'रात कसैको निजी सम्पत्ति हैन': भारतमा चिकित्सकको बलात्कार र हत्या भएपछि चर्को आक्रोश

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'रात कसैको निजी सम्पत्ति हैन': भारतमा चिकित्सकको बलात्कार र हत्या भएपछि चर्को आक्रोश
Published

एक महिला चिकित्सकको बलात्कार र हत्या भएपछि भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा र देशका विभिन्न स्थानमा हजारौँ महिलाहरूले विरोधप्रदर्शन गरेका छन्।

कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि गत साता शुक्रवार आक्रमण भएको थियो।

झन्डै ३६ घण्टा निरन्तर काम गरेपछि थाकेकी ती चिकित्सक एउटा सभाकक्षमा निदाएकी थिइन्। त्यसको भोलिपल्ट उनका सहकर्मीहरूले त्यहाँ उनको अर्धनग्न शरीर फेला पारे। उनको शरीरमा निकै चोटपटक लागेको थियो।

प्रहरीले उक्त घटनामा सन्दिग्ध मानेर अस्पतालमा स्वयंसेवा गर्न आएका एक सन्दिग्ध व्यक्ति पक्राउ गरिएको र अनुसन्धान चलिरहेको जनाएको छ।

उक्त घटना सार्वजनिक भएपछि भारतभरि आक्रोश उत्पन्न भएको छ। महिलामाथि हुने यौनिक हिंसाको विरोध गर्न सामाजिक सञ्जालमा आह्वान गरिएपछि बुधवार राति कोलकातामा हजारौँ महिलाहरूले 'रिक्लेम द नाइट' जुलुस निकाले। दिल्ली, हैदराबाद, मुम्बई र पूणेमा पनि मानिसहरूले विरोधप्रदर्शन गरे।

कोलकातामा बीबीसीले उक्त कार्यक्रम आयोजना गर्नेमध्येकी एक रिमझिम सिन्हासँग कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।