँकी विश्व आर्थिक विपत्तिबाट बच्न केही कूटनीतिक दबाव दिन यहाँ आएको थियो।
बेसेन्टले मलगायत केही पत्रकारहरूसँग कुरा गर्दै थिए। इरान युद्धका कारण विश्वव्यापी मन्दीबारे अन्तर्राष्ट्रिय मुद्रा कोषको पूर्वानुमान सम्बन्धमा उनको के विचार थियो?
"लन्डनमाथि परमाणु आक्रमण भएमा विश्वव्यापी कुल गार्हस्थ उत्पादनमा कति असर पर्ला भन्ने म सोचिरहेको छु," उनले मलाई भने।
"म भविष्यको सुरक्षाबारे जति चिन्तित छु, अल्पकालीन पूर्वानुमानप्रति त्यति चिन्तित छैन। ठूलो जोखिमबाट बच्नुभन्दा केही हप्ताका लागि थोरै आर्थिक पीडा सहनु राम्रो हो।"
मैले उनलाई ठ्याक्कै उनको भनाइ के हो भनेर स्पष्ट पार्न भनेँ। उनले डिएगो गार्सियामा भएको इरानी प्रहारलाई औँल्याए। इरानमाथि अमेरिकी नाकाबन्दीबारे पनि बेसेन्ट विश्वस्त थिए, जसले इरानी जहाजहरूलाई "अगाडि बढ्न"बाट रोक्ने बताएका थिए।
उनी इरानी नेतृत्वका सबै पक्षलाई विश्वसनीय रूपमा प्रतिनिधित्व गर्न सक्ने इरानीहरूसँगको वार्ताप्रति पनि विश्वस्त थिए।
'सङ्कटको जड होर्मुज'
जब मैले बेसेन्टलाई भेटेँ, तब फ्रान्सेली अर्थमन्त्री रोलाँ लेस्क्यूअरले उनीसँग व्यक्तिगत रूपमा भेटेका थिए।
उनले मलाई भने, "उनीहरूलाई भनेका सबै कुरा म तपाईँलाई भन्दिनँ। तर स्ट्रेट अफ होर्मुज यो सङ्कटको जड हो र यसलाई समाधान गर्न आवश्यक छ। यसले हामी सबैलाई हानि पुर्याइरहेको छ।"
उनले पेट्रोलको मूल्य बढ्दै जाँदा अमेरिकाले पनि आर्थिक कठिनाइको सामना गरिरहेको औँल्याए। इरानीहरूले यो आर्थिक क्षतिलाई दबाव दिन प्रयोग गरिरहेका उनले बताए। उनले थपे : "यो प्रतिरोध गर्ने उनीहरूको अस्त्र हो।"
त्यसविपरीत फ्रान्समा घरेलु ऊर्जाको मूल्य धेरै नबढ्ने उनले दाबी गरे। उनले भने : "जब सन् १९७० को दशकमा तेल सङ्कट उत्पन्न भयो, तब फ्रान्सको ९० प्रतिशत ऊर्जा हाइड्रोकार्बनबाट आउँथ्यो। अहिले यो ६० प्रतिशत छ। हामी आणविक र नवीकरणीय ऊर्जामा थप लगानी गर्न यो सङ्कटको फाइदा उठाइरहेका छौँ।"

तस्बिर स्रोत, Reuters
ब्रिटिश चान्सलर राचेल रिभ्सको ऊर्जा नीतिमा पनि परिवर्तन आएको छ। 'टाई-ब्याक' अर्थात् स्रोतहरूलाई एकआपसमा जोडेर नर्थ सी क्षेत्रहरूबाट उत्पादन बढाउने विचार उनले अघि सारेकी छन्।
बढ्दो बिजुली र ग्यासको मूल्यलाई सम्बोधन गर्ने प्रयास पनि उनको छ। आगामी दिनहरूमा नयाँ प्रस्तावहरू आउने अपेक्षा गरिएको छ।
ब्रिटेनले सामना गरिरहेका समस्याहरूबीच ब्याङ्क अफ इङ्गल्यान्डका गभर्नर एन्ड्रयू बेलीले युद्धका कारण भएको मुद्रास्फीतिलाई रोक्नका निम्ति ब्याङ्कले ब्याजदर बढाउन हतार गर्न नहुने मलाई सुनाए। उनले भने : मुद्रास्फीतिसँग जुझ्ने तरिका भनेको वृद्धिलाई कम गर्नु हो।
अरू चुनौती के छन्?
युद्ध मात्र छलफलको विषय थिएन। निजी ऋणका बारेमा चिन्तादेखि लिएर एन्थ्रोपिकको मिथोस मोडेलबाट निर्मित एआईको साइबर सुरक्षा कमजोरीहरूसम्म अन्य धेरै चुनौती पनि देखा पर्दै थिए।
क्यानाडाका अर्थमन्त्री फ्राँस्वाज फिलिप शाङ्गपानेले भने : "होर्मुज जलमार्ग कहाँ छ र कति ठूलो छ भनी हामीलाई थाहा छ। समस्या (मिथोस) अज्ञात छ।"
"दोस्रो मुद्दा निजी ऋण र तरलताजस्ता समस्या हुन्। अनि तेस्रो मध्यपूर्वमा चलिरहेका घटना हुन्।"
खाडी देशहरू वरपर अझै पनि निकै अनिश्चितता छ। तर परिस्थितिमा केही सुधार आएको छ, जसले गर्दा केही मानिसले अन्य चिन्ताप्रति ध्यान केन्द्रित गर्न सकेका छन्।
पहिलो त्रैमासिकमा ब्रिटेन ०.५ प्रतिशतदेखि ०.६ प्रतिशतसम्मको वृद्धिदरको ट्रयाकमा रहेको तथ्याङ्कले देखाएको छ।
यसले रिभ्सका लागि पनि आशा जगाएको छ। जलमार्ग फेरि खुलेको खबरसँगै शुक्रवार ऊर्जाको मूल्य घट्यो। ऋण लागत, पेट्रोलको मूल्य र धितो दर पनि घट्यो।
सङ्कट उत्कर्षमा पुगेको विश्वास गर्न वाशिङ्गटन डीसीमा सबैले हिम्मत गरिरहेका छन्। यदि त्यो भएन भने परिणाम भयावह हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























