भारतीय स्वतन्त्रता दिवसको कार्यक्रममा राष्ट्रगानअघि 'वन्दे मातरम्' किन गाइयो?

तस्बिर स्रोत, Reuters
भारतको ८० औँ स्वतन्त्रता दिवसमा नयाँ दिल्लीस्थित ऐतिहासिक लालकिल्लामा आयोजित स्वतन्त्रता दिवसको औपचारिक समारोहमा यो पटक ८० वर्षको इतिहासमै पहिलो पटक एउटा फरक दृश्य देखियो।
नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टेगोरद्वरा रचित राष्ट्रगान 'जन गण मन' अगाडी राष्ट्रिय गीत 'वन्दे मातरम्' गाइएको थियो।
लाल किल्लाबाट देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रताअघि पहिलो पटक लाल किल्लामा 'वन्दे मातरम्' बजाइएको बताए।
उक्त कदमलाई लिएर भारतमा पक्ष विपक्षमा प्रतिक्रिया आइरहेका छन्।
स्वतन्त्रता दिवसमा नयाँ परिवर्तन

तस्बिर स्रोत, Reuters
'वन्दे मातरम्' को पूर्ण संस्करणलाई हालै राष्ट्रगानसरह नै कानुनी संरक्षण प्रदान गरिएको छ। ८० औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रवार राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन्। उनको सम्बोधन सुरु हुनुअघि र समापनमा पनि 'वन्दे मातरम्' बजाइएको थियो।
संवैधानिक मान्यता पाएको राष्ट्रगान आधिकारिक मर्यादामा गणतन्त्रको सर्वोच्च साङ्गीतिक प्रतीक मानिने भएकाले पनि बन्दे मातरम् गाइएको कुरालाई महत्त्वका साथ हेरिएको छ।
भारतीय जनता पार्टी 'भाजपा' र राष्ट्रिय स्वयंसेवक सङ्घ 'आरएसएस'सँग सम्बद्ध सङ्घ-सङ्गठनहरूले लामो समयदेखि 'वन्दे मातरम्' को वकालत गर्दै आएका छन्। यसमा हिन्दू धार्मिक सन्दर्भहरू पनि समावेश छन्।
हालै नरेन्द्र मोदी सरकारले 'वन्दे मातरम्' लाई 'जन गण मन' सरहको मान्यता दिन हालै कानुनमा संशोधन गरेको थियो। यसअघि राष्ट्रगान सरकारी तथा राजकीय समारोहहरूमा बजाइन्थ्यो भने राष्ट्रिय गीत खास गरी सांस्कृतिक कार्यक्रमहरूमा मात्र बजाउने अभ्यास थियो।
स्वतन्त्रता दिवसको आयोजक रक्षा मन्त्रालयले हालै 'वन्दे मातरम्' को १५० औँ वर्षलाई स्मरणीय बनाउन पहिलो पटक यसलाई विशेष सम्मान दिइने घोषणा गरेको थियो।
नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी लाल किल्ला पुगेपछि सबैभन्दा पहिले राष्ट्रिय गीत बजाइएको थियो। त्यसपछि राष्ट्रिय झन्डा झन्डोत्तोलन गरियो अनि राष्ट्रगान बजाइयो।
कानुनमै हेरफेर

तस्बिर स्रोत, EPA/Shutterstock
आलोचकहरूले बन्दे मातरम्लाई आरएसएसको बृहत् हिन्दुत्वको मुद्दाको हिस्साका रूपमा हेर्ने गरेका छन्। यसलाई भारतको विविधता र बहुलताको उत्सव मनाउने राष्ट्रगान सरह प्राथमिकता दिने प्रयास भइरहेको उनीहरूको आरोप छ।
'वन्दे मातरम्'का छ वटा पद छन् र ती पदहरूमा दुर्गा, सरस्वती र लक्ष्मीसहितका हिन्दू देवी-देवताहरूको सन्दर्भ समावेश छ। जसमा भारतलाई एक पूजनीय मातृदेवीका रूपमा प्रस्तुत गरिएको छ।
यसै साताको सुरुमा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएको संशोधित कानुन अनुसार राष्ट्रिय गीतको अपमान गरेमा पनि राष्ट्रगानको अपमान सरह नै तीन वर्षसम्मको कैद सजाय हुन सक्छ।
यस विषयमा कांग्रेसका वरिष्ठ नेता तथा लोकसभा सांसद शशि थरूरले आपत्ति जनाएका थिए। उनले हरेक समारोहको आरम्भ र अन्त्यमा मानिसहरूले करिब छ मिनेटसम्म स्थिर उभिएर सम्मानपूर्वक दुवै गीत सुन्न सक्नेमा आशङ्का व्यक्त गरेका थिए।
मुस्लिम नेताहरूको विरोध

तस्बिर स्रोत, EPA/Shutterstock
मुस्लिम सङ्गठनहरूले पनि यो प्रावधानको विरोध गरेका छन्। उनीहरूका अनुसार इस्लामको मौलिक मान्यता अनुसार अल्लाहबाहेक अरू कसैको पनि पूजा गर्न मिल्दैन।
हैदराबादका लोकसभा सांसद असदुद्दीन ओवैसीले विरोधमा भनेका थिए, "तपाईँले गाउने 'जन गण मन' मा यो देश र यहाँका मानिसहरू देखिन्छन्। 'वन्दे मातरम्' मा देवी-देवताको पूजा समावेश छ।"
मोदी सरकारले जब संसद्मा मात्र १५ मिनेटको छलफलपछि यो विधेयक पारित गराएको थियो। त्यसबेला पनि विपक्षी सांसदहरूले यसको विरोध गरेका थिए।
द्रविड मुनेत्र कझगम (डीएमके) की सांसद के. कनिमोईले भाजपामाथि राष्ट्रवादको आवरणमा हिन्दुत्वको मुद्दा ल्याएको आरोप लगाएकी थिइन्। उनले यो कानुन "सङ्घीयता विरुद्ध" रहेको र राष्ट्रवादलाई कानुनका माध्यमबाट थोपर्न नहुने बताएकी थिइन्।
सन् १९३७ मा जवाहरलाल नेहरूको नेतृत्वमा रहेको कांग्रेसले 'वन्दे मातरम्'लाई राष्ट्रिय गीत बनाउने विषयमा रवीन्द्रनाथ टेगोरसँग परामर्श गरेको थियो। टेगोरले नै मुसलमान र ब्रह्म समाजका अनुयायीहरूले यसका पछिल्ला पदहरूमा आपत्ति जनाउन सक्ने बताएका थिए।
उनले नेहरूलाई राष्ट्रिय गीतका रूपमा केवल पहिलो दुई पद मात्र राख्न सल्लाह दिएका थिए। यसको पहिलो दुई पदमा मातृभूमिको सुन्दरताको वर्णन र पछिल्ला दुईमा हिन्दू देवी दुर्गाको आराधना छ।
पत्रकार तथा लेखक नीलाञ्जन मुखोपाध्यायले अगस्ट १४ मा प्रकाशित आफ्नो एक लेखमा यो विषय उल्लेख गरेका छन्।
बङ्किम चन्द्र चट्टोपाध्यायले 'वन्दे मातरम्' १८७५ मा लेखेका थिए। त्यसपछि यसका अन्य पदहरूलाई उनको १८८२ को उपन्यास 'आनन्दमठ'मा समावेश गरियो।
भाजपाको सरकार नभएका राज्यहरू तमिलनाडू र केरलाले केन्द्र सरकारको यो आदेश पालना नगर्ने स्पष्ट गरेका छन्। तमिलनाडूका मुख्यमन्त्री सी. जोसेफ विजयले बुधवार तमिलनाडूका सबै सरकारी कार्यक्रम र आधिकारिक समारोहहरूमा राज्यको आधिकारिक गीत 'तमिल थाई वाज्थू' सबैभन्दा पहिले गाइने घोषणा गरेका थिए।
त्यसै गरी, केरलाको कांग्रेस सरकारले पनि 'वन्दे मातरम्'का छ वटै पद नगाइने स्पष्ट पारेको छ। विगतको परम्परा अनुसार नै राज्यमा मलाइने स्वतन्त्रता दिवस सहितका सबै कार्यक्रममा पहिलो दुई पद मात्र गाइने केरला सरकारको भनाई छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















